मनसुन सुरु नहुँदै बाढी पहिरोको समस्या : अबको तयारी के ?

 जेठ १८, २०७८ मंगलबार १३:४४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

अहिले प्रि-मनसुनको अवधिमै देशका विभिन्न ठाउँहरुमा बाढी, पहिरोका घटना बढ्न थालेका छन् । केही दिनअघि पहिरोका कारण गुल्मीको रुरुक्षेत्र गाउँपालिका-१ पुलक्याम्प र २ को साँघुरेमा माथिबाट खसेको पहिरोले  रिडी-रुद्रवेणी सडक बन्द भयो । 

यस्तै सङ्खुवासभाको मकालु गाउँपालिका-५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन रहेको नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको डाइभर्सनल टनेलमा पानी हाल्न तयार गरेको बाँध बाढीले बगाएको छ । सुनकोशी नदीमा आएको बाढीले नवलपुरमा निर्माण भइरहेको मोटेरेबल पुल  र सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरघाट जोड्ने पुल बाढीले बगाएको हो । 

बुढीगण्डकी, महाकाली, कर्णाली, राप्ती, नारायणी, वाग्मतीलगायत बाढी आयो । मनसुन सुरु नहुँदै घटेका बाढी पहिरोका घटना र यो वर्षको मनसुनमा औसतभन्दा बढी पानी पर्ने मौसमविद्हरुले बताइसकेका छन् । सामान्यतया वर्षभरि पर्ने पानीमध्ये ७५ प्रतिशत पानी मनसुनको अवधिमा अर्थात् जुन महिनादेखि सेप्टेम्बर महिनामा पर्ने गर्छ । यही अवधिमा नेपालमा बाढी र पहिरोजस्ता प्राकृतिक विपद्का कारण बर्सेनि ठूलो जनधनको नोक्सानी हुने गरेको छ । 

नेपालमा प्रतिवर्ष विभिन्न विपद्हरुबाट सरदर औसतमा एक हजार जनाको ज्यान जाने गरेको छ । जसमध्ये वार्षिक ३ सय जनाको ज्यान जान गरेकाे बाढी तथा पहिरोका कारण मात्रै हुने गरेको छ ।  सबै खालका विपद् गरेर नेपालले हरेक वर्ष औसतमा १ अर्ब २१ करोड रुपैयाँ बराबरको नोक्सानी ब्यहोर्नुपरेको छ।

वर्षेनि निम्तिने प्राकृतिक विपत्तिमा सरकारको बेलैमा ध्यान जान नसक्दा र विपद्को पूर्वतयारी र प्रतिकार्य योजना प्रभावकारी नहुँदा जनधनको ठूलो नोक्सानी हुने गरेको विपद् विज्ञहरु बताउँछन् । तर सरकारले भने सधैं आफ्ना सबै निकायहरु तयारीमै रहेका बताउने गरेको छ ।

पूर्वतयारीको कामलाई अगाडि बढाएका छौँ : सरकार 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता लीलाधर अधिकारी विपद् जोखिम न्यूनीकरण गर्न आवश्यक पर्ने पूर्वतयारीका कामलाई अगाडि बढाउन सबैसँग समन्वय गरिरहेको बताउनुहुन्छ । अधिकारीका अनुसार सम्बन्धित सबै क्षेत्रलाई तयारी अवस्थामा रहनका लागि आग्रह गरिएको छ । 

उहाँ भन्नुहुन्छ, ‘जल तथा मौसम विज्ञान विभागले गर्ने मौसमको पूर्व सूचनाका आधारमा सरकारी र गैरसरकारी संयन्त्रलाई परिचालन गरिएको छ । विशेषगरी जिल्ला  प्रशासन कार्यालयहरुलाई परिचालन गरिएको छ। ’

जिल्ला विपद् व्यवस्थापन समितिमार्फत् सबै पालिकामा विपद् पूर्वतयारी र प्रतिकार्यका लागि योजना बनाइएको हुन्छ । त्यो योजना अन्तर्गत तयारी समूहहरु पनि  बनाइएको हुन्छ । ती समूहहरुलाई तयारी अवस्थामा रहनका लागि  निर्देशन पनि प्राधिकरणले दिइसकेको छ ।  

मनसुन पूर्वतयारी र प्रतिकार्यका योजनाहरु धेरैजसो पालिकाहरुले पनि बनाएका छन् । उनीहरुले त्यही योजनामा  रहेर काम गर्छन् । यति मात्र नभएर जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनाका आधारमा  सर्वसाधारणसम्म पुग्ने गरी  सूचना तथा जानकारी विभिन्न माध्यमबाट पुर्याइन्छ । रेडियो, टेलिभिजन, अनलाइन र पत्रपत्रिकाको माध्यमबाट सूचना र जानकारी पुर्याउने काम  तीनै तहको सरकारले गर्दै आएका छन् ।  

अहिले नेपाल कोरोनाको दोस्रो महामारीको सामना गरिरहेको छ । स्वास्थ्यसम्बन्धी मापदण्डलाई समेत ध्यानमा राखेर  सचेत रहन  प्राधिकरणले आग्रह गरेको छ । विपद् व्यवस्थापन तीनै तहको सरकारको साझा जिम्मेवारीको विषय हो । पालिकाको त झनै एकल अधिकार भित्रको विषय पनि हो। 

स्थानीय विपद् व्यवस्थापन समितिको तर्फबाट पनि आफ्नो  संयन्त्र विकास गरिएको अधिकारीले बताउनुभयो । विपद् पूर्वतयारी र प्रतिकार्यका तयारीहरुका साथै विपद् न्यूनीकरणसँग सम्बन्धित तयारीहरु जनस्तरमा पुर्याउने तयारी भइरहेको  उहाँको भनाइ छ ।  यी सबै कुराको संयोजन  गर्ने काम गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गर्दै आएको छ । 

प्राधिकरणले सबैभन्दा पहिला त नीति बनाउने काम गर्छ । नीति कार्यान्वयनका लागि सबै तहलाई क्रियाशील बनाउने, कुराहरु पनि प्राधिकरणले सँगै गरिरहेको छ । विगतमा भूकम्पले छियाछिया बनाएका ठाउँहरु नै बढी बाढी पहिरोको सम्भावना रहन्छ । तल्लो तटीय क्षेत्रमा डुबानको समस्या हुन सक्छ ।  गएका वर्षहरुमा डुबान हुने गरेका क्षेत्रहरुमा नै  यो वर्ष पनि डुबान हुने सम्भावना रहन्छ । अहिले प्रभावमा आधारित पूर्व सूचना को बारेमा तालिम दिने काम पनि भइरहेको छ । पूर्व सूचना प्रणालीलाई व्यवस्थित बनाउने काम पनि भइरहेको प्राधिकरणले जनाएको छ । 

तर के-के कारणले विपद् निम्तिरहेको छ भन्नेबारे ध्यान नदिँदा हरेक वर्ष विपद्जन्य घटना हुने गरेका छन् । ‘प्राकृतिक र गैर प्राकृतिक विपद्हरुबाट बच्नका लागि हामीले बनाउने संरचना, हाम्रो समन्वय र सहजीकरणका कुराहरुमा ध्यान दिन सकिएमा प्रकोपहरुको सामना गर्नु पर्दैन । विपद् न्यूनीकरणका उपायहरु अपनाउने किसिमले हामी जान सक्यौँ भने विपदबाट हुने क्षति निक्कै कम भएर जान्छ’ प्राधिकरणका प्रवक्ता लीलाधर अधिकारीले बताउनुभयो ।

गृह मन्त्रालय अन्तर्गतको विपद् पूर्व तयारी तथा प्रतिकार्य शाखाका प्रमुख दिल कुमार तामाङ बाढी पहिरो लगायतका क्षति न्यूनीकरणका लागि प्रदेश, र पालिकाहरुले गर्नुपर्ने कामको बारेमा निर्देशन भइसकेको बताउनुहुन्छ । कोरोनालाई समेत मध्यनजर गरेर मानवीय सहायताको क्षेत्रमा क्रियाशिल सङ्घ संस्थाको सहकार्यमा कामहरु भइरहेको उहाँको भनाइ छ ।  खोज उद्धारको लागि आवश्यक सामग्रीको जोहो गर्ने काम  पनि भइरहेका पनि उहाँले बताउनुभयो ।  

केही दिन अगाडि पनि यास नामक चक्रवातका कारण नेपालमासमेत ठूलो वर्षा भएको थियो । र त्यतिबेला पनि जुनजुन ठाउँमा जोखिम हुन सक्छ भनिएको थियो, ती ठाउँहरुमा सूचना पुर्याइएको उहाँले बताउनुभयो । सूचना प्रणालीलाई अब पनि निरन्तरता दिइने उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया