वैदेशिक रोजगारी :  निःशुल्क कानुनी सहायताको लागि पिपल फोरममा सम्पर्क गर्नुहोस्

 जेठ १९, २०७८ बुधबार १०:५३:५८
unn.prixa.net

सुदीप देवकोटा 

पिपल फोरमले लामो समयदेखि वैदेशिक रोजगार पीडितलाई निःशुल्क रूपमा कानुनी सहायता प्रदान गर्दै आएको छ ।

वैदेशिक रोजगारीको क्रममा ठगिएका व्यक्ति, विदेशमा गएपछि करार अनुसारको काम तथा पारिश्रमिक नपाएका व्यक्ति र आर्थिक सहायता पाउनुपर्ने वैदेशिक रोजगार पीडितलाई पिपल फोरमले निःशुल्क कानुनी सहायता प्रदान गर्छ । 

यस्तै पिपल फोरमले मुद्दा लेख्ने कामहरूमा पनि सहयोग गर्छ । व्यक्तिगत ठगीका हकमा जाहेरी लेख्नेदेखि अदालतमा मुद्दा चल्दाकाे प्रक्रियामा पिपल फोरमले सहयोग गर्छ । इजाजत प्राप्त म्यानपावर कम्पनीले गरेका ठगी लगायत अन्य कुरामा पनि यसले निःशुल्क कानुनी सहायता पनि प्रदान गर्दै आएको छ । 

विदेशमा गएर ज्यान गुमाएका अङ्गभङ्ग भएका पीडित श्रमिक तथा उनका परिवारलाई पनि आर्थिक सहायता प्रदान गराइमाग्ने विषयमा सम्बन्धित निकायसँग समन्वय गर्दै आएको छ । 

निषेधाज्ञामा फोनमार्फत सेवा

अहिले निषेधाज्ञाका बेला कार्यालयमा उपस्थित भएर सेवा दिन सम्भव नभए पनि हामीले फोनमार्फत पनि आवश्यक परामर्श प्रदान गरिरहेका छौँ । कानुनी सहायतामा कार्यरत कर्मचारीहरू घरबाटै सेवा प्रदान गरिरहनुभएको छ । सेवा प्रदान गर्ने क्रममा वैदेशिक रोजगार विभागमा पनि समन्वय गरेका छौँ । 

कुनै मुद्दा तथा उजुरी आएमा हामीलाई सम्पर्क गर्न पनि भनेका छौँ । सुरुको अवस्थामा विभागसँग सहकार्य गरेर केही सेवा प्रदान पनि गर्‍यौँ । अहिले प्रत्यक्ष रूपमा विभाग तथा न्यायाधिकरणमा गएर सेवा नदिएको परिपेक्षकमा आवश्यकताअनुसार टेलिफोनबाटै त्यस्ता जानकारी बाटै श्रमिकलाई कानुनी परामर्श दिइरहेका छौँ ।

अहिले हामीकहाँ धेरैले आफ्नो समस्या लिएर हामीहरूलाई फोन गर्नुहुन्छ । लकडाउनका कारण बाँकी रहेका मुद्दा पछि उजुरी दिन नपाइने पो हो कि भन्ने जिज्ञासाहरू पनि राख्नुहुन्छ । यस विषयमा पनि कानुन अनुसार हामीले समन्वयको काम गरिरहेका छौँ ।

कुनै पनि श्रमिकलाई अहिले यस्तै केही जिज्ञासा भए वा कानुनी परामर्श चाहिएमा ०१४७८७२२६ मा पनि सम्पर्क गर्न सक्नुहुन्छ । यस्तै ९८५१०५५५५० मा पनि फोन गरेर आफूलाई परेका समस्याहरू राख्न सक्नुहुन्छ । कानुन अनुसारका समाधानका उपायहरू के हुन सक्छन्, हामी परामर्श दिन्छौँ ।

पिपल फोरममा कानुनी परामर्श दिनको लागि तोकिएका कर्मचारी सबै कानुन व्यवसायी हुनुहुन्छ । पिपल फोरममा श्रमिकका समस्या सुन्न कै लागि अहिले चार जना छौँ । पीडितहरू सहायताको लागि कार्यालयमै आइपुग्नुहुन्छ । वैदेशिक रोजगार विभाग नजिकै कार्यालय भएकाले पनि सेवाग्राहीको निकै चाप हुन्छ । यहाँ काम गर्ने सबै कानुन व्यवसायीहरू अनुभवी हुनुहुन्छ । 

श्रम आप्रवासनमा ५ ७ वर्ष काम गरेका कानुन व्यवसायी हुनुहुन्छ । उहाँहरूलाई वैदेशिक रोजगारीसँगका सबै कुराहरू थाहा हुन्छ । यसबारे जानकार हुन्छन् । त्यसैले पनि पीडितका समस्या सजिलै बुझ्न सक्छन् र के गर्ने भन्ने बारे परामर्श दिन सक्छन् । मुद्रामा जानुपर्ने भए त्यही अनुसार तयारी गर्नुपर्ने लगायतका कामहरु हामीहरू गर्छौँ । कसैको मुद्दा लड्नुपर्ने भएमा अदालतमा पीडितको पक्षमा उभिएर वकालत पनि गर्छौँ ।

पीडितले जाहेरी दिइसकेपछि अपराधी जब पक्राउ पर्छ, पक्राउ परेर मुद्दा अदालतमा पुगेर अदालती प्रक्रियाको अन्तिम किनारा नलागेसम्म हामी पीडितको पक्षमा उभिन्छौँ । उहाँहरूको मुद्धाको सबै प्रक्रियामा हामी सामेल हुन्छौँ । पिपल फोरमले सञ्चालन गरेको यो कानुनी परामर्शको कार्यक्रम नेपाल सरकार र स्वीस सरकारको द्विपक्षीय सम्झौता अनुसार सञ्चालित सामी परियोजना अन्तर्गत हो । त्यसैले पीडितले हामीमार्फत सेवा लिएबापत एक रुपैयाँ पनि तिर्न पर्दैन । 

नागरिकताको फोटोकपी गर्नेदेखि निवेदन लेखनसम्म सबै कुरा निःशुल्क हुन्छ । सुरुको प्रक्रियादेखि मुद्दा फैसला नभएसम्म साथै वैदेशिक रोजगार न्यायाधिकरणले मुद्दा फैसला गरेपछि त्यो कार्यान्वयनका लागि सम्बन्धित जिल्ला अदालतमा जानुपर्ने हुन्छ, त्यहाँ दर्ता गरिने निवेदन ड्राफ्ट गर्नको लागि पनि हामी पीडितलाई सहयोग गर्छौँ । 

(अधिवक्ता तथा पिपल फोरमद्वारा सञ्चालित निःशुल्क कानुनी सहायता कार्यक्रम परियोजनाका संयोजक सुदीप देवकोटासँग गरिएको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया