यूएईले विशेष विमानमार्फत १ सय ५० भेन्टिलेटरसहित स्वास्थ्य सामाग्री नेपाल पठाउने

 जेठ १७, २०७८ सोमबार २१:३९:३१ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई – संयुक्त अरब इमिरेट्स (यूएई) ले कोरोना भाइरस विरुद्ध लड्न नेपाललाई  स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । यूएईले १ सय ५० भेन्टिलेटरसहित झण्डै १० टन स्वास्थ्य सामाग्री विशेष विमानमार्फत नेपाल पठाउन लागेको हो ।

यूएईको आबुधाबीमा रहेको नेपाली दूतावासका अनुसार यूएई सरकारले यी स्वास्थ्य सामग्री आउँदो बुधबार बिहान यूएईको आफ्नै विशेष विमानमार्फत नेपाल पठाउन लागेको हो । यूएईले गर्न लागेको यो सहयोग खाडीको देशबाट सरकारी तवरमा गर्न लागेको पहिलो सहयोग हो ।  

नेपाल सरकारको परराष्ट्र मन्त्रालय तथा यूएईमा रहेको नेपाली दूतावासमार्फत कुटनीतिक रुपमा गरिएको सहयोगको अनुरोधलाई यूएईले सकारात्मक रूपमा लिँदै सहयोग गर्न लागेको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।

यसैबीच परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली र यूएईका परराष्ट्र मामिला तथा अन्तर्राष्ट्रिय सहायता मन्त्रालय तथा यूएईको अन्तर्राष्ट्रिय वित्तीय केन्द्र आबुधाबी ग्लोबल मार्केट(एडीजीएम)का अध्यक्ष अहमद बिन अलि स्याघबीच आइतबार भर्चुअल बैठक भएको थियो । बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज पौडेलसहित यूएईका उच्च अधिकारीहरूको सहभागिता थियो । 

बैठकमा कोभिड–१९ महामारीविरुद्ध नेपाल र यूएईबीच सहकार्य गर्नेलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको दूतावासले जनाएको छ ।

बैठकमा परराष्ट्र मन्त्री ज्ञवालीले कोरोना महामारीको समयमा यूएईमा रहेको नेपाली समुदाय तथा नेपाली नागरिकलाई यूएईले गरेको सहयोगको प्रशंसासमेत गर्नुभएको थियो ।

यूएईले गएको वर्ष पनि नेपाललाई कोरोना सङ्क्रमितको उपचारमा संलग्न  स्वास्थ्यकर्मी तथा बिरामीको प्रयोजनको लागि भन्दै स्वास्थ्य सामाग्री सहयोग गरेको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया