कपिलवस्तु : माओवादी केन्द्रका नेता पाण्डे हत्या प्रकरणमा श्रीमतीसहित १० जना पक्राउ

 जेठ ३१, २०७८ सोमबार १६:५९:२ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरी कारबाही प्रक्रियाअघि बढाएको छ । 

नेता पाण्डेको हत्यामा उहाँकै श्रीमतीको मुख्य भूमिका रहेको प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले बताउनुभयो । उहाँकी पत्नी महिमा पाण्डेले गएको दुई तीन वर्षदेखि पति दीपक पाण्डेको हत्या गर्ने योजना बनाएको प्रहरीले जनाएको छ । मृतक पाण्डेकी पत्नीसँग अनैतिक सम्बन्ध भएका कपिलवस्तु नगरपालिका १ का ३९ वर्षीय ओमप्रकाश यादवसहित १० जनाको समूहको संलग्नतामा हत्या भएको प्रहरीले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । 

नेता पाण्डेलाई पत्नी महिमा पाण्डे र ओमप्रकाश यादवको योजनामा कपिलवस्तु नगरपालिका २ का रमजान साह र शाकिर अलीपखियाको संलग्नतामा हत्या गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

यस्तै हत्याराहरूलाई हतियार उपलब्ध गराउने, संरक्षण गर्ने र हतियार ओसारपोसार गर्ने कार्यमा थप सात जना रहेका छन् । प्रहरीका अनुसार कपिलवस्तु नगरपालिका १ कैलाश टोलका ३५ वर्षीय पूर्णवीर पाल्पाली, कपिलवस्तु २ बर्दहवाका सद्दाम हुसेन खान, यशोधरा गाउँपालिका ४ पोखरभेटवाका ज्ञानेन्द्रकुमार पाण्डेय, यशोधरा ४ सेमरीका राधेश्याम चौधरी, कपिलवस्तु ५ गोटिहवाका श्रीराम कुर्मी, कपिलवस्तु १ मस्जिद टोलका नसरत अली र कपिलवस्तु २ बरगदवाका प्रवीण गुप्ता रहेका छन् । उनीहरुले दीपकको हत्या गर्नका लागि रकम लिने, बरामद हतियार खरिद बिक्री, ओसारपोसार गर्ने, सहयोग गर्ने र अभियुक्तलाई संरक्षण दिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो । 

गएको जेठ ५ गते कपिलवस्तु ६ गोवरी सडकमा निग्लिहवाबाट घर आउँदै गर्दा बेलुका ११ बजे नेता पाण्डेमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट घाइते हुनुभएका नेता पाण्डेको भैरहवाको मेडिकल कलेजमा उपचार भएको र थप उपचारका लागि हेलिकप्टरमा काठमाण्डौ लैजाँदै गर्दा ज्यान गएको थियो । 

त्यस घटनाको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको कमान्डको टोलीले एक महिना नबित्दै घटनामा संलग्न दशै जनालाई पक्राउ गरी मुद्दा प्रक्रिया अघि बढेको छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया