‘कोरोना सङ्क्रमण घटे पनि अझै सावधानी आवश्यक’

 जेठ १८, २०७८ मंगलबार ८:५६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

पछिल्लो एक हप्तायता कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै र निको हुनेको सङ्ख्या बढ्दै जान थालेको छ ।

गएको जेठ ११ गतेसम्म आठ हजारको हाराहारीमा सङ्क्रमित देखिने गरेकोमा त्यो सङ्ख्या घटेर अहिले झण्डै चार हजारमा झरेको छ । जेठ पहिलो हप्ता ३९ प्रतिशतमा सङ्क्रमण देखिएकोमा दोस्रो हप्ता घटेर ३७ प्रतिशतमा पुगेको थियो । पछिल्ला तीन दिनको औसत दर ३० प्रतिशत छ । हिजो अझै घटेर २७ दशमलव २२ प्रतिशतमा सङ्क्रमण देखिएको छ । 

कहिले कति सङ्क्रमण ?

जेठ ११ गते २२ हजार नौ सय ३६ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा आठ हजार ६ सय ३६ जना अर्थात ३७.६५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको थियो । त्यसयता हरेक दिन सङ्क्रमितको सङ्ख्या घट्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

जेठ १२ गते १९ हजार तीनसय ५२ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ६ हजार ७ सय १४ जना अर्थात ३९.६९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको थियो भने जेठ १३ गते २० हजार नौ सय ५२ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ६ हजार नौ सय ३९ जना अर्थात ३३.०६ प्रतिशतमा सङ्क्रमण देखिएको थियो । जेठ १४ गते पनि २० हजार एक सय १० जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा ६ हजार ९ सय ५१ जना अर्थात ३४.५६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको थियो भने त्यसयता सङ्क्रमितको सङ्ख्या दैनिक दुई हजारको हाराहारीमा घटेको छ । 

गएको जेठ १५ गते १४ हजार ७ सय ५२ जनाको नमुना परीक्षण गर्दा ४ हजार ४ सय ८७ जना अर्थात ३०.४२ प्रतिशतमा सङक्रमण पुष्टि भएको थियो । १६ गते १२ हजार सात सय ७० जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा चार हजार तीन सय ६९ जना अर्थात ३४.२१ प्रतिशतमा सङ्क्रमण देखिएको थियो । हिजो १७ हजार चार सय ८० जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा चार हजार सात सय ६२ जना अर्थात २७.२४ प्रतिशतमा सङ्क्रमण देखिएको हो । 

एक हप्तायता मृत्युदरमा पनि कमी आएको गएको छ । जेठ १० गते एक सय ८५ जनाको सङ्क्रमणका कारण ज्यान गएको थियो भने त्यसयता क्रमशः हरेक दिन सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या घट्दो छ । जेठ ११ गते एक सय ६९, १२ गते एक सय ४५ जना, १३ गते एक सय ६ जना, १४ गते ९६ जना, १५ गते एक सय १६ जना, १६ गते एक सय ९ जना र हिजो एक सय १४ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । यसअघि जेठ ५ गते अहिलेसम्मकै धेरै दुई सय ४६ जना सङ्क्रमितको ज्यान गएको थियो । त्यसयता सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या घट्दै गएको छ । 

अझै सचेत रहन आग्रह

सङ्क्रमण घटे पनि ढुक्क हुने अवस्था नरहेको भन्दै विज्ञहरुले अझै सचेत रहन आग्रह गरेका छन् । अहिले सहरको तुलनामा गाउँमा सङ्क्रमण बढ्न थालेको छ । गाउँघरमा स्वास्थ्य मापदण्डको पालना कम भएकाले सङ्क्रमण बढेको भन्दै विशेष ध्यान दिन डाक्टरले सुझाव दिएका छन् ।

सशस्त्र प्रहरी अस्पतालमा कोरोना उपचारमा संलग्न डाक्टर रोशन पराजुलीले घरधन्दा र खेतीपातीको काम गर्दासमेत मास्क लगाउन तथा भौतिक दूरीको ख्याल गर्न आग्रह गर्नुभयो । सङ्क्रमण भएमा गाउँमै पनि सुरक्षित तरिकाले आइसोलेशनमा बस्न सकिने भन्दै उहाँले श्वासप्रश्वासमा समस्या भएमा तत्कालै नजिककै स्वास्थ्य संस्थामा जान आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया