गृह प्रशासनभित्र भ्रष्टाचारकाे गन्ध भेटियाे भने 'कम्प्राेमाइज' हुँदैन : नवनियुक्त मन्त्री अधिकारी

 जेठ २७, २०७८ बिहिबार १९:३०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नवनियुक्त गृह मन्त्री खगराज अधिकारीले देशमा शान्ति सुरक्षा, अमनचयन र नियम कार्यान्वयनमा गृह प्रशासन अब्बल देखिने गरी काम गर्न निर्देशन दिनुभएको छ । 

बिहीवार गृह मन्त्रालयमा पदभार ग्रहणपछि गृह मन्त्रालयका अधिकारीहरूसँगको परिचयात्मक बैठकमा मन्त्री अधिकारीले गृह मन्त्रालय मातहतका निकायलाई पारदर्शी रूपमा काम गर्न आवश्यक रहेको बताउनुभयो । गृह प्रशासनभित्र कहीँ पनि भ्रष्टाचारको गन्ध भेटे कुनै सम्झौता नगरि कारबाही गर्ने नवनियुक्त मन्त्री अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘शान्ति, सुरक्षा, अमनचयन र नियम कार्यान्वयनमा अब्बल देखिनुपर्दछ र हरेक कुरा पारदर्शी हुनुपर्छ । कहीँ–कतै, कसैमा भ्रष्टाचारको दुर्गन्ध कहीँ भेटियो भने त्यसमा हाम्रो कम्प्राेमाइज हुँदैन ।’

मन्त्री अधिकारीले विकासमा तीव्रता र सुशासनको खाँचो भएकाले जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्रको ढिलासुस्ती, अवरोधमा कठोर भएर उभिन निर्देशन दिनुभयो । 

मन्त्री अधिकारीको पदबहाली कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरू, काठमाण्डाै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू र विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो । 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया