अर्घाखाँचीकाे छत्रदेव गाउँपालिकाले 'लिफ्टिङ' खानेपानीकाे ३३ प्रतिशत महसुल तिरिदिने

 असार ७, २०७८ सोमबार १३:५१:५० | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले कृषि र खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर आउँदाे वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नीति तथा कार्यक्रममा लिफ्टिङ खानेपानीकाे ३३ प्रतिशत विद्युत् महसुल गाउँपालिकाले तिरिदिने भएको छ ।

खानेपानीको समस्या रहेका पालिकामा खानेपानी आपूर्तिमा सञ्चालन हुने लिफ्टिङ खानेपानी आयोजना महँगो पर्ने भएपछि ३३ प्रतिशत विद्युत् महसुल पालिकाले तिर्ने गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताउनुभयो । गाउँपालिकाले 'एक घर एक धारा' अभियानलाई निरन्तरता दिँदै खानेपानीलाई प्राथमिकतामा राखेकाे हाे । 

यस्तै किसानलाई कृषि औजारमा पालिकाले अनुदान दिने भएको छ । 'कृषकको सम्मान, कृषि उत्पादनमा अनुदान' भन्ने मान्यताका साथ गाउँपालिकाले उत्पादनमा आधारित अनुदान दिने भएको छ । ‘खनौँ आफ्नै माटो, छोडौँ विदेशकाे माटो’  भन्ने नाराका साथ कृषिमा स्वरोजगार सिर्जना हुने कार्यक्रम पालिकाले ल्याएको छ ।

बाँदर, बँदेललाई नियन्त्रण गर्ने उद्देश्यले जङ्गलमा फलफूल खेती गर्ने र सामुदायिक वनमा बहुमूल्य जडीबुटी लगाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको अध्यक्ष पोख्रेलको भनाइ छ ।

यस्तै गाउँपालिकाले स्थानीयस्तरमा आय आर्जनको भर पर्दो स्रोत भएमा मात्र बसाइँसराइ कम हुन्छ भन्ने अनुभवबाट श्रमजीविहरूको सुरक्षा, रोजगारी सिर्जना, उद्यमशीलता विकास र आय आर्जनमा जोड दिने भएको छ ।

स्वास्थ्य स्वयंसेविकाकाे निःशुल्क स्वास्थ्य बीमा गरिने, 'बालबालिकालाई विद्यालय पठाऊ, सिकाऊ र टिकाऊ' अभियान चलाउने गाउँपालिकाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया