यस वर्षकाे मनसुन खतरायुक्त हुन सक्छ, तयारी सुरु गराैँ : डा. पाेखरेल

 जेठ १७, २०७८ सोमबार १७:४९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुन खतरायुक्त हुन सक्ने बताएको छ । सोमवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर अनिल पोखरेलले अघिल्लो वर्षको भन्दा धेरै वर्षा हुने र बाढी, पहिरो तथा रोग–व्याधिले धेरैलाई असर गर्न सक्ने बताउनुभएको हो । 

उहाँले दक्षिण एसियाको मौसमसम्बन्धी आउटलुकमा गरिएको पूर्वानुमानअनुसार यस वर्ष सरदरभन्दा बढी पानी पर्ने देखाएको बताउनुभयो । अघिल्लो वर्ष कम पानी परेको अवस्थामा पनि बाढी र पहिरोको धेरै घटना घटेको हुँदा यस वर्ष विपद्काे घटना बढ्न सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पोहोरभन्दा यसपालि झन् गाह्रो अवस्था आइपुगेको छ । पोहोर सरदर वर्षा हुँदा अकल्पनीय क्षति बेहाेर्नुपर्‍याे । माैसम आउटलुकमा यस वर्ष सरदरभन्दा बढी पानी पर्ने देखाएकाे छ, यही कारण याे वर्ष झन् गाह्राे छ । बाढी, पहिरोको घटना र अन्य रोग–व्याधिका घटना नि बढ्ने देखेका छौँ ।’

डा. पोखरेलले बाढी, पहिरो, रोग–व्याधि, सर्पदंश लगायतले एक सय २० दिनसम्म पिरोल्ने भएकाले विपदबाट बच्न पूर्वतयारी आवश्यक रहेको बताउनुभयो । जोखिमका बस्ती छन् भने अहिलेदेखि नै सुरक्षित हुने उपाय अवलम्बन गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘हरेक व्यक्ति, समुदायको आ–आफ्नो ठाउँमा पूर्वतयारी गर्नु आवश्यक छ । जोखिमका बस्ती छन् भने सुरक्षित हुन अविलम्ब उपाय सुरु गर्नुपर्छ । सर–सामग्रीको जोहो गर्ने बेला यही हो । तयारी सुरु गरौँ ।’

उहाँले विपदबाट बच्न र जानकारी प्राप्त गर्नका लागि सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आफूहरूले प्रेसित गर्ने सन्देश निरन्तर हेर्न, पढ्न र सुन्न पनि आग्रह गर्नुभयो ।  

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया