तुलसीपुरका दुई अस्पतालद्वारा राहतमूलक कार्यक्रम सञ्चालन

 जेठ ३१, २०७८ सोमबार ९:१४:२ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको तुलसीपुरका दुई सरकारी अस्पतालले स्थानीय बासिन्दालाई राहतमूलक कार्यक्रम सुरु गरेका छन् । राप्ती प्रादेशिक अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना गरिएको छ भने प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा नाम दर्ता निःशुल्क हुनेछ । यसअघि नाम दर्ताको २० रुपैयाँ लाग्दै आएको थियो ।

प्रादेशिक अस्पताल तुलसीपुरमा सामाजिक  सेवा कार्यक्रम  सञ्चालनमा आएपछि सरकारले तोकेका लक्षित समूहले एक वर्षसम्म एक लाख रुपैयाँ बराबरको औषधि उपचार निःशुल्क गर्न पाउने छन् । पहिलो पटक लक्षित समूहले आकस्मिक अवस्थामा पाँच हजार, ओपीडीमा दुई हजार पाँच सय र भर्ना भएमा १० हजार रुपैयाँसम्मको औषधि उपचार निःशुल्क पाउने अस्पतालले जनाएको छ । बिरामीले एकै पटकमा एक लाख रुपैयाँ बराबरको औषधि उपचार गर्न भने नपाउने सामाजिक एकाइ समितिका प्रमुख हिमा पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सेवा पाउने लक्षित समूहमा गरिब, असहाय, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक हिंसापीडित तथा पीडित बालबालिका, महिला स्वास्थ्य स्वयंसेविका, विपद् एवम प्राकृतिक प्रकोप भूकम्प बाढीपहिरो र आगलागीबाट पीडित, सहिद परिवार, कुपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा, दुर्घटनामा परेका आकस्मिक बिरामी र सीमान्तकृत तथा लोपोन्मुख, आदिवासी जनजाति हुनुपर्नेछ । परिचयपत्र नभएकाले भने यो सुविधा पाउने छैनन् । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले चार वर्षअघि उठाएको विषय अहिले पूरा भएको बताउनुभएको छ ।

उहाँले राहत सहयोगका लागि उपमहानगरपालिकाका तर्फबाट १० लाख रुपैयाँ उपलब्ध गराउने समेत प्रतिबद्धता जनाउनुभएको छ । यसअघि ७० वर्षमाथिका ज्येष्ठ नागरिकले मात्र चिकित्सकले सिफारिस गरेका आधारमा निःशुल्क उपचार सेवा पाउने गर्थे ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया