राप्ती नदीमा फसेका चार जनाको झण्डै १२ घण्टापछि सकुशल उद्धार

 असार २, २०७८ बुधबार १२:२६:३५ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङ देउखुरीको राप्ती नदीमा आएको बाढीका कारण वेला घाटमा फसेका चार जनाको सकुशल उद्धार गरिएको छ ।

नेपाली सेना, नेपाल सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा वेला घाटमा फसेकाहरुको सकुशल उद्धार गरिएको हो । लमही नगरपालिका-७ हस्नापुर ४८ निवासी मन्साराम चौधरी, राजपुर गाउँपालिका-२ का ४५ वर्षीया सावित्रा, त्यही ठाउँ निवासी २६ वर्षीय राधे यादव, राजपुर गाउँपालिका-३ प्रतापपुर निवासी  २६  वर्षीय गणेश यादवको झण्डै १२ घण्टापछि सकुशल उद्धार गरिएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी नीरिक्षक राजीव श्रेष्ठले जानकारी दिनुभयो ।

'भैंसी चराउन गएको बेलामा राप्तीमा भेल बढ्यो । त्यसपछि उनिहरु फर्कन सकेनन । त्यसपछि उद्धारको प्रयास सुरु भयो' प्रहरी निरीक्षक श्रेष्ठले भन्नुभयो, 'राति १ बजे सम्मको प्रयास सफल हुन सकेन । त्यसपछि बिहान उद्धार थालियो ।'

यस्तै तीन परिवारका १७ ओटा भैंसी टापुमा रहेका छन् । श्यामलाल चौधरीले भन्नुभयाे, 'बाढी कम भयो भने भैंसी ल्याउन जानुपर्छ, सधैं त्यहीँ चराउन जानुपर्छ, यसपालि बाढीले दु:ख दियो ।'

अन्तिम अपडेट: बैशाख १३, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया