अब थपिने निषेधाज्ञा अहिलेको भन्दा खुकुलो, कस्तो हुन्छ 'स्मार्ट लकडाउन' ?

 असार ६, २०७८ आइतबार ७:५३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मङ्गलवारदेखि निषेधाज्ञा खुकुलो बनाउँदै आर्थिक क्षेत्र चलायमान गराउने सरकारको तयारी छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकले आर्थिक क्षेत्र चलायमान बनाएर कोरोना सङ्क्रमण घटाउने रणनीति बनाएपछि जिल्ला प्रशासन कार्यालयहरुले यसैअनुसारको तयारी गरेका छन् ।

‘अबको निषेधाज्ञा वैज्ञानिक, व्यावहारिक र व्यवस्थित खालको हुन्छ’ ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले उज्यालोसँग भन्नुभयो, ‘अब निषेधाज्ञा थपिँदा अहिलेको भन्दा खुकुलो बनाउने सोच छ । नागरिकले मेरै लागि हो भनेर अपनत्व महसुस गर्ने गरी जनस्वास्थ्यका मापदण्ड पनि पालना गर्ने र आफ्नो दैनिक काम गर्न सक्ने गरी निषेधाज्ञाका प्रावधान राख्न सकिन्छ ।’

अब ‘स्मार्ट लकडाउन’ हुने भनेर भनिए पनि यसबारे थाहा नभएको उहाँले बताउनुभयो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले पनि ‘स्मार्ट लकडाउन’बारे जानकारी नआएको तर अबको निषेधाज्ञा अहिलेको भन्दा केही खुकुलो हुने जानकारी दिनुभयो । 

सङ्क्रमण फैलिएको क्षेत्रलाई लक्षित गरी पीसीआर परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, उपचार कार्य र स्वास्थ्य मापदण्ड प्रभावकारी बनाउने प्रावधानलाई ‘स्मार्ट लकडाउन’ भन्ने बुझिए पनि सीसीएमसीमा छलफल भएको यो विषयबारे सरकारी निकायहरु नै बेखबर छन् । तर पनि अब थपिने निषेधाज्ञामा आर्थिक गतिविधिलाई बिस्तारै सञ्चालन गर्न दिने र जनजीवन सहज बनाउँदै लैजाने तयारी छ । तर स्वास्थ्य मापदण्डको पालनामा भने कडाइ गरिने छ ।

सीसीएमसी प्रमुख बालानन्द शर्माका अनुसार ‘स्मार्ट लकडाउन’ कस्तो हुने भनेर छलफल भइरहेको छ । तर सबैजसो आर्थिक क्षेत्र चलायमान हुने उहाँले बताउनुभयो । लकडाउन, लुज लकडाउन, निषेधाज्ञा, खुकुलो पारिएको निषेधाज्ञा भनेजस्तै ‘स्मार्ट लकडाउन’ पनि एउटा मोडालिटी हो । झण्डै दुई महिना लामो निषेधाज्ञाले गरिखाने वर्ग र अर्थतन्त्रमा समेत ठूलो असर पारेकाले अहिले भइरहेको निषेधाज्ञाको मोडालिटी परिमार्जन गरी लागू गर्न लागिएको उहाँको भनाई छ ।

उदाहरणका लागि अहिले अत्यावश्यकबाहेक अरु सबैजसो क्षेत्र बन्द छन् । तर अब सबैजसो क्षेत्र खुल्नेछन् । तर ती क्षेत्रलाई दिन तोकेर वा बार अनुसार वा समय तोकेर खुलाइनेछ । जस्तै सरकारी कार्यालय हप्तामा तीन दिन खुलाउन सकिन्छ । आइतवार कार्यालय खुले अर्को दिन बिदा हुनेछ । त्यस्तै गाडीहरु एकै पटक सबै चल्ने छैनन् । थोरैथोरै सङ्ख्याका आधारमा चलाउँदै लैजानेबारे छलफल भइरहेको छ । एकैपटक जोर बिजोरमा जाँदा भएकामध्ये आधाजसो गाडी गुड्ने भएकाले अब सङ्ख्याका आधारमा खुलाउने तयारी छ ।

अहिले बिहान ११ बजेसम्म फलफूल तथा खाद्यान्न पसल खुलेका छन् । यसलाई ९ बजेसम्म या ११ बजेसम्म नै निरन्तर खुलाउने र ११ बजेपछि अरु पसलहरु खुलाइने तयारी छ । निषेधाज्ञाको अवस्थालाई मूल्याङ्कन गरी त्यसपछि अहिले ठप्प रहेका केही क्षेत्रहरु खुला हुनेछन् । ती खुल्ने क्षेत्रको पहिचान र कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर छलफलकै क्रममा छ ।

हाेमडेलिभरी तथा अनलाइन सपिङलाई प्राथमिकतामा राखिएको छ । जुनसुकै क्षेत्र खुले पनि स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने सर्त कायम रहनेछ । अहिले सबैले पालना गर्दै आएको मास्क लगाउने, भीडभाड नगर्ने तथा दूरी कायम गर्ने, स्यानिटाइजर प्रयोग गर्ने जस्ता न्यूनतम जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । कोरोना सङ्क्रमण जोखिमका कारण अघिल्लो वर्ष झण्डै चार महिना लामो लकडाउन भएको थियो । त्यसपछि लकडाउनको मोडालिटी परिवर्तन गर्दै सङ्क्रमण न्यूनीकरणको प्रयास हुँदै आएको थियो ।

काठमाण्डौ उपत्यकाका तीन जिल्लासहित विभिन्न जिल्लामा पछिल्लो पटक थपिएको निषेधाज्ञा सोमवारदेखि सकिँदैछ । पछिल्लो पटक थपिएको निषेधाज्ञामा किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्यासका पसल बिहान समय तोकेर खोल्न यसअघि दिइएको छ । यसै गरी गाडी मर्मतका लागि वर्कसपहरु स्वास्थ्यका मापदण्ड अपनाएर खोल्न दिइएको छ । निजी तथा सार्वजनिक निर्माणको  क्षेत्रमा काम गर्न यसअघि नै खुला गरिएको थियो । 

वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञाको दुई महिना बितेको छ ।  जिल्ला प्रशासन कार्यालयहरुले पछिल्लो हप्तामा चरणबद्धरुपमा निषेधका क्षेत्रहरुलाई घटाउँदै ल्याएका छन्। यस अवधिमा सङ्क्रमण दर घटे पनि जोखिम कायमै रहेको स्वास्थ्य विज्ञहरूको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

3 Comments

  • Manoj neupane

    June 20, 2021, 10:38 a.m.

    यसरी समय तोकेर लक्डाउन खुलाउनु हुदैन / यसो गर्दा तोकिएको समय भित्र सेवा लिने मानिसको भिडभाड हुन्छ र संक्रमण झन् फैलिन्छ | बरु पसल हरु 24 सै घण्टा खुलाएर भिडभाड काम गर्नु पर्छ / तर यहाका ठुला बडा मानिसले यो कुरा बुझ्दैनन् के गर्नु हरे ....

  •  0 Reply
  • प्रशंसा गौतम

    June 20, 2021, 9:54 a.m.

    What about educational sectors ? School/college will be open or not?

  •  1 Reply
  • Jivan Shrestha

    June 20, 2021, 9:53 a.m.

    लकडाउन खुकुलो पार्नु भनेको त ठिक हो तर अलिकति चित्त नबुझेको कुरा ! नेपाल सरकार ले कर उठाउन मात्र अहिले लकडाउन खुकुलो पारेको होकी भन्ने म मात्र होईन सारा नेपाली जनताको मनमा छ । यस्ताे विपतको परिस्थितिमा सरकारले नेपाली जनताको मर्म र पीडा बुझोस् भन्ने भनाई छ । सारा नेपाली जनता भोक मेटाउन लाई पनि हम्मे हम्मे परेको बेला सरकारलाई कसरी कर तिर्न सक्छ ?? सरकारले नेपाली जनता को गाँस बाँस को जिम्मा लिए त वर्ष भरी लकडाउन गर्दा पनि हामी जनतालाई फरक नपर्ला कि भन्ने मेरो भनाई रहेको छ । केही गलत बोलेको भए क्षमा चाहन्छु।।

  •  1 Reply

तपाईको प्रतिक्रिया