सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक आज बस्दै

 जेठ २१, २०७८ शुक्रबार ८:१५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सर्वोच्च अदालतको ‘फुट कोर्ट’ अर्थात न्यायाधीशहरुको पूर्ण बैठक आज बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्चका २० जना न्यायाधीश नै सहभागी हुनेगरी आज पूर्ण बैठक बोलाउनुभएको हो ।

बैठकमा कोरोना महामारी र  निषेधाज्ञामा खुम्चिएको सर्वोच्चको सेवालाई कसरी बढाउने भन्ने विषयमा छलफल हुने सूचनामा उल्लेख छ । तर विविध शीर्षकको एजेण्डा पनि राखिएकाले संवैधानिक इजलासमा वरिष्ठ न्यायाधीशलाई राख्नेगरी नियमावली संशोधनको विषयमा पनि छलफल हुन सक्ने अनुमान छ । प्रतिनिधि सभा विघटनको मुद्दामा संवैधानिक इजलासमा नेकपाको एकता बदर गर्ने न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको उपस्थितिबारे प्रश्न उठेपछि सुनुवाइ नै रोकिएको छ ।

न्यायाधीशद्वय श्रेष्ठ र केसीले संवैधानिक इजलास छाड्न मान्नुभएको छैन भने उहाँहरुकै कारण देखाउँदै दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छाड्ने घोषणा गर्नुभएको छ । संवैधानिक इजलासको विषयमा विवाद भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नियमावली संशोधन गरेर नयाँ इजलास तोक्ने वचन दिनुभएको थियो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया