काठमाण्डौमा आजदेखि खाद्यान्न पसल बन्द, खाद्यान्न चाहिएमा सम्पर्क गर्न प्रशासनको आग्रह

 जेठ १४, २०७८ शुक्रबार ६:५१:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यकाका तीन जिल्लामा आजदेखि निषेधाज्ञा थप कडा बनाइएको छ । यसअघि बिहान फलफूल र तरकारी पसलसँगै खाद्यान्न पसल पनि सञ्चालन हुँदै आएकामा आजदेखि एक हप्ता खाद्यान्न र किराना पसल खोल्न नपाइने भएको छ । तरकारी, फलफूल, मासु, डेरी, खानेपानी र ग्यास पसल भने बिहान ९ बजेसम्म खोल्न पाइने छ । 

यसअघि जारी गरिएका गाडीका पास खारेज गरिएको छ भने विकास निर्माणसँग सम्बन्धित गाडी सञ्चालनमा पनि रोक लगाइएको छ । यस्तै, बिहान बेलुकाको घुमघाम (मर्निङ र इभिनिङ वाक) मा समेत रोक लगाइएको छ ।

झण्डै एक महिनादेखि सुरु भएको निषेधाज्ञाका कारण कोरोना नियन्त्रणमा केही सफलता प्राप्त भएको र अबको एक हप्ता थप कडाइका साथ निषेधाज्ञा लागू गरिएको तीनवटै जिल्ला प्रशासनले जनाएका छन् । आजदेखि २० गतेसम्म एक हप्ता स्वास्थ्य सुरक्षा मापदण्ड उल्लङ्घन गर्नेविरुद्ध थप कठोर बन्ने र नमान्नेलाई जेल सजायसम्म हुने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । 

कोभिड सङ्कट व्यवस्थापन गर्न बनेको अध्यादेश २०७८ कार्यान्वयन गरी रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन स्वास्थ्यका मापदण्ड उल्लङ्घन गर्नेलाई जेलसम्म हाल्ने चेतावनी दिइएको हो । गम्भीर रुपमै प्रस्तुत हुनुपर्ने देखिएकाले अबको एक हप्ता पसलसमेत सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो । 

यसैबीच प्रमुख जिल्ला अधिकारी पराजुलीले यो अवधिमा कसैलाई खाद्यान्न अभाव भएमा खरिदका लागि विशेष व्यवस्था मिलाइएको पनि बताउनुभएको छ । कतै खाद्यान्न वस्तुको अभाव भएर खरिद गर्नुपर्ने अत्यावश्यक भएमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत पालिकाहरुसँग समन्वय गरेर व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी पराजुलीले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ । 

अबको एक हप्ताभित्र खाद्यान्न अभाव भएमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्द ९९८५१३२०३१४०, विभागीय प्रमुख भीमबहादुर थापा ९९८५११३६७८५० र प्रादेशिक प्रमुख थापाथलीका ज्ञानु थापा ९९८५११२१७८८० लाई फोन गर्न सकिनेछ । 

यस्तै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ ९९८५१०२२५६४०, नायब कार्यकारी अधिकृत कुमार राजभण्डारी ९९८५१०३३३०३, विभागीय प्रमुख सवल रिजाल ९९८५१११३६६००, र प्रज्वल प्रधान ९९८४१३३२९९०० लाई फोन गर्न सकिने काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले विज्ञप्ति निकालेर जानकारी गराएका छन् ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया