खाद्यमा फोन : मेरी श्रीमती सुत्केरी छिन्, एक लिटर तेल चाहियो !

 जेठ १६, २०७८ आइतबार १३:१४:७ | राधा ढुङ्गाना
unn.prixa.net

मेरी श्रीमती सुत्केरी छिन्, मलाई एक लिटर तेल चाहियो ! भन्दै फोन आउँदा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कर्मचारी अचम्ममा परे । 

कुरा अस्ति जेठ १४ गते बेलुकीपखको हो । कम्पनीका विभागीय प्रमुख भीमबहादुर थापाले निषेधाज्ञाको समयमा समस्यामा परेका कोही व्यक्तिले गरेको फोन होला भन्ने ठानेर हत्तपत्त उठाउनुभयो । तर कुरा सुन्दा फोन गर्ने मान्छे समस्यामा परेको जस्तो उहाँलाई लागेन । उहाँले फोन गर्ने व्यक्तिलाई सोध्नुभयो, ‘सुत्केरीलाई एक लिटर तेल मात्रै चाहिएको हो कि अरु खाद्यान्नका सामान पनि चाहिएको ?’ 

थापाको यस्तो कुरामा फोन गर्ने व्यक्तिले फेरि दोहोर्याउँदै भने, ‘होइन सर मलाई एक लिटर तेल मात्रै चाहिएको छ, मेरो श्रीमती सुत्केरी छिन् ।’ ती व्यक्तिको कुरा सुनेर थापाले भन्नुभयो, ‘माफ गर्नुहोला, हामी एक लिटरको लागि मात्रै सेवा दिन असमर्थ छौँ, तपाईँलाई साँच्चिकै समस्या परेको भए भन्नुहोस् के-के सामान आवश्यक परेको छ, हामी सेवा गर्न तयार छौँ ।’ तर ती व्यक्तिले अरु सामानको कुरा नगरेपछि आफूहरुलाई उनको कुरा विश्वास नलागेको र सामान नपठाएको उहाँले बताउनुभयो ।

यस्तै फोन पेप्सीकोलाबाट पनि आएको थापाले उज्यालोलाई जानकारी दिनुभयो । ‘एक जना व्यक्तिले मलाई जरुरी परेको छ, दुई किलो चामल चाहियो भन्दै फोन गर्नुभयो । यस्तो किसिमको फोन आउँछ भनेर सोचेको पनि थिइनँ, साँच्चिकै समस्यामा परेका व्यक्तिलाई हामीले सहयोग गर्ने हो । कोरोनाको यस्तो महामारीमा एक लिटर तेल, दुई किलो चामल चाहियो भन्दै फोन गर्नु सरकारको सहयोगलाई अपमान गर्नु जस्तै हो’ थापाले भन्नुभयो । काठमाण्डौ उपत्यकामा साँच्चिकै समस्यामा परेकाहरुलाई घरघरमै खाद्यान्न पुर्याउने गरेको उहाँले दाबी गर्नुभयो । 

प्रशासनले काठमाण्डौमा निषेधाज्ञा कडाइसँगै घरमै खाद्यान्न पुर्याउने सूचना सार्वजनिक गरेपछि थरीथरीका फोन आउने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख भीमबहादुर थापाले बताउनुभयो । खाद्यान्न खरिद गर्न समस्या भएकालाई प्रशासनले कम्पनीमार्फत खरिदको व्यवस्था गरेको हो । तर, कतिपय मानिसलाई सरकारले सहयोग गरेको हो भन्ने भ्रम पनि रहेको थापा बताउनुहुन्छ । निःशुल्क खाद्यान्न सहयोगका लागि २० भन्दा धेरै व्यक्तिले फोन गरेको उहाँले बताउनुभयो । यस्तो भ्रममा नपरि समस्यामा परेका व्यक्तिले खाद्यान्न खरिदको लागि सम्पर्क गर्न उहाँले आग्रह गर्नुभयो । 

जिल्ला प्रशासन कार्यालयले अस्ति १४ गतेदेखि आउँदो २० गतेसम्मका लागि कसैलाई खाद्य वस्तुको अभाव भइ अत्यावस्यक खरिद गर्नुपरेमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका तर्फबाट मोबाइल गाडीमार्फत खाद्यान्न खरिदको व्यवस्था मिलाएको हो । कम्पनीले अहिलेसम्म २० जनाभन्दा धेरै व्यक्तिलाई घरमै खाद्यान्न पुर्याएको जनाएको छ ।

अहिलेसम्म कम्पनीबाट अनलाइनबाट पाँच सय ३६ किलो चामल, आठ किलो दाल, १० किलो आटा, चार किलो चिउरा र फोनमार्फत ९२ किलो चामल, ६ किलो दाल, दुई किलो नुन वितरण गरिएको प्रमुख थापाले जानकारी दिनुभयो । कसैलाई खाद्यान्नको समस्या परेमा अनलाइन पोर्टल नेपाल फुड जीओभी डट एनपीबाट पनि खाद्य खरिदको सेवा लिन कम्पनीले आग्रह गरेको छ ।   

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधा ढुङ्गाना

ढुङ्गाना उज्यालाेमा कार्यरत हुनुहुन्छ । 

1 Comments

  • Paban Lal shrestha

    May 30, 2021, 2:31 p.m.

    लकडाउनको बेला गत साल पनि भ्यान नै लिएर आई साँखुको टोल टोलमा खाद्य सामग्री सस्तोमा बेच्न आएको थियो । यो पटक पनि बरु ठूलै गाडी लिएर आउने र आउनु अगाडि सार्वजनिक सूचना दिएर टोल टोलमा सस्तोमा खाद्य सामग्री बेच्न ल्याए केही राहत हुन्थ्यो कि?

  •  0 Reply

तपाईको प्रतिक्रिया