सेनाको हेलिकप्टर मनाङमा, बाढीकाे जोखिममा रहेकाहरूको उद्धार गरिँदै

 असार ३, २०७८ बिहीबार १६:११:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – बाढीबाट प्रभावित मनाङमा पुगेको सेनाको हेलिकोप्टरले जोखिममा रहेकाहरूको उद्धार गर्न थालेको छ । बिहीवार बिहान काठमाण्डौदेखि गएको एउटा हेलिकप्टरमार्फत उद्धार थालिएकाे मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।

बिहान ताल गाउँका २४ जनाको उद्धार गरिएको छ । बाढी आएपछि ढिस्कोमा बस्दै आएका उनीहरूको उद्धार गरिएको हो । उनीहरूलाई अहिले सुरक्षित ठाउँमा ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले बताउनुभयो ।

सेनाकाे हेलिकप्टरमार्फत अन्य जोखिमयुक्त ठाउँका मानिसलाई पनि उद्धार गर्ने काम भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चालिसेले बताउनुभयो ।

बाढीका कारण मनाङको ताल गाउँ, चामे लगायतका ठाउँका झन्डै ६ सय जना विस्थापित भएका छन् । मङ्गलवार (अस्ति) आएको बाढीले तिमाङ खोलाको बेलिब्रिज, मनाङको नयाँ बजारमा रहेको घट्टेखोलाको काठेपुल बगाएको छ भने पक्की पुलमा पनि नोक्सानी गरेको छ ।

बाढीले तिमाङ खोलामै रहेको ३२ किलोवाटको स्याल्क्यु खोला लघु जलविद्युत् गृहमा पनि नोक्सानी गरेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो । 

आजै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेलसहितकाे टोली पनि मनाङ जाने भएको छ । गृह मन्त्रालयको समन्वयमा हेलिकप्टर व्यवस्थापन गरी राहत सामग्रीसहित मनाङ जान लागिएको हो । 

अन्तिम अपडेट: असार ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया