भाइरल पोस्टका वृद्ध व्यक्ति कोभिड लागेका इटालियन हाेइनन्, पूर्वअमेरिकी सैनिक हुन्

 जेठ २०, २०७८ बिहिबार १९:२४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

स्राेत : फेसबुक स्क्रिनसट

काठमाण्डाै – केही हप्तादेखि कोभिडलाई पराजित गरेका ९३ वर्षीय एक इटालियन वृद्धको भनाइ भन्दै प्रकृतिप्रतिको कृतज्ञता झल्किने र सबै कोभिड निको भएकाहरूलाई एक रुख रोप्न आग्रह गरेको एक पोस्ट विभिन्न सामाजिक सञ्जालमा भाइरल भएको छ । कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले विना तस्बिर त्याे पोस्ट शेयर गरेका छन् भने कतिपयले एक दु:खी मुद्रामा रहेका वृद्धको तस्बिरसहित उनको भनाइ भन्दै त्याे पोस्ट शेयर गरेका छन् ।  

त्याे पाेस्टमा यस्तो दाबी गरिएको छ:

इटालीका यी ९३ वर्षका वृद्धा अस्पतालमा भर्ना भएर कोभिडलाई जितेपछि यिनीसँग एक दिनको भेन्टिलेटरमा प्रयोग गरिएको अक्सिजनको रकम माग्दा यिनी रुन थाले । उनी रोएको देखेर डाक्टरहरूले उनलाई सम्झाइबुझाइ गरी बिल मिनाहा गर्न कुरा सुनाएपछि उनले भने: म यो पैसा तिर्न नसकेर रोएको होइन । म यो सबै पैसा तिर्न सक्षम छु । तर म ९३ वर्षसम्म प्रकृतिले दिएको हावामा सास फेर्दा एक रुपैयाँ पनि कतै तिरेन । आज एक दिन भेन्टिलेटरमा सास फेरेको पाँच सय युरो तिर्दैछु ।‌ ममाथि कति ठूलो ऋण रहेछ प्रकृतिको । यो म कसरी तिरुँला, यो सम्झेर रोएको छु । त्यसैले कृपया जति जना पनि कोभिडलाइ जितेर घर फर्कनु हुन्छ, सबैले प्रकृतिको यो ऋण चुकाउन घर वरिपरि एक रुख अवश्य लगाउनुहोला ।

झन्डै ३५ लाख बढीले पछ्याएको ताजा खबर (Taja Khabar) नामक फेसबुक पेजले शेयर गरेको वृद्धको तस्बिर सहितको याे पाेस्टमा तीन हजार तीन सय बढी प्रतिक्रिया आएका छन् भने चार सय ७१ पटक शेयर भएको छ । यसैगरी एक लाख बढीले पछ्याएको वान लाइक फर माई कन्ट्री (1 Like for my Country) नामक फेसबुक पेजले शेयर गरेको वृद्धको तस्बिर सहितको यस पाेस्टमा तीन हजार चार सय बढी प्रतिक्रिया आएको छ भने तीन सय  ९८ पटक शेयर भएको छ ।

फेसबुक साथै याे दाबी ट्विटरका प्रयोगकर्ताहरूले शेयर गरेका छन् । अनिल राम (Anil Ram) नामक ह्यान्डलबाट तस्बिरसहित ट्विट गरिएको याे दाबी ५८ पटक रिट्वीट भएको छ भने दुई सय ७० भन्दा बढी प्रतिक्रिया आएको छ । यसैगरी एसडी नेपाल (SD Nepal) नामक ह्यान्डलबाट तस्बिरसहित ट्वीट गरिएको याे दाबी १३ पटक रिट्वीट भएको छ भने ४५ भन्दा बढी प्रतिक्रिया आएको छ ।

अर्को लोकप्रिय प्लेटफर्म टिकटकमा पनि फेसबुकबाट स्क्रिनशट लिइएको तस्बिरसहितको याे पाेस्टकाे भिडियो बनाइ शेयर गरिएको छ जसमा एक हजार ६ सयभन्दा बढी प्रतिक्रिया आएको छ भने ४० पटक शेयर भएको छ ।  

स्राेत : फेसबुक, टिकटक र ट्वीटर स्क्रिनसट

तथ्य जाँच:

साउथ एसिया चेकले यस तस्बिरलाई ‘रिभर्स इमेज सर्च’ गरी तथ्य जाँच गर्दा यहाँ शेयर भइरहेको तस्बिरभन्दा केही फरक कोणबाट लिएको तस्बिर एमआरसीटीभी नामक एक अमेरिकी अनलाइन मिडियामा मार्च ९ २०१५ मा प्रकाशित रिपोर्टमा फेला परेको छ । यस रिपोर्टअनुसार तस्बिरमा रहेका व्यक्ति इटालीका नभइ अमेरिकाको कोलोराडोका युरोपमा दोस्रो विश्व युद्ध लडेका सैनिक बिल मुर्रे हुन् । याे रिपोर्ट एबीसी न्युज सम्बद्ध अमेरिकी अनलाइन द डेन्भर च्यानलले बिल मुर्रेसँग लिएको भिडियो अन्तरवार्तामा आधारित रहेको छ । द डेन्भर च्यानलको आधिकारिक युट्युब च्यानलमा बिल मुर्रेको अन्तर्वार्ता १४ फेब्रुअरीमा २०१५ मा प्रकाशित भएको थियाे ।

त्यस भिडियो र त्यसबाट लिइएको तस्बिरको वास्तविकता यस्तो रहेछ : एक अप्रत्याशित घटनाक्रममा बिल मुर्रेले सन् १९४४ मा आफ्नी प्रेमिकालाई लेखेको प्रेमपत्र एक अपरिचित महिलाको हातमा पुगेछ । ती महिलाले त्यो पुरानो प्रेमपत्र बिल मुर्रेसमक्ष पुर्‍याउने जमर्को गरिछन् । मुर्रेकी छोरीको सहायताले उनी समक्ष त्यो पत्र पुग्यो । अन्तर्वार्ताका क्रममा उनी आफूले ७० वर्षअघि लेखेको पत्र पढ्दा निकै भावुक भएका थिए ।

त्यही अन्तर्वार्ताको आधारमा यस समाचार एबीसी न्युज, डेलिमेल र हफिङ्टन पोस्ट जस्ता चर्चित मिडियाहरूले पनि प्रकाशित गरेका छन् ।  

मुर्रे एबीसी न्युजले मार्च १० २०१५ मा यस समाचार प्रकाशित गर्दा ९० वर्ष रहेका र उनी कोलोराडोको अरोरामा रहेकाे एक हेरचाह केन्द्रमा बसिरहेको एबीसी न्युजले जनाएको छ । अहिले उनी जीवित छन् कि छैनन् भन्ने चाहिँ थाहा हुन सकेन । यसरी एक अमेरिकी भुपू सैनिक आफूले आफ्नो प्रेमिकालाई ७० वर्षअघि लेखेको प्रेमपत्र पढ्दा भावुक भएको भिडियोको स्क्रिनशट लिइ इटालीको कोभिडसम्बन्धी घटना भन्दै गरिएको दाबी गलत ठहर्छ ।   

'साउथ एसिया चेक' बाट 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया