विभिन्न क्षेत्रका प्रतिनिधि भन्छन्– ‘निषेधाज्ञा खुकुलो बनाउनुपर्छ’

 जेठ २७, २०७८ बिहिबार १४:२९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि काठमाण्डाै उपत्यकाभित्रका तीन जिल्लामा निषेधाज्ञा लागू भएको ४३ दिन पुगेको छ । निषेधाज्ञाका कारण जनजीवन ठप्प छ । सँगै कोरोना सङ्क्रमणको दरमा कमी आएको छ । निषेधाज्ञाका कारण घरभित्र रहेका नागरिक आत्तिन थालेका छन् । यससँगै स्वास्थ्य सावधानीका साथ सेवा, व्यापार, जनजीवनलाई नियमित गर्नुपर्छ भन्ने आवाज पनि उठ्न थालेको छ । विभिन्न पेसा, व्यवसाय गर्नेले आउँदाे असार १ गतेदेखि अहिले लागू भएको निषेधाज्ञालाई खुकुलो बनाउनुपर्ने बताएका छन् ।

उपत्यका नगरपालिका फोरमका अध्यक्ष तथा काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाण्डाै उपत्यका भित्रिने र बाहिरिने नाकामा थप कडाइ गरेर उपत्यकाभित्रको जनजीवन सुरु गर्नुपर्ने बताउनुभयो । निषेधाज्ञालाई एकै पटक नभइ चरण–चरण गरेर खुकुलो बनाउँदै लैजान सकिने मेयर शाक्यले बताउनुभयो ।

उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले सवारी साधन सञ्चालनमा रोक लगाउँदै र नाका बन्द गर्दै, स्वास्थ्य मापदण्ड पालना गराउँदै उपभोग्य वस्तुको पसल खोल्नुपर्ने बताउनुभयो । निषेधाज्ञामात्रै विकल्प नभएकाले बिस्तारै निषेधाज्ञा खुकुलो बनाउनुपर्ने उहाँले बताउनुभयो । स्वास्थ्य मापदण्ड अपनाउँदै 'फ्रन्टलाइनर' लाई काममा खटाउनुपर्ने पनि उहाँको भनाइ छ ।

खुद्रा व्यापार सङ्घका पूर्वअध्यक्ष पवित्रमान बज्राचार्यले असार १ गतेदेखि निषेधाज्ञा बिस्तारै खुला गर्नुपर्ने बताउनुभयो । व्यापार, व्यवसायमा गाह्रो परेको तथा निम्न आय भएका मानिसहरूलाई जीवन निर्वाहमा नै कठिन भएकाले सरकारले सोच विचार गरी निषेधाज्ञालाई खुकुलो पार्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाल अटोमोबाइल्स डिलर्स एसाेसिएशनका अध्यक्ष कृष्णप्रसाद दुलालले असार मसान्तसम्ममा सामान्य अवस्थामा पुर्‍याउने गरी बिस्तारै निषेधाज्ञालाई खोल्दै लानुपर्ने धारणा राख्नुभयो । व्यवसाय बन्द गराइरहे कहिल्यै उठ्न नसक्ने भन्दै उहाँले आर्थिक अवस्था पनि कमजोर हुनेतर्फ साेच्न आग्रह गर्नुभयाे । नागरिक पनि सुरक्षित हुनका लागि आफैँमा जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ ।

होटल सङ्घ नेपालका उपाध्यक्ष विनायक शाहले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पालना गराएर व्यवसाय सञ्चालन गर्न दिनुपर्ने बताउनुभयो । सरकारका विभिन्न मन्त्रालयबीच स्पष्ट नीति र समन्वय नभएको भन्दै उहाँले निषेधाज्ञा कसरी खुला गर्ने भन्ने सम्बन्धमा सरकारको स्पष्ट नीति आउनुपर्ने पनि बताउनुभयो ।

वायु सेवा सञ्चालक सङ्घका प्रथम उपाध्यक्ष अनुज रिमालले विगतमा अन्य क्षेत्रको भन्दा वायु सेवामा जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गरिएको र आउँदा दिनमा पनि कडाइका साथ पालना गरिने भन्दै अर्थतन्त्रलाई चलायमान बनाउन वायु सेवालाई सञ्चालन गरिनुपर्ने बताउनुभयो ।

पर्यटन व्यवसायी सुदर्शन नेपालले पर्यटन क्षेत्रका व्यवसायी र मजदुरले कोरोना भाइरसविरुद्धको दुवै मात्रा खोप पाइसकेको अवस्था रहेकाले जनस्वास्थ्यको मापदण्ड पालना गराउँदै यस व्यवसायलाई सञ्चालन गर्न दिइनुपर्ने बताउनुभयो । पर्यटन व्यवसायलाई चलायमान बनाउन निषेधाज्ञा खुकुलो बनाउँदै लानुपर्ने उहाँको भनाइ छ । पर्यटन क्षेत्रलाई सुरु गर्नका लागि व्यवसायीहरू मनोबल उच्च पारेर तयारी अवस्थामा रहेको पनि पर्यटन व्यवसायी नेपालले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया