श्रम गन्तव्य देशमा उडान बन्द हुँदा समस्यामा पर्ने श्रमिक बढ्दै

 जेठ २६, २०७८ बुधबार १५:२१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय उडानहरू बन्द भएको एक महिना बित्दा गन्तव्य देशमा समस्यामा पर्ने श्रमिकहरूको सङ्ख्या पनि बढ्दै गएको छ ।

सुरुवाती दिनमा समस्यामा पर्नेहरूको सङ्ख्या न्यून रहे पनि उडान बन्द भएको समय लम्बिँदै जाँदै घर नफर्की नहुने नेपाली श्रमिकको सङ्ख्या पनि गन्तव्य देशमा बढ्दै गएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जनाकारी दिनुभयो । 

अन्तर्राष्ट्रिय उडान बन्द हुँदा निर्धारित समयमा स्वदेश फर्किन नपाएका झण्डै सय जनाले श्रम कल सेन्टरमार्फत आफ्नो समस्या राखेका छन् । धेरैजसो समस्या राख्नेहरू संयुक्त अरब इमिरेट्स यूएईबाट रहेको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।

‘अहिले श्रम कल सेन्टरमार्फत समस्या राख्ने धेरैजसो यूएईबाट हुनुहुन्छ, धेरैले भिसा क्यान्सिल गरेर बसेको छु, जहाज चल्दैन, कसरी घर फर्कनु, यहाँ समस्या हुन थाल्यो भन्नुहुन्छ,’ कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो, ‘हामीले उहाँहरूको समस्या सम्बोधन गर्नका लागि सीसीएमसीमा कुरा राखिसकेका छौँ, सायद अब छिट्टै नै उहाँहरूको समस्या समाधान हुनेछ ।’

पहिलेजस्तो रोजगारी गुमाएर अलपत्रै पर्नेहरू नभए पनि उडान बन्द भएकै कारण करार र भिसा सकिएर घर फर्किनै पर्ने नेपालीहरू धेरै भएकाले उडानहरू खुल्दै जाँदा समस्या पनि समाधान हुँदै जाने कार्यकारी निर्देशक श्रेष्ठ बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘अहिलेको मुख्य समस्या भनेको उडान बन्द हुनु हो, अहिले कतारबाट सुरुवात भएको छ, अब बिस्तारै अन्य गन्तव्य देशबाट पनि उडान खुल्दै जाँदा समस्या पनि कम हुँदै जानेछन् ।’

यस्तै मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले पनि उडानहरू बन्द हुँदा घर फर्किन खोज्ने नेपालीहरू बढ्दै गएको बताउनुभयो । भिसा र करार सकिएर मात्रै मलेसियाबाट घर फर्किन खोज्ने लगभग एक हजार छन् । त्यस्तै जेल सजाय पूरा गरिसकेका झण्डै ६५ जनालाई तत्काल स्वदेश फर्काउन पर्ने अवस्था छ भने विभिन्न कारण ज्यान गुमाएका नेपालीको शव पनि जहाज नचल्दा रोकिएका छन् ।

‘हामीले यहाँको समस्यासहित कम्तीमा हप्तामा एउटा भए पनि उडान खोलिदिनुहोस् भनेर लेखि पठाएका छौँ,’राजदूत पाण्डेले भन्नुभयो,‘उडान खोल्नु नै अहिले यहाँ रोकिएका नेपालीहरूका लागि समाधान हो, अब हेरौँ, खुल्छ कि ।’

यस्तै नेपाली श्रमिकको अर्को श्रम गन्तव्य खाडीको देश साउदीमा पनि नेपालबाट जान खोज्ने र नेपाल फर्कन पर्ने नेपालीहरूको सङ्ख्या बढ्दै गएको छ । तत्काल उडान नखोले समस्या बल्झँदै जाने साउदीको लागि नेपाली राजदूत प्रा.डा महेन्द्रप्रसाद सिंह राजपुतले बताउँदै आउनुभएको छ ।

श्रमिकले सिधै समस्या राख्न सक्ने

सरकारले श्रमिकका समस्या सुन्न र तत्काल सम्बोधन गर्न भनेर श्रम मन्त्रालयको संयोजकत्वमा छुट्टै समिति बनाएको छ ।

यो समितिले सञ्चारको जिम्मेवारी श्रम कल सेन्टरलाई दिएको छ । श्रमिकले श्रम कल सेन्टरमा सिधै आफ्नो समस्या राख्ने र यसरी आएका समस्या समितिले तत्काल सुन्ने र सम्बोधन गर्ने गरी संयन्त्र बनाइएको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठ बताउनुहुन्छ ।

गएको वर्ष पनि श्रम कल सेन्टर नभएको हैन । तर श्रम कल सेन्टरलाई यसरी जिम्मेवारी दिइएको थिएन । नेपाली नियोगहरूमार्फत श्रमिकका समस्या परराष्ट्र हुँदै बोर्डसम्म आउन पथ्र्यों । तर अहिले श्रमिक आफैँले पनि सम्बन्धित निकायमा आफ्नो समस्या राख्न सक्छन् ।

श्रमिकको समस्या अनुसार नियोगले लेखि पठाएमा बोर्डले गन्तव्य देशमा खान बस्न र टिकटका लागिसमेत रकम पनि पठाउने गरेको छ ।

निःशुल्क उद्धारको निर्देशिका

सरकारले वैदेशिक रोजगार कल्याणकारी कोषको रकम प्रयोग गरेर अलपत्र कामदारको उद्धारको लागि गएको वर्ष निर्देशिका पनि बनाएको छ । तर यो निर्देशिका कार्यान्वयन भने फितलो छ । निर्देशिका व्यवहारिक बनाउनका लागि संशोधन गरी अहिले मन्त्रिपरिषदमा पठाइएको पनि कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।

अहिले पनि यो निर्देशिकाले समेट्ने श्रमिकलाई कोषको रकम प्रयोग गरेर पनि उद्धार गर्न सकिने उहाँ बताउनुहुन्छ । 

यो निर्देशिका सरकारले बनाएर पठाउँदा नेपाली नियोगहरूले निर्देशिका अनुसार श्रमिक पठाउन नसकिने भन्दै गुनासो गरेका थिए । निर्देशिकाले विभिन्न मापदण्डहरू तोकेकाले गएको वर्ष समस्यामा पर्नेहरू मापदण्डभित्र निकै काम मात्र पर्ने अवस्था थियो । 

निर्देशिका अनुसार आफ्नै खर्चमा स्वदेश फर्किएका श्रमिकले पनि मापदण्डमा पर्ने भए लागेको रकम शोधभर्नाका लागि निवेदन दिन सक्ने भनेको थियो । हजारौँ नेपाली आफ्नै खर्चमा स्वदेश फर्किए पनि निवेदन दिनेको सङ्ख्या निकै कम थियो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया