आगलागीबाट ध्वस्त भएकाे ताप्लेजुङकाे दाेभान बजारमा पुनर्निर्माणसँगै चहलपहल बढ्न थाल्याे

 असार ६, २०७८ आइतबार २०:१०:१३ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – आगलागीबाट ध्वस्त भएको ताप्लेजुङको दोभान बजारमा पुनर्निर्माणसँगै चहलपहल बढ्न थालेको छ । गएको फागुन १८ गते भएको आगलागीमा ५० घर जलेर नष्ट भएको बजार क्षेत्रमा घरको पुनर्निर्माण तथा पसल व्यवसाय सुरु हुन थालेसँगै चहलपहल पनि बढ्न थालेको हो । अहिले दुई दर्जन घरको पुनर्निर्माण भइसकेका छन् । अरु घर बन्ने क्रममा छन् ।  

आगलागीमा क्षति बेहोर्नु भएका जयप्रसाद भट्टराईले अहिले घर बनाइसक्नु भएको छ । उहाँले पसल पनि सञ्चालनमा ल्याउनु भएको छ । यस्तै दोभान बजारका व्यापारी गुरु पौडेलले पनि व्यापार सुरु गर्नुभएको छ । 

आगलागी भएको दोभान बजारमा नयाँ संरचना निर्माण गर्नका लागि मेरिङदेन गाउँपालिकाले पुनर्निर्माण मापदण्ड बनाए संरचना निर्माण गर्न अनुमति दिएको छ । नयाँ संरचना निर्माणमा पिलर सहित इँटा तथा ढुङ्गा प्रयोग गरेर अनिवार्य पक्की घर निर्माण गर्नुपर्ने गाउँपालिकाले मापदण्ड बनाएको छ ।  

मेरिङदेन गाउँपालिका वडा नम्बर ३ मा पर्ने दोभान बजार पुरानो व्यापारिक केन्द्र र ऐतिहासिक स्थल पनि हो । दोभान बजार आठराई त्रिवेणी, मैवाखोला, मेरिङ्देन र मिक्वाखोला गरी चार वटा पालिकाको व्यापारिक केन्द्र पनि हो । ग्रामीण क्षेत्रमा उत्पादन हुने अलैँची, अम्रिसो, अदुवा लगायत निकासी हुने सबै वस्तु दोभान बजारमै केन्द्रित गरेर बाहिर निर्यात गर्ने गरिन्छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया