नारायणी नदी इतिहासकै उच्च विन्दुमा

 असार २, २०७८ बुधबार ११:४०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै– नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १० बजेर ५० मिनेट जाँदा १० दशमलव ४६ मिटर पुगेको हो । त्यस समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो ।

नारायणी बेसिन कार्यालय भरतपुका हाइड्रोलोजिस्ट रामविकेश रायले कार्यालयले सन् १९६२ फेब्रुअरी १० देखि जलस्तर मापन शुरु गरेको बताउनुभयो । उहाँका अनुसार सन् १९७४ अगष्ट ५ मा नारायणीको जलस्तर १० दशमलव एक मिटर र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो । त्यही १० दशमलव एक मिटरलाई विगतमा उच्च विन्दु मानिँदै आएको थियो । त्यस विन्दुको रेकर्ड गए राति तोडिएको उहाँले जानकारी दिनुभयो ।

रायले भन्नुभयो, “सन् १९६२ यताकै सबैभन्दा बढी गए राति मापन गरिएको छ ।” यसबीचको अवधिमा सन् २०१८ को बर्सातमा १४ हजार घनमिटर प्रतिसेकेण्ड बहाव र तह नौ दशमलव छ मिटर रहेको उहाँले जानकारी दिनुभयो ।

सन् १९६३ देखि अहिलेसम्मको तथ्याङ्कलाई हेर्दा नारायणीको शिरतर्फका क्षेत्रमा सबैभन्दा बढी पानी यस वर्ष परेको देखिन्छ । सन् २०१३ मा १३ हजार घनमिटर प्रतिसेकेण्ड नारायणीको बहाव मापन भएको थियो । नारायणी नदीको खतराको तह आठ मिटर र बहाव नौ हजार ९९२ घनमिटर प्रतिसेकेण्ड रहेको छ । यसको चेतावनी तह सात दशमलव तीन मिटर र आठ हजार चार सय ६० घनमिटर प्रतिसेकेण्ड रहेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया