चितवन राष्ट्रिय निकुञ्जमा गोली लागेर जङ्गली हात्ती मकुना मर्याे
माघ २४, २०८१ बिहिबार
रुकुम पश्चिम – किसानलाई वितरण गर्नका लागि रुकुम पश्चिमको मुसिकोट नगरपालिकासँग सम्झौता गरेर बाख्रा ल्याएको ठेकेदार कम्पनीले बाख्रा मापदण्ड विपरीतको भएकाले फिर्ता लिएको जनाएको छ । बाख्रा खरिद र वितरणका लागि जिम्मा लिएको केअर फार्म नेपाल प्राली बाँकेले एक विज्ञप्ति निकालेर किसानलाई अस्वस्थ र उत्पादन दिन नसक्ने बाख्रा उपलब्ध गराउने मनसाय नभएकाले तुरुन्तै फिर्ता गरेको जनाएको छ ।
केअर फार्म प्रालीले एक सय ५० वटा बाख्रा खरिदका लागि मुसिकोट नगरपालिकासँग सम्झौता गरेको थियो । जेठ २७ गते पहिलो चरणमा रुकुम पश्चिम ल्याइएका ५६ मध्ये २६ वटा बाख्रा मापदण्ड विपरीत, उत्पादन दिन नसक्ने र अस्वस्थ भएको भन्दै नगरपालिकाले फिर्ता गरिदिएको थियो । ती बाख्रा लिन किसानले पनि अस्वीकार गरेका थिए । यही घटनालाई विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नगरपालिका र ठेकेदार कम्पनीको चर्को विरोधसमेत भएको थियो । मुसिकोट नगरपालिकाले शनिवार पत्रकार सम्मेलन नै गरेर बाख्रा खरिद प्रक्रिया र घटनाबारे प्रष्ट्याएको थियो ।
विज्ञप्तिमा जेठ २६ गते ५६ वटा बाख्रा नेपालगञ्जबाट पशु चिकित्सकको रोहवरमा तौल र स्वास्थ्य परीक्षण गरेर पठाइएको कुरा उल्लेख छ । नेपालगञ्जबाट रुकुम पश्चिमको मुसिकोटसम्म बाख्रा लैजाँदा लगातार ११ घण्टासम्मको अविरल वर्षा, सात घण्टाको बाटो अवरोध, झन्झटिलो जाँचले गर्दा झन्डै १५ घण्टा बढी ढिलो गरी गाडी पुगेको कम्पनीले जनाएको छ । पानीमा भिजेका बाख्राको स्वास्थ्य बिग्रिएको र सम्झौताअनुसार बाख्राको तौल र मापदण्ड नपुगेकाले कम्पनीले तुरुन्तै बाख्रा फिर्ता गरेको विज्ञप्तिमा जनाइएको छ ।
भौगोलिक विकटता र मौसम प्रतिकूलताका कारण बाख्रा उपलब्ध गराउने क्रममा समस्या आएको भन्दै कम्पनीले मुसिकोट नगरपालिका, जनप्रतिनिधि, कर्मचारी, कम्पनी र स्थानीय प्रतिनिधि लक्षित अमर्यादित टिप्पणी नगरिदिन कम्पनीले अनुरोध गरेको छ ।
बाख्रा प्रवद्र्धन कार्यक्रम अन्तर्गत सङ्घीय सरकार र मुसिकोट नगरपालिकाले लागत साझेदारीमा भएका यस कार्यक्रमका लागि १८ लाख ४२ हजार रुपैयाँको टेन्डर आह्वान गरिएको थियो । यसमा बाख्रा खरिद, घाँस, औषधिसमेत व्यवस्थाका लागि बजेट विनियोजन गरिएको थियो ।
मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले पारदर्शी तरिकाले टेन्डर आह्वान गरेको र बाँकेको केअर फार्म प्रालीले निर्धारित कबोल अङ्कभन्दा १६ दशमलव ५४ प्रतिशत कम रकम १५ लाख ३७ हजार तीन सय ५० रुपैयाँमा कबोल गरेकोले मापदण्डअनुसार सम्झौता गरिएको बताउनुभयो ।
वितरणका लागि पहिलो चरणमा ल्याइएका ५६ ओटा बाख्रा नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, पशु सेवा शाखा प्रमुख, लाभग्राहीसमेतले अवलोकन गरेर २६ वटा बाख्रा मापदण्ड विपरीत पाइएकोले उति बेलै फिर्ता गरिएको प्रमुख प्रशासकीय अधिकृत तिवारीले जनाउनुभयो । उहाँले ठेकेदारलाई मापदण्डअनुसारका बाख्रा ल्याउन स्पष्ट निर्देशन दिइएको जनाउँदै नगरपालिकाको कार्यसम्पादन र सुशासनमा प्रभाव पर्ने गरी कुनै पनि कार्य हुन नदिने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।