जेठ १८ देखि कतारमा नियमित उडान : थाहा पाउनुहोस् यी कुरा

 जेठ १६, २०७८ आइतबार १६:४२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदो जेठ १८ अर्थात् पर्सिदेखि कतारको लागि नियमित उडान खुल्ने भएका छन् । नेपाल सरकारको जेठ १३ गतेको निर्णय अनुसार कतारसहित चीन र टर्कीको लागि नियमित उडान सञ्चालन गरिने भएका हुन् । हप्तामा एक दिन मात्र नियमित उडान हुनेछन् ।

नेपाली श्रमिकको लागि कतार वैदेशिक रोजगारीको प्रमुख गन्तव्य देश हो । योसँगै वैदेशिक रोजगारीको लागि कतार जान रोकिएका नेपाली श्रमिक सहजै कतार जान पाउने भएका छन् । यस्तै कतारबाट फर्किन नपाएका नेपालीहरु पनि केही स्वास्थ्य मापदण्डका साथ सहजै स्वदेश फर्किन सक्ने छन् । यसरी अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुका लागि विभिन्न सर्त तोकिएका छन् । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालका अनुसार, दुवै खोप लगाएको र कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट लिएर आएकाहरूलाई १० दिन होम क्वरेण्टीनमा बस्ने सर्तमा आफ्नो घर जान दिइने छ । कसैले एउटा मात्र खोप लगाएको छ र पीसीआर परीक्षण नेगेटिभ छ भने विमानस्थलबाट काठमाडौंका कुनै होटलमा तीन दिन क्वरेण्टीन बस्नुपर्नेछ । तीन दिन पछि परीक्षण गर्दा कोरोना नेगेटिभ आएमा यात्रु सम्बन्धित गन्तव्यमा जान पाउनेछन् । होटल क्वरेण्टीन खर्च भने आफैंले  बेहोर्नुपर्नेछ ।

एउटा पनि खोप नलगाएको तर पीसीआर रिपोर्ट नेगेटिभ लिएर आएका यात्रुले भने १० दिनसम्म होटेल क्वरेण्टीनमा आफ्नै खर्चमा बस्नुपर्नेछ । त्यसपछि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएमा घर जान पाइनेछ । 

यस्तै नेपालबाट कतार जानेकाे लागि पनि अनिवार्य क्वरेण्टीनकाे प्रावधान छ । कतार सरकारले नेपाल, भारत, बंगलादेश, पाकिस्तान श्रीलङ्का र फिलिपिन्सबाट कतार प्रवेश गर्नेहरुलाई अप्रिल २९ देखि अनिवार्य क्वरेण्टीनको नियम लागु गरेको छ । यी देशबाट कतार प्रवेश गर्नेलाई १० दिन होटल क्वरेण्टीन वा १४ दिन मेकाइनिस क्वरेण्टीन बस्नुपर्ने छ । यस्तै यी देशबाट कतार प्रवेश गर्दा तोकिएको स्वास्थ्य केन्द्रबाट पीसीआर परीक्षण गरिएको ४८ घण्टा अघिको रिपोर्ट साथमा राख्नुपर्ने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । यो प्रावधान कतारमा कोरोना विरुद्धको खोप लगाइसकेका व्यक्तिको हकमा समेत लागु हुने छ ।

के छ कतारको अवस्था ?

कतार जाने भएपछि कतारको अवस्था बुझेर गए सजिलो हुन्छ । पछिल्लाे समय कतारमा काेराेनाकाे जाेखिम केही घटेकाे छ । याेसँगै अहिले कतारमा कोरोनाका कारण केही समय पहिलेदेखि गरिएका केही प्रतिबन्धहरु खुकुलो पारिएको छ । 

घरबाहिर (आउट डोर) दश जना जति भेला हुन दिइएको छ । बाहिर निस्किँदा सबैले मास्क अनिवार्य लगाउनुपर्ने नियम छ । यस्तै कुनै कार्यक्रममा भेला हुन तथा जमघटमा जान कोरोनाविरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्ने छ । घरभित्र पनि ५ जना भन्दा बढी भेला नहुन भनिएकाे छ । त्यो पनि सबैले कोरोनाको खोप लगाएको हुनुपर्छ । 

बाहिर हिँड्दा अनिवार्य रुपमा मास्क लगाउन भनिएको छ । आफ्नो निजी साधनमा भए पनि मास्क अनिवार्य गरिएको छ । यस्तै सिनेमा तथा थिएटरहरु आफ्नो कुल क्षमताको ३० प्रतिशत जति मानिस राखेर सञ्चालन हुन थालेका छन् । स्वास्थ्य मापदण्ड ताेकेर पार्कहरु खुल्ला गरिएका छन् । तर यहाँ जानको लागि कोरोना विरुद्धको खोप लगाएको प्रमाण अनिवार्य रुपमा हुनुपर्ने छ । यस्तै संग्राहलय तथा सार्वजनिक पुस्तकालयहरु पनि खुलाइएका छन् । 

यस्तै मेट्रो सहित सार्वजनिक यातायातका साधनहरु पनि क्षमताको ३० प्रतिशत जति मात्रै यात्रु राखेर सञ्चालन भइरहेका छन् । तर यातायातभित्र धुम्रपान गर्ने क्षेत्र भने बन्द छन् भने खानाखान  प्रतिबन्ध छ । शैक्षिक क्षेत्र तथा निजी तालिम केन्द्रलाई पनि आफ्नो क्षमताको ३० प्रतिशत जति मात्रै मानिस राखेर सञ्चालन गर्न दिइएको छ । जीम, ब्युटिपार्लर, सैलुन लगायतका व्यवसाय सुरक्षा मापदण्ड पूर्ण पालना गरेर सञ्चालन गर्न दिइएको छ । सेवाग्राही र कामदार सबैले अनिवार्य कोरोना विरुद्धको खोप लगाएको हुनुपर्छ ।

कतारको लागि उडान खुला गरे पनि खाडीका अरु देशमा उडान अझै खुलेका छैनन् । खाडीका देश बहराइन, कुवेत, यूएई र मलेसियाले त नेपालबाट हुने उडानमा समेत प्रतिबन्ध लगाएका छन् । यस्तोमा नेपालबाट गएका यात्रुलाई कुनै पनि देशमा ट्रान्जिट भएर ती देश प्रवेशमा पनि निषेध छ । यसकारण नेपाली यात्रुले मध्यपूर्वका देशमा प्रवेश गर्नको लागि कतार ट्रान्जिट बनाएर जान पाउने छैनन् । तर नियमित उडान बन्द भएका बेलामा पनि विभिन्न एअरलाइन्सले चार्डड उडान भने गरिरहेका छन् । 

बैशाख २३ गते मध्यरातदेखि भारत बाहेक अन्य देशमा हुने अन्तर्राष्ट्रिय उडानमा सरकारले रोक लगाएको थियो ।

 


अन्तिम अपडेट: बैशाख १०, २०८१

3 Comments

  • Suraj Kumar

    June 3, 2021, 1:57 a.m.

    अनि साउदी अरब चाहिँ खुलाउन नपर्ने हो र? फेरि साउदिले नेपाल लाई हवाइ प्रतिबन्ध पनि लगाएको छैन अनि म जस्ता कैयौं छुट्टी मा आएका साथीहरू काममा फर्किन साथै साउदीमा अलपत्र नेपाली स्वदेश फर्किन कहिले ब्यवस्था हुने हो सरकार ???

  •  0 Reply
  • Swarna Tamang

    May 30, 2021, 9:28 p.m.

    काठमाडौँ-दोहा, कतार को उडान पनि जून १, २०२१ बाट हुन्छ कृपया खबर पाउ ?

  •  0 Reply
  • तेज।बाहादुर।राउत

    May 30, 2021, 7:28 p.m.

    घरजानकोलागि।आमा।बितनुभाकोले।

  •  0 Reply

तपाईको प्रतिक्रिया