गर्मीमा फलफूल खानुको फाइदा

 जेठ २६, २०७८ बुधबार १३:१८:४२ | राधा ढुङ्गाना
unn.prixa.net

फाइल तस्बिर

केही दिनयता तराईका जिल्लासहित देशभर नै गर्मी बढेको छ । यस्तो गर्मीको समयमा शरीरलाई शीतल दिन फलफूल खानु लाभदायक मानिन्छ । दैनिकजसो फलफूल खान सके यसले शरीरलाई शीतल दिनुको साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । धेरैजसो फलफूलमा पानीको मात्रा बढी हुन्छ । पानीको मात्रा बढी भएका फलफूल गर्मीको समयमा खानु निकै फाइदाजनक हुने डाक्टरहरु बताउँछन् ।

डाक्टरहरुका अनुसार गर्मीको समयमा शरीर सुख्खा हुने भएकाले शरीरमा पानी धेरै चाहिन्छ । गर्मीमा पसिना धेरै बग्ने हुँदा पानीको मात्रा कम हुन्छ, फलफूलले शरीरमा पानीको मात्रा बढाउन मद्दत गर्छ र रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । त्यसैले गर्मीमा फलफुल खानु निकै लाभदायक मानिन्छ । फलफूलले शरीरमा चाहिने पानीको मात्रा पूरा गर्ने हुँदा गर्मीको समयमा पानीको मात्रा बढी हुने काँक्रो, खरबुजा, मेवा, स्याउ लगायतका फलफूल खान डाक्टरहरुको सल्लाह छ । 

काँक्रो : काँक्रो गर्मीमा धेरै खाइने फलफूलमध्ये एक हो । यसमा भिटामिन ए, बी १, बी ६, सी, डी, पोटासियम, फस्फोरस, आइरन अत्याधिक पाइने हुँदा काँक्रो नियमित सेवन गर्नाले मधुमेह र रक्तचाप जस्ता समस्याबाट बच्न सकिन्छ । काँक्रोमा पाइने विभिन्न तत्वहरुले क्यान्सरलाई रोक्न मद्दत गर्दछ । स्तन क्यान्सरको जोखिमलाई पनि कम गर्दछ । 

खरबुजा : खरबुजा गर्मीयाममा  निकै खाइन्छ । यसमा पानीको मात्रा धेरै हुन्छ । खरबुजामा पोटासियम र म्याग्नेसियम पाइन्छ, जसले रक्तनलीलाई स्वस्थ राख्न मद्दत गर्छ । खरबुजा खान सके रक्तचापलाई सामान्य राख्छ, फाइबर प्रशस्त मात्रामा पाइने हुँदा यसले पाचन तन्त्रलाई पनि सुधार्न मद्दत गर्छ । 

मेवा : मेवामा क्याल्सियम, म्याग्नेसियम, पोटासियम जस्ता लवणका साथै कार्बोहाइड्रेट, भिटामिन र फाइबर पनि प्रशस्तै पाइन्छ । यसले शरीरलाई सितलता प्रदान गर्नुको साथै पाचन प्रक्रियामा रहेका समस्या हटाउन र कमलपित्त, हर्निया, कोलेस्ट्रोल तथा मुटुरोगीका लागि समेत निकै फाइदाजनक हुन्छ । मेवामा पाइने पोटासियमले रक्तचापलाई सन्तुलित बनाउन मद्दत पनि गर्दछ ।

स्याउ : स्याउ धेरै फाइदाजनक फलफूलमा पर्दछ । स्याउ खानाले शरीरमा शीतलतासँगै मिर्गौलामा हुने पत्थरीबाट पनि बचाउने डाक्टरहरु बताउँछन् । त्यस्तै कब्जियत वा ग्यास्ट्रिकको समस्याका लागि पनि स्याउ खानु फाइदाजनक मानिन्छ । स्याउमा फाइबर हुन्छ, जसले दाँतलाई स्वस्थ राख्न मद्दत गर्दछ । स्याउको सेवनले अल्जाइमरबाट बचाउँछ । दम रोगीको लागि पनि निकै फाइदाजनक हुन्छ । यसमा पाइने तत्वले शरीरमा ग्लुकोजको कमीलाई पूरा गर्दछ र मधुमेहको खतरालाई कम गर्दछ । 

फलफूलको माग धेरै, आयात कम 

अरु सययमा भन्दा गर्मीयाममा फलफूल धेरै बिक्री पनि हुने गरेको छ । अहिले गर्मी बढेसँगै स्याउ, आँप, खरबुजा र केरालगायतका फलफूलको कारोबार धेरै छ । फलफूलको माग धेरै भए पनि निषेधाज्ञाका कारण बजारमा फलफूल आयात गर्न भने समस्या भएको व्यापारीहरु बताउँछन् ।

गर्मीयाममा खरबुजा, स्याउ, मेवा, केराको माग बढी हुने गरेको नेपाल फलफूल थोक व्यवसायी संघका कोषाध्यक्ष काशीराम सापकोटाले बताउनुभयो । तर निषेधाज्ञाको कारण बजारमा फलफूलको माग बढे पनि आयात गर्न निकै समस्या रहेको उहाँको भनाइ छ ।

‘सीमानाकाबाट पनि पर्याप्त फलफूल ल्याउन सकेका छैनौं’ उहाँले भन्नुभयो । अहिले बजारमा स्याउ किलोको १ सय २० देखि २ सय २० रुपैयाँसम्म, मेवा ८० देखि १ सय २० रुपैयाँसम्म र खरबुजा ३० देखि ५० रुपैयाँसम्म पर्छ । 
बजारमा फलफूल खपतको झण्डै ७५ प्रतिशत भारत र चीनबाट आयात गरिन्छ ।

नेपाल भित्रिने फलफूल चीनबाट खासा र केरुङ तथा भारतबाट विराटनगर र काकडभिट्टा नाका हुँदै ल्याइने गरिन्छ । अहिले चीनबाट आउने फलफूल खासा र केरुङबाट सहजै आयात हुन सकेको छैन । यी नाकाबाट अरुबेला दैनिक ४० देखि ५० वटा फलफूलको गाडी भित्रिने गरेकोमा अहिले १० वटा मात्रै गाडी भित्रिने गरेको छ । जसका कारण बजारमा पर्याप्त फलफूल पुर्याउन नसकिएको महासंघका कोषाध्यक्ष सापकोटाले बताउनुभयो ।

सापकोटाले भन्नुभयो, “निषेधाज्ञाअघि भारत र चीनबाट दैनिक ५० हजार टन फलफूल आयात हुनेमा अहिले १५–२० हजार टन मात्रै  भित्रिने गरेको छ ।” 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

राधा ढुङ्गाना

ढुङ्गाना उज्यालाेमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया