साउदीमा ज्यान गुमाएका काशीराजको शव ल्याउन ३ हप्तादेखि भौतारिँदै परिवार

 जेठ १४, २०७८ शुक्रबार १३:१३:४६ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबियामा रहनुभएका काशीराज अधिकारीको बैशाख २३ गते उतै ज्यान गयो । बुद्धभूमि नगरपालिका १ विरपुरका ४९ वर्षीय काशीराज १२ वर्षदेखि साउदीमा काम गर्दै आउनुभएको थियो । 

पछिल्लो पटक चार वर्ष अघि साउदी जानुभएका काशीराज यही दशैंमा घर आउने योजनामा हुनुहुन्थ्यो । तर दशैं आउनै नपाइ उहाँ आफै यो संसारबाट जानुभयो । आफ्नो पति घर फर्किने दिन कुरेर बस्नुभएकी  लक्ष्मीदेवी अधिकारी अहिले पतिको शव पर्खेर बसिरहनुभएको छ । तर ज्यान गएको बीस दिन भइसक्दा पनि शव नेपाल आइपुगेको छैन । 

श्रीमान् बित्नुको पीडा । त्यसैमाथि महिना दिन हुनलाग्दा पनि शव नेपाल नआउँदा लक्ष्मी बेहोस झैं हुनुहुन्छ । अन्तिम पटक भए पनि आफ्नो श्रीमानको अनुहार हेर्न पाउँ भन्दै उहाँ शव नेपाल ल्याइमाग्नको लागि विभिन्न निकाय धाइरहनुभएको छ । वडा देखि नगरपालिका हुँदै उहाँका आफन्तहरु जिल्ला प्रशासन कार्यालय तौलिहवा धाइरहेका छन् । तर आफूसँग आफ्नो पतिको मृत्यु दर्ता प्रमाणपत्र नहुँदा जिल्ला प्रशासन कार्यालबाट पहल अघि बढ्न नसकेको लक्ष्मी बताउनुहुन्छ ।

‘जिल्ला प्रशासन कार्यालय गएर कुरा राखेको हो तर त्यहाँबाट खासै पहल हुन सकेन’, लक्ष्मीले भन्नुभयो, ‘श्रीमान्को मृत्यु प्रमाणपत्र ल्याउ भन्नु हुन्छ, म कसरी ल्याउँ मृत्यु प्रमाण पत्र, साउदीमा मैले चिनेकाे काेही छैन ।”

लक्ष्मीदेवी अधिकारी

काशीराजको मृत्युको खबर उहाँ काम गर्ने साउदीको कम्पनीले नै परिवारलाई दिएको हो । कम्पनीले प्रक्रिया मिलाएर शव घर पठाइदिने भनेर आश्वासन दिएको छ । तर यताबाट प्रक्रिया अगाडि नबढ्दा शव ल्याउन नसकिएको लक्ष्मीको दुःखेसो छ । 

तीन हप्ता बढी समय बितिसक्दा पनि शव घरमा नआउँदा पूरै परिवार शोकमा डुबेको छ । आँखाभरि आँशु पार्दै लक्ष्मीले भन्नुभयो, ‘जे हुनु भइहाल्यो, सरकारले शव चाँडो ल्याइदिए यसरी तड्पिएर बस्नुपर्ने थिएन होला ।’

शव ल्याउनेछौं : बोर्ड

कोरोना महामारीको बेला नेपालले केहीबाहेक आफ्ना सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । चीन, कतार, टर्की र भारत गरि चार देशमा भने नियमित उडान गर्नेबारे आजै निर्णय भएकाे छ । अहिलेसम्म नियमित उडान बन्द भए पनि चार्टड भने भइरहेका थिए ।

महामारीकाे समयमा उडान बन्द हुँदा विभिन्न कारणले विदेशमा ज्यान गुमाएका नेपाली श्रमिकका शव पनि उतै छन् । लामाे समयसम्म शव नेपाल नल्याउँदा उतै थुप्रिदै जाने भएपछि चार्टड उडानमार्फत नै भए पनि विदेशबाट शव नेपाल ल्याउने तयारी भइरहेको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

‘कोरोना बाहेक अन्य कारणले परदेशमा ज्यान गुमाउने नेपालीको शव जतिसक्दो चाँडो स्वदेश फिर्तीका लागि पहल गरिरहेका छौं’, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताउनुभयो ।

केही दिन पहिले पनि साउदीबाट नेपालीको शव स्वदेश ल्याइएको थियो । नेपालमा अलपत्र परेका भारतीय नागरिकलाई साउदी लैजान सरकारले अनुमति दिएपछि नेपाल एयरलाइन्सले चार्डड उडान गरेको थियो । जाँदा भारतीय नागरिक लिएर गएको वाइड बडी जहाजले फर्कदा भने नेपालीको शव लिएर फर्किएको थियो । बोर्डका अनुसार साउदीमा अझै करिब १२ जना नेपालीको शव बाँकी रहेको छ । बाँकी शव पनि ल्याउनका लागि बोर्डले अनुरोध गरेको र दूतावासले सबै प्रक्रिया पूरा गरेर पठाउन सम्भव भएसम्म पठाउने बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।

अहिले निषेधाज्ञाको समयमा विमानस्थलसम्म आफन्तहरू शव लिन आउन नसक्ने भएकाले बोर्ड आफैँले शव बुझेर निःशुल्क रूपमा मृतकको घरसम्म र्पुयाइरहेको छ । बोर्डले वैदेशिक रोजगारीमा ज्यान गुमाएका नेपालीको शव मृतकको घरसम्म र्पुयाउन निःशुल्क ढुवानी सेवा उपलब्ध गराउँदै आएको छ । 

कोरोनाको कारण ज्यान गुमाउने नेपालीको शव भने गन्तव्य देशमै अन्त्येष्टिका लागि बोर्डले परिवारसँग अनुमति लिने र नियोगलाई पठाउने काम गरिरहेको छ । गन्तव्य देशमा शव अन्त्येष्टिका लागि अनुमति दिने परिवारलाई बोर्डले राहत स्वरूप ५० हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया