नागरिककाे जीवन रक्षा पहिलाे प्राथमिकता : मन्त्री तामाङ

 जेठ २४, २०७८ सोमबार १८:४३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङले सबै सर्वसाधारण नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार व्यवस्थाको पहल गर्ने बताउनु भएको छ । मन्त्रालयले आज गरेको भर्चुअल पत्रकार सम्मेलनमा उहाँले स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरेर सबै नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको प्रबन्ध गर्ने जानकारी दिनुभयो । निःशुल्क उपचारको व्यवस्था गर्न सकिने कि नसकिने भनेर मन्त्रालयमा व्यापक अध्ययन र विज्ञसँगको छलफलबाट टुङ्ग्याइने उहाँले बताउनुभयो । 

‘हामी अहिले कसरी निःशुल्क उपचार गर्न सकिन्छ भनेर विस्तृत अध्ययन र अन्तर्राष्ट्रिय अभ्यासको अनुभव पनि लिन्छौँ’, उहाँले भन्नुभयो, ‘हामी अध्ययनमा सफल भयौँ भने स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरेर सर्वसाधारण नागरिकको स्वास्थ्यमा पहुँच र निःशुल्क उपचार गर्न सक्छौँ ।’ स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको जनाउँदै मन्त्री तामाङले सबै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रमको दायराभित्र ल्याउने बताउनुभयो । ‘मानिस जन्मनासाथ जसरी जन्मदर्ता प्राप्त गर्दछ, त्यसैगरी स्वास्थ्य परिचय पत्र प्राप्त गर्ने कुनै विधि हामीले बनाउँछौँ’, उहाँले भन्नुभयो , स्वास्थ्य परिचय पत्रअनुसार स्वास्थ्यसँग सम्बन्धित सबै उपचार पाउने गर्दछ ।’ 

मन्त्री तामाङले विज्ञका अनुसार कोभिड–१९ को तेस्रो लहर आइरहेकाले तयारी गरिएको जानकारी  दिनुभयो । तेस्रो लहरले बालबालिकालाई सङ्क्रमण गर्ने विज्ञले उल्लेख गरेका छन् । 

उहाँले सातै प्रदेशमा सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटर सहितको  बालबालिकालाई उपचार गर्न अस्पताल स्थापना गर्ने बताउनुभयो । उहाँले आउँदो वर्षभित्र तीन सय ९६ वटा अस्पतालको निर्माण सकिने जनाउँदै आउँदो असारभित्र बोलपत्र आह्वान गरेर निर्माण प्रक्रिया अघि बढाइने बताउनुभयो । मन्त्री तामाङले अहिले आफ्नो पहिलो प्राथमिकता नागरिकको जीवन रक्षा रहेको बताउनुभयो । ‘कोरोनाविरुद्धको लडाइँ लडेर जनतालाई कोरोनामुक्त गराउने मेरो प्रथामिकता हुने छ’, उहाँले भन्नुभयो, ‘यस लडाइँमा सबैले उत्तिकै जिम्मेवारीको साथै सहयोग हुनुपर्दछ ।’

उहाँले कोभिड–१९ विरुद्धको रोकथाम र नियन्त्रणका लागि केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) मा शय्या, आईसीयू र भेन्टिलेटर थप गरिने समेत जानकारी दिनुभयो ।  मन्त्री तामाङले सबै नागरिकलाई खोप लगाउन थप खोप ल्याउने  जानकारी दिनुभयो । यसका लागि उत्पादक देशसंँग छलफल भइरहेको उहाँले बताउनुभयो ।

उहाँले सरकारले तोकेको भन्दा बढी शुल्क लिने अस्पतालहरूको अनुगमन गरी कोभिड–१९ को उपचार सरकारले तोकिएकै शुल्कभित्र गराउन निर्देशनसमेत दिने जानकारी दिनुभयो । मन्त्री तामाङले मन्त्रालयका हरेक कामलाई पारदर्शी  बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया