सगरमाथालाई मूल्यवान बनाऔँ

 जेठ १५, २०७८ शनिबार १३:११:२९ | मीरा आचार्य
unn.prixa.net

डा. हर्क गुरुङको अध्ययनलाई आधार मान्दा नेपालमा झण्डै ११ सय १० वटा हिमालहरु आरोहणयोग्य छन् । यीमध्ये नेपाल सरकारले चार सय १४ वटा हिमाललाई आरोहणका लागि खुला गरेको छ । खुला गरिएका हिमालमध्ये यस वर्षको वसन्तकालीन आरोहण सिजनमा १६ वटा हिमाल आरोहणका लागि अनुमति प्रदान गरिएको छ ।

वसन्त ऋतुमा आरोहण अनुमति लिएका सात सय ४२ जनामध्ये चार सय आठ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । यस हिसाबले सगरमाथा आरोहणमै धेरैको आकर्षण रहेको देखिन्छ । अरु साना हिमाल आरोहण गर्नेमध्ये पनि धेरैजसो सगरमाथा आरोहणको पूर्वतयारीमा रहेका हुन्छन् । अहिले वसन्तकालीन आरोहणको लागि मौसम अनुकूल हुने समय अन्तिम चरणमा पुगेको छ । सगरमाथा र ल्होत्सेबाहेकका हिमालमा यो सिजनको आरोहण सकिसकेको छ । यी दुई हिमालमा आरोहणका लागि अहिले झण्डै दुई सय आरोही अनुकूल मौसमको पर्खाइमा छन् । 

सगरमाथालाई मूल्यवान बनाऔँ

नेपालमा आरोहणयोग्य रहेका १३ सयभन्दा बढी हिमालहरुलाई पर्यटकीय गतिविधिमार्फत आम्दानीको स्रोत बनाउन सकिन्छ । नेपालमा आउने पर्यटकको ठूलो हिस्सा हिमालसँग जोडिएका हुन्छन् भने हिमालमा हुने व्यवसाय महँगो हुने भएकाले यसबाट हामीले राम्रो राजश्वसँगै अरु आम्दानी गरिरहेका छौँ । पर्वतीय पर्यटन किसान, मजदुर, होटललगायत धेरै क्षेत्रसँग जोडिएकाले यसबाट हुने आम्दानी पनि धेरैतिर बाँडिन्छ । नेपालका हिमालबाट हुने आम्दानीलाई दुई ढङ्गबाट व्याख्या गर्नुपर्छ । एउटा चाहिँ केही मुख्य हिमाललाई असाध्यै धेरै संरक्षण गरेर महत्त्व बढाउन जरुरी छ । ती हिमालभित्र सगरमाथा मुख्य रुपमा आउँछ । मैले सधैंभरि उठाउने गरेको विषय सगरमाथालाई संसारको सर्वोच्च शिखर र संसारको सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति हो भने यसलाई सबैभन्दा महँगो बनाउनुपर्छ । पर्यटन विभागको पर्वतारोहण शाखा प्रमुखको हिसाबले मैले यो विषय उठाइरहेको छ ।

यसलाई जति महँगो बनाइन्छ यसको महत्त्व उत्ति बढ्छ । महँगो भनेको पैसामा मात्र हैन सबै दृष्टिबाट यसलाई मूल्यवान बनाउनुपर्छ । सरकार, मेरो शाखा, विभाग सबैसँग मैले भनिरहेकी छु । सगरमाथाको गरिमा बढाउन अझै धेरै प्रयास आवश्यक छ । सगरमाथामा हुने क्रियाकलापलाई सजिलै उपलब्ध हुने नभइ यसलाई विशेष व्यवस्थाहरु लागू हुनुपर्छ । सगरमाथा भन्नासाथ देशले यसलाई धेरै प्राथामिकता दिएको छ भन्ने कुरा देखाउनुपर्छ ।  यस्तै दोस्रो कुरा केही हिमालहरुलाई व्यापारिक बनाउन सकिन्छ । मुख्य हिमालबाहेकका हिमालहरुले प्याराग्लाइडिङ, स्कीङ लगायतका थप गतिविधिहरु गर्नको लागि खुला गर्न सकिन्छ । हिमालसँग जोडिएका धेरै पर्यटकहरु ल्याउन सकिने भएकोले मुख्यबाहेकका हिमालहरुमा सम्भावनाको खोजी गरेर व्यापारिक बनाउन सकिन्छ । 

महामारीमा आरोहण

यस वर्ष नेपाल सरकारले विश्वव्यापी महामारीकै बीचमा पनि सगरमाथा लगायतका हिमाल आरोहणमा अनुमति दिएको छ । कानुनी आधार र सरकारी निर्णयहरुका कारण हामीले आरोहण अनुमति जारी गर्यौँ । हाम्रो बाध्यता पनि थियो । तर अनुमति जारी गरेदेखि नै हामीले अघिल्ला वर्षहरुमा भन्दा थप र फरक किसिमका चुनौतीहरुसँग जुध्नुपर्ने भयो । पर्यटकीय सुरक्षाको हिसाबले यसअघिका वर्षहरुमा मौसमको जोखिम मात्रै धेरै रहने गरेकोमा यो वर्ष कोरोना सङ्क्रमणको जोखिम उच्च रहेकाले नेपाल आएका आरोहीहरुलाई आरोहण सम्पन्न गराएर सकुशल उनीहरुको देशमा फर्काउनुपर्ने हाम्रो कर्तव्य थपिएको छ । 

सङ्क्रमणको जोखिम एकातिर छ भने निषेधाज्ञाका कारण आवतजावतमा पनि उत्तिकै समस्या सृजना भएको छ । आरोहण सम्पन्न गरेका वा बीचैमा छाडेर फर्कन लागेका आरोहीहरुलाई सकुशल काठमाण्डौ ल्याएर उनीहरुको देशमा फर्काउन महामारीका कारण समस्याहरु आए । तैपनि सबैसँगको समन्वयमा काठमाण्डौ फर्काउने काम भइरहेको छ यस्तै उनीहरुको देशमा फर्काउनका लागि पनि पहल भैरहेको छ । केही आरोहीहरु चार्टर्ड बिमानबाट फर्किरहेका छन् । बाँकी रहेकाहरुलाई पनि एक दुई दिन ढिला भए पनि समस्या आउन नदिइ पठाउनका लागि व्यवसायी, विभाग र मन्त्रालयले सहजीकरण गरिरहेका छौँ । 

यो कुरामा पर्यटकहरुले धेरै समस्या भोग्न नपर्ला । सगरमाथामा कोरोना फैलिएको खबर विश्वव्यापी बन्यो । आधार शिविरमा पुगेर अनुकूलनताका लागि काठमाण्डौ वा केही तलतिर झरेकाहरु केहीलाई सङ्क्रमण देखिएको होला। आधिकारिक जानकारी आएको छैन । तर आधार शिविरमै कोरोना फैलिएर अवस्था जटिल बनेको भने हैन । चिसोका कारण आधार शिविरमा बर्सेनि देखिने समस्या र कोरोनाका लक्षणहरु मिल्दोजुल्दो हुने भएकोले शंका भएको हुन सक्छ । तर कोरोनाका कारण आधार शिविरबाट उद्धारै गर्नुपर्ने खालको समस्या देखिएको हैन । आधार शिविरमा कोरोना जाँच गर्ने प्रयोगशाला छैन र त्यहाँ स्थापना गर्न सजिलो पनि छैन । अहिलेसम्मको अवस्था अनुसार कोरोनाका कारण जटिलता आएको छैन । 

चक्रवातको अर्को झट्का 

महामारी त छँदै थियो । यही बीचमा आरोहण गर्न सकिन्छ भनेरै अनुमति दिइएको हो । योसँगै यस वर्ष दुईवटा चक्रवातको प्रभाव पनि झेल्नुपर्यो । सगरमाथामा आरोहण सुरु भइसकेपछि ताउ–ते र यास चक्रवातको प्रभाव झेल्नुपर्यो । यसको कारण सम्भावित आरोहणहरु पर सार्नु पर्यो । 

हिमाल त्यसै पनि जोखिमपूर्ण ठाउँ त्यसमा मौसममा हुने सामान्य प्रभावले पनि समस्या ल्याउन सक्ने भएकाले धेरै होसियारी अपनाउनुपर्छ । उद्धारको लागि समयमै काम गर्नुपर्छ । यसका लागि व्यवसायी तथा विभागबाट पहल भइरहेको छ । अहिले पनि सगरमाथामा मौसम अनुकूल छैन । झण्डै दुई सय आरोहीहरु अनुकूल समयको पर्खाइमा छन् । हामी मौसम अनुकूल हुने कामना गरिरहेका छौं । सधैंभरि आरोहण अवधिभर मौसम सफा होस भनेर हामी एक हिसाबले प्रार्थना नै गरिरहन्छौँ । अहिले पनि त्यही प्रार्थना गरिरहेका छौँ । 

हिमालमा हुने अवाञ्छित गतिविधि

हिमालमा अनुमति विना ड्रोन उडाउने, अनुमति नलिइकन अरु क्रियाकलाप गर्ने जस्ता चर्चाहरु पनि हुने गरेका छन् । कतिपय कुराहरु अनुमति लिएरै गरेको भए पनि त्यो नबुझिकन कुनै नयाँ किसिमका वा सरकारले अनुमति लिनुपर्ने भनेका क्रियाकलाप भएमा अनुमति विना भयो भन्दै खबरहरु आउने गरेका छन् । हिमाल हाम्रो गौरव भएकाले यससँग विवादित कुराहरु बाहिर ल्याउँदा त्यसको सत्यता जाँचमा अलि बढी गम्भीर हुनुपर्छ भन्ने हामीलाई लाग्छ । गैह्रकानुनी गतिविधिहरुको छानबिन हुनुपर्छ । तर त्यसलाई जो व्यक्तिले गल्ती गरेको हो त्यसलाई कानुनी कारबाही गर्नुपर्छ । यसको प्रयास भइरहेको छ । समग्र क्षेत्रलाई दोषी देखाउन हुँदैन । 

यस्तै नक्कली आरोहणको कुरा पनि छ । यसमा सम्पर्क अधिकृत, गाइड, सम्बन्धित एजेन्सी सबैबाट प्रमाणित गरेर मात्र आरोहण प्रमाणपत्र गरेको छ । हिमाल आरोहण गर्ने जस्तो कुरामा कसैले पनि ढाँट्दैन भन्ने विश्वास हो । तर कसैकसैले ढाँटिरहेका पनि छन् । त्यस्तालाई कारबाही पनि भइरहेको छ । जीपीएस ट्रयाकिङ गर्ने विषयमा पनि छलफल भइरहेको छ । तर जीपीएस डिभाइस पनि एकले अर्काको लैजाला भन्ने जोखिम छँदैछ । यस्तै आरोहणमा अहिले भइरहेको झुक्याउने घटना र प्रविधिमा गरिने खर्चको हिसाब पनि हुन्छ । प्रविधिको विश्वसनीयतासँगै सम्बन्धित व्यक्तिको कानुनी कुरा पनि होला । सबै कुरालाई विश्लेषण गरेर यस विषयमा निर्णय हुने छ । जसरी हुन्छ आरोहणलाई व्यवस्थित बनाउने प्रयास हुने छ । 

हिमाल हाम्रो शान हो । गौरव हो । यसलाई शानकै रुपमा जोगाइराख्न हामी सबैले पहल गर्नुपर्छ । सर्वोच्च सम्पत्तिहरुलाई सस्तो हैन, मूल्यवान बनाउनुपर्छ । सम्भावना भएका हिमाललाई व्यापारिक समेत बनाएर थप पर्यटक ल्याउन सकिन्छ । तर सगरमाथा मूल्यवान हुनैपर्छ ।

(पर्यटन विभागको पर्वतारोहण शाखाकी निर्देशक आचार्यसँग उज्यालोको पानी र पर्वत विशेष बदलिँदो नेपालका लागि गरिएको कुराकानीमा आधारित । ) 

अन्तिम अपडेट: बैशाख ५, २०८१

मीरा आचार्य

मीरा आचार्य पर्यटन विभागको पर्वतारोहण शाखाकी निर्देशक  हुनुहुन्छ । 

1 Comments

  • प्रतीक

    May 31, 2021, 11:03 a.m.

    आफ्नो कामबारे यत्तिको कुरो बुझेको निर्देशक पाउनु भनेको मुलुकले गर्व गर्ने विषय हो । यो सुन्दर दृष्टिकोणका लागि बधाइ छ म्याडम !

  •  0 Reply

तपाईको प्रतिक्रिया