गण्डकीका विपक्षी भन्छन्, ‘केन्द्रकै प्रवृत्ति यता देखियो, ३१ जना नै प्रदेश प्रमुखकोमा जाँदैछाैँ’

 जेठ २९, २०७८ शनिबार १६:४६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गण्डकी प्रदेशका विपक्षी दलहरुले नयाँ सरकार गठनको विषयमा केन्द्रमा जस्तै प्रवृत्ति प्रदेशमा पनि देखिएको बताएका छन् ।

नयाँ सरकार गठनको लागि हिजो कांग्रेस,माओवादी केन्द्र, जनमोर्चा, जसपा र स्वतन्त्र सदस्य राजिव गुरुङसहित ३१ जना प्रदेशसभा सदस्य हस्ताक्षर र भौतिक रुपमै प्रदेशप्रमुख सीताकुमारी पौडेलकोमा पुगेर दाबी पेश गरेका थिए । विपक्षी दलले नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री प्रस्ताव गरेका छन् । तर आज फेरि एमालेका पृथ्वीसुब्बा गुरुङले दाबी पेश गर्नुभएको छ ।

यसलाई विपक्षीले ‘लाजमर्दो’ क्रियाकलाप भनेका छन् । ‘केन्द्रमा केपी शर्मा ओलीले जे जस्ता प्रतिगामी कदम अघि बढाइरहनुभएको छ, यहाँ पनि त्यै दोहोर्याउन खोजिएको छ, यतिसम्मको लाजमर्दो बाटो राजनीति जान्छ भन्ने हामीले कल्पना पनि गरेका थिएनौँ’, कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले उज्यालोसँग भन्नुभयो ।

उहाँले अहिले पनि आफूहरु ३१ जना नै सँगै रहेको र प्रदेशप्रमुखलाई भेट्न जान लागेको बताउनुभयो । ‘३१ जना नै सँगै छौँ, प्रदेश प्रमुखको नियत पनि ठीक देखिएको छैन, हामी छलफल गर्छौँ’, पोखरेलले भन्नुभयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया