नेपालमै पहिलो पटक प्राकृतिक चिकित्सा तथा योग विज्ञानको पाठ्यक्रम तयार

 असार ९, २०७८ बुधबार ९:२५:३२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – नेपाल संस्कृत विश्वविद्यालयले नेपालमै पहिलो पटक प्राकृतिक चिकित्सा तथा योग विज्ञानको पाठ्यक्रम तयार पारेको छ । स्नातक तहको प्राकृतिक चिकित्सा तथा योग विज्ञानको पाठ्यक्रम तयार पारी विषयगत समितिमा पठाइएको विश्वविद्यालयले जनाएको छ ।

विषयगत समितिबाट स्वीकृत गरि पाठ्यक्रम चिकित्सा सेवा आयोगमा पठाइने र आयोगले स्वीकृति दिए लगत्तै पठनपाठन शुरु गरिने विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादवप्रकाश लामिछानेले जानकारी दिनुभयो । उपकुलपति लामिछानेका अनुसार आयुर्वेद स्नातक तहसमेत अध्ययन गराइरहेको विश्वविद्यालयका लागि प्राकृतिक चिकित्सा तथा योग विज्ञान अध्यापनका लागि जनशक्ति व्यवस्थापनमा समस्या हुने छैन ।

विश्वविद्यालयले पाठ्यक्रम अध्यापनका लागि भौतिक पूर्वाधार निर्माणको काम अघि बढाएको छ । विश्वविद्यालयका कुलसचिव सहप्राध्यापक माधव अधिकारीका अनुसार दश करोडको लागतमा बेलझुण्डीमा भवन निर्माण गरिने छ । आयुर्वेद अध्ययन संस्थान अन्तर्गत नै कक्षा सञ्चालन गरिनेछ । विश्वविद्यालयले वैदिक कृषि र वास्तु इन्जिनियरिङको पाठ्यक्रम तयार पार्न थालेको छ ।

विश्वविद्यालयका तत्कालीन उपकुलपति शिवहरी मरहठ्ठा को कार्यकालमा तयार पारिएको वैदिक कृषि पाठ्यक्रमलाई विस्तृत रुप दिई तयार पार्न थालिएको हो । विश्वविद्यालयका कुलसचिव सहप्राध्यापक माधव अधिकारीका अनुसार वैदिक कृषि पाठ्यक्रम तयार पारी आगामी वर्षदेखि नै कार्यान्वयनमा ल्याइने भएको छ । पठनपाठनका लागि तत्काल बिजौरीमा रहेको भौतिक पूर्वाधार प्रयोग गर्ने र बेलझुण्डीमा भौतिक पूर्वाधार निर्माणको कामलाई अघि बढाइने अधिकारीले जानकारी दिनुभयो ।

त्यसैगरी वास्तु इन्जिनियरिङको पाठ्यक्रम नास्टका पूर्व उपकुलपति जीवराज पोखरेलको संयोजकत्वमा तयार पार्न थालिएको छ । वैदिक कृषि र वास्तु इन्जिनियरिङको पाठ्यक्रम तयार पारी आउँदो विश्वविद्यालयको प्राज्ञिक परिषद्बाट स्वीकृत गरी कार्यान्वयनमा ल्याइनेछ ।

त्यसैगरी संस्कृततर्फ शास्त्री तहको चार वर्षे पाठ्यक्रम तयार पार्न शुरु गरिएको छ । शास्त्री प्रथम तहको कार्यान्वयनमा आएको छ भने अन्य तहको पाठ्यक्रम तयार भइरहेको कुलसचिव अधिकारीले जानकारी दिनुभयो । विश्वविद्यालयले निषेधाज्ञाका कारण प्राध्यापकहरु बीच भर्चुअल विधिबाटै छलफल गरि पाठ्यक्रम तयार पारिरहेको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

1 Comments

  • इन्दिरा प्रसाई

    June 23, 2021, 10:06 a.m.

    अत्यन्त सह्राहनीय कार्य सम्पादन गरिन लागेको समाचारले धेरै खुसी लागेको छ । संस्कृत विश्वविद्यालयलाई धन्यवाद र चाँढै कार्यान्वयनका लागि मङ्गलमय शुभकामना ।

  •  0 Reply

तपाईको प्रतिक्रिया