अब केही दिन खण्डवृष्टि हुने, मनसुन केही कमजोर

 असार ११, २०७८ शुक्रबार ८:२५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  – काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ । अहिले वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।

पानी परेका ठाउँहरुमा शीतल भएको छ । हिजो अस्ति पानी नपर्दा काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा गर्मी बढेको थियो । मौसमविद्का अनुसार काठमाण्डौ उपत्यकामा अहिले पानी परे पनि फेरि रोकिएर मौसम खुल्ने सम्भावना छ । मनसुन केही कमजोर भएकाले अबको केही दिन लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद् पोखरेलले बताउनुभयो । कुनै मौसमी प्रणाली नभित्रिएसम्म नेपालमा अबको तीन चार दिन लगातार झरी नपर्ने उहाँले बताउनुभयो ।

अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम र कर्णाली प्रदेशमा केही दिन पानी कम पर्ने अनुमान छ । तर, मनसुन कमजोर भए पनि बर्खाको समय भएकाले खण्डवृष्टि हुने मौसमविद्ले बताएका छन् । खण्डवृष्टिमा कुनै एक ठाउँमा पानी नपरे पनि त्यो नजिकै भने पानी पर्ने हुन्छ । यस्तो बेला एकै पटक ठूलो पानी धर्कने र रोकिने सम्भावना पनि हुन्छ । यसले गर्दा पहिरोको जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया