प्रचण्डद्वारा माधव नेपाल र देउवासँग भेट

 जेठ २४, २०७८ सोमबार १४:४३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच साेमवार (आज) दिउँसाे छलफल भएको छ । सभापति देउवालाई भेट्न अध्यक्ष प्रचण्ड उहाँकै निवास बूढानीलकण्ठ पुग्नुभएको थियो ।

भेटमा सुदुरपश्चिम प्रदेशको सरकार गठनबारे छलफल भएको र अरू समसामयिक राजनीतिबारे पनि कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ । उहाँहरूबीच भएको थप कुराकानीबारे भने खुलाइएको छैन ।

कांग्रेस सभापति देउवालाई भेट्नुभन्दा पहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेका नेता माधवकुमार नेपालसँग छलफल गर्नुभएको थियो । नेता नेपालकै निवास कोटेश्वर पुगेर अध्यक्ष प्रचण्डले नेता नेपालसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नुभएको हो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह, एमालेको खनाल–नेपाल समूह र राष्ट्रिय जनमोर्चाको पाँच दलीय संयुक्त गठबन्धनले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीको रूपमा अघि सारेका छन् । संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त नगरेपछि विपक्षी गठबन्धन सर्वोच्चमा पुगेको छ । अहिले यससम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेलगत्तै राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका गठबन्धनले प्रतिनिधि सभा विघटनसम्बन्धी परेका मुद्दाबारे सर्वोच्चको फैसला कुरिरहेका छन् ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया