चुचुरादेखि तराईका फाँट हेर्न बङ्गलाचुली पार्क (फोटो फिचर)

 जेठ २९, २०७८ शनिबार ७:४६:४१ | हेमराज शर्मा
unn.prixa.net

दाङको पहाडी भेगमा पर्ने बङ्गलाचुली गाउँपालिका, त्यसको पनि सुदूरपूर्व प्युठान र दाङको सीमा क्षेत्र। जिल्ला सदरमुकाम घोराहीदेखि ३२ किलोमिटरको दूरीमा छ-बङ्गलाचुली पार्क । हराभरा जङ्गल, चिसो हावापानी, उत्तरतिर देखिने प्युठानको पवित्र धार्मिक स्थल स्वर्गद्वारी र हिमालसँगै दक्षिणतिर नेपालका तराईदेखि भारतसम्मका फाँटसम्म देख्न पाइन्छ ।  

कुनै  समय सुख्खा र उजाड पहाडका रूपमा रहेको बङ्गलाचुली पहाड पछिल्लो समय पार्कका रूपमा विकास हुँदै गएको छ । अहिले यो क्षेत्र पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहेको छ । बङ्गलाचुली गाउँपलिका वडा नं. ५ को पुरानो बजार मुर्कुटीदेखि पूर्व–उत्तरमा रहेको अग्लो पहाडलाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले केही वर्षअघि सुक्खा डाँडाको रूपमा रहेको यो पहाड अहिले बङ्गलाचुली पार्कका रुपमा विकास भइरहेको छ ।

करिब दुई सय ५० रोपनी क्षेत्र रहेको यो ठाउँमा अहिलेसम्म विभिन्न भौतिक संरचनाहरु निर्माणका लागि करिब एक करोड रुपैयाँ खर्च भएको छ । सामुदायिक वन क्षेत्रमा पर्ने यो ठाउँलाई गाउँपालिकाकै प्रमुख पर्यटकीय स्थलका रुपमा विकास गर्नका लागि अहिलेसम्म भ्यू–टावर, प्रतीक्षालय, नाचघर, पार्कको विभिन्न ठाउँमा बस्नका लागि कुर्सी, भ्यू–टावरको संरक्षणका लागि पर्खाल, गेट र हिँडडुल गर्नका लागि पक्की बाटोलगायतका विभिन्न संरचनाहरु निर्माण गरिएको छ ।

बङ्गलाचुली पार्कलाई थप आकर्षक बनाउनका लागि पिक स्पोर्ट, खेल मैदान, मन्दिर, विवाह मण्डपलगायतका अरु थुप्रै संरचनाहरु निर्माण गर्न बाँकी रहेको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले बताउनुभयो  । उहाँका अनुसार २०६४/०६५ साल बङ्गलाचुली पर्यटकीय क्षेत्र पूर्वाधार समिति गठन गरेर यो क्षेत्रको विकासका लागि काम सुरु गरिएको हो ।

‘यो पहाड यस क्षेत्रकै अग्लो भएको र सफा मौसम भएको समयमा नेपालको दक्षिणी क्षेत्रमा रहेका अग्ला हिमालहरुको दृश्यावलोकन गर्न सकिने भएकाले यस ठाउँलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न स्थानीय लागेका थिए तर बजेट अभावका कारण विकास गर्न सकेका थिएनन्’–गाउँपालिकाका अध्यक्ष वलीले भन्नुभयो, ‘तर अहिले प्रदेश सरकार र स्थानीयका रूपमा गाउँपालिकाले बङ्गलाचुली पार्कको विकासमा बजेट राख्न थालेपछि अहिले विकसित हुँदै गएको छ ।’

अध्यक्ष वलीले अहिले प्रारम्भिक चरणको मात्र विकास भएको बताउनुभयो । ‘अहिले पार्कको प्रारम्भिक चरणको विकासको काम भएको छ, अझै धेरै कामहरु हुन बाँकी नै छ ।’अध्यक्ष वलीले भन्नुभयो–‘सबै संरचनाहरु निर्माण भएपछि यो नमुना पर्यटकीय केन्द्रका रुपमा विकास हुनेछ ।’

यस क्षेत्रको पूर्वाधार विकासका लागि प्रदेश सरकार अन्तर्गत डिभिजन वन कार्यालय ५० लाख रुपैयाँ खर्च गरेर गएकाे वर्ष धेरै काम गरेको उहाँले बताउनुभयो । त्यस्तै यस वर्ष पनि कार्यालयले २० लाख रुपैयाँ विनियोजन गरेको र अन्य संरचना निर्माणको काम भइरहेको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले बताउनुभयो । नमुना पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने गरी काम भइरहेको केसीले बताउनुभयो ।

यसैगरी यो ठाउँको पर्यटकीय विकासका लागि गाउँपालिकाले करिब २० लाख रुपैयाँ र पर्यटन बोर्ड भैरहवाले तीन वर्षअघि सुरुमा पाँच लाख रुपैयाँ खर्च गरेर भ्यू-टावर निर्माणको सुरुवात गरेको समेत अध्यक्ष वलीले बताउनुभयो  । ‘बङ्गलाचुली पहाडलाई बङ्गलाचुली पार्कका रुपमा विकास गर्न २०६४/०६५ सालदेखि सुरु भए पनि, बजेट अभावका कारण हुनसकेको थिएन’–उहाँले भन्नुभयो–‘पछि जनप्रतिनिधिहरु निर्वाचित भएपछि प्रदेशसँगै पालिका र वडाले समेत यस क्षेत्रको विकासका लागि पहल बजेट विनियोजन गर्न थालेपछि विकास हुँदै गएको छ ।’

बङ्गलाचुली गाउँपालिका वडा नं. ५ का अध्यक्ष एनुराज खत्रीले सामान्य पहाडको डाँडालाई पर्यटकीय रुपमा विकास गर्नका लागि विभिन्न संरचनाहरु निर्माण गर्दा अहिले आकर्षणको केन्द्र बन्दै गएको बताउनुभयो ।

'बङ्गलाचुली पहाडलाई पार्कका रूपमा विकास गर्नका लागि प्रदेश सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेर विभिन्न संरचना निर्माण गर्ने काम भइरहेको छ’–वडा अध्यक्ष खत्रीले भन्नुभयो–‘विभिन्न संरचना निर्माणले थप आकर्षक बनाउने छ ।’ पार्कलाई थप आकर्षक बनाउनका लागि हिँड्ने बाटोमा रेलिङ राख्ने, विभिन्न प्रकारका विरुवा रोपिने समेत भएको छ । 

धिमधिमे लेकमा भ्यू-टावर बन्दै 

दाङको बङ्गालाचुली गाउँपालिका वडा नं २ मा पर्ने धिमधिमे लेकमा भ्यू-टावर निर्माणको काम चलिरहेको छ । स्थानीय पर्यटकहरुको लागि ३ फ्लाइटको धिमधिमे लेक पर्यटकीय भ्यू-टावर निर्माण हुन लागेको हो । गएकाे आर्थिक वर्ष २०७६/७७ मा भ्यू-टावर निर्माण गर्नको लागि सङ्घीय सरकारको योजनामा बङ्गालाचुली गाउँपालिकाले टेन्डर आह्वान गरेको थियो ।

यो भ्यू-टावर निर्माण गर्नका लागि करिब १ करोड २६ लाखको टेन्डर परेको थियो । २०७७ को जेठमा न्यू अम्बे निर्माण सेवा कम्पनीले भ्यू-टावर निर्माणको लागि २०७८ को असार मसान्तसम्म निर्माण गरिसक्ने सम्झौता गरेको थियो । २०७७ को जेठमा सम्झौता गरे पनि कात्तिक महिनादेखि काम सुरु गरेको न्यू अम्बे निर्माण सेवाका सञ्चालक उमाकान्त घिमिरेले बताउनुभयो । अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न भइसकेको र ५० प्रतिशत कामको भुक्तानी पनि भइसकेको सञ्चालक घिमिरेले बताउनुभयो । 

भ्यू-टावर नबन्दै पर्यटकहरुको घुइँचो बढ्न थालेको स्थानीय जीवन रोकाले बताउनुभयो । अलि अग्लो ठाउँ, हराभरा भएको र स्वच्छ हावापानीसँगै विविध ठाउँको अवलोकन गर्न सकिने भएकाले पर्यटकहरु आउने गरेका छन् ।

भ्यू-टावर निर्माण भइसकेपछि भारतका विभिन्न ठाउँ, प्युठानको स्वर्गद्वारी मन्दिर, विभिन्न हिमालहरु लगायत दाङ उपत्यकाको अवलोकन गर्न सकिनेछ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया