चुरे उत्खनन गरेर गिट्टी–बालुवा निर्यात गर्दा ठूलो सङ्कट आउनेछ : अध्यक्ष यादव

 जेठ १९, २०७८ बुधबार १५:६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले ढुङ्गा, गिट्टी, बालुवा निर्यात गर्दा तराई/मधेशमा ठूलो प्राकृतिक सङ्कट आउने बताउनुभएको छ । अध्यक्ष यादवले प्रेस विज्ञप्ति निकालेर सरकारले बजेट वक्तव्यमा उल्लेख गरेको खानीजन्य ढुङ्गा, गिट्टी, बालुवा निर्यात वा निकासी गरी व्यापार घाटा कम गर्ने नीति वातावरणीय हिसाबले घातक रहेको बताउनुभएको छ ।

उहाँले ढुङ्गा, गिट्टीका लागि हुने प्राकृतिक दोहनबाट नकारात्मक पर्यावरणीय असर पार्ने र जसको मूल्य तराई/मधेशमा बसोबास गर्ने मानिसले चुकाउनु पर्ने बताउनुभएको छ । बजेटको घोषणा राष्ट्रघाती भएको भन्दै उहाँले केही व्यवसायीलाई फाइदा गरे पनि यो आम नागरिकको हित विपरीत भएको बताउनुभएको छ । 

यस्तै कांग्रेस नेता तथा पूर्वमन्त्री गगन थापाले गिट्टी–बालुवा निकासी खोल्ने सरकारको निर्णय नीतिगत भ्रष्टचार भएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत थापाले संसद् नभएको बेला सरकारको यो कदमले आफ्नो असली अनुहार र सोच उजागर गरेको बताउनुभएको छ । उहाँले चुरे क्षेत्र तहसनहस पारेर तराईलाई मरुभूमिकरण गर्न उद्यत यस्ताे  प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटक–पटक रोकेको बताउनुभएको छ । 

यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले सरकारको निर्णयको बचाउ गर्दै यो चुरे क्षेत्रसँग सम्बन्धित नभइ ढुङ्गे पहाडलाई खानी क्षेत्रका रूपमा छुट्याइ निकासी गर्न अनुमति दिने रहेको बताउनुभएको छ । यसरी खानी परिचालन गर्दा सडक यातायातमा समेत असर पर्न नदिने गरी रोपवेको प्रयोग गर्ने नीति सरकारले अघि सारेको उहाँको दाबी छ ।  

 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया