सुदूरपश्चिममा ओली र नेपाल दुवै पक्षले एक–अर्कालाई कारबाही प्रक्रिया सुरु गरे

 जेठ २५, २०७८ मंगलबार २०:२३:६ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेशमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल दुवै पक्षकाले एक–अर्कालाई कारबाही प्रक्रिया सुरु गरेका छन् । संसदीय दलको ह्विपको अवज्ञा गरेको भन्दै माधव नेपाल समूहले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने सात जनालाई स्पष्टीकरण सोधेको छ । संसदीय दलका नेता प्रकाशबहादुर शाहले ओली पक्षका सात जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्नुभएको हो ।

एमाले संसदीय दलकी सचेतक दुर्गा विकले ह्विप उल्लङ्घन गर्ने ती सात सांसदमाथि कानुनअनुसार कारबाही हुने बताउनुभयाे । ‘यस्तो होला भन्ने हामीले सोचेका थिएनौँ । अब दलको बैठकले विधि, विधान र कानुनसम्मत ढङ्गले उनीहरूका बारेमा निर्णय गर्नेछ’, उहाँले भन्नुभयाे ।  

ओली पक्षले पनि पार्टीको केन्द्रीय निर्देशन नमानेको भन्दै संसदीय दलका नेतासहित आज मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने १७ जनालाई कारबाही प्रक्रिया सुरु गरेको जनाएको छ । ओली पक्षका नेता एवम् एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने १७ जनालाई यसअघि नै स्पष्टीकरण सोधेकाले बर्खास्त गर्ने तयारी भएको जानकारी दिनुभयो ।

मङ्गलवार प्रदेश सभामा विश्वासकाे मत लिने क्रममा नेकपा एमालेको नेपाल पक्षले मत दिँदा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बन्नुभएका भट्टकाे पद जाेगिएकाे हाे ।   

विश्वासको मत पाइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशलाई आफूले तीन वर्षभन्दा लामो समयदेखि नेतृत्व गरेको र यस क्रममा सबै पक्षलाई साथ लिएर हिँडेको स्मरण गराउनुभयाे । उहाँले अब पनि आफू त्यसैगरी सबैलाई साथ लिएर अघि बढ्ने बताउनुभयाे ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया