विदेशीकाे पहिलाे आँखा अध्यागमनमै पर्छ, यसकाे सुधार गर्नुपर्छ : मन्त्री पाैडेल

 असार १४, २०७८ सोमबार १७:८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गृह मन्त्री विष्णुप्रसाद पौडेलले नेपालको अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने बताउनुभएको छ । सोमवार अध्यागमन विभागले गरेको प्रणाली सिर्जित क्यू.आर. कोडसहित छपाइ गरिएको भिसाको शुभारम्भ कार्यक्रममा बोल्दै गृह मन्त्री पौडेलले नेपालको अध्यागमनलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले विदेशीको पहिलो आँखा अध्यागमनमै पर्ने उल्लेख गर्दै अध्यागमनको सुधार गर्नुपर्नेमा जोड दिनुभयो । 

अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका निम्ति कामको योजना बनाएर अघि बढ्नुपर्ने पनि उहाँले बताउनुभयो । मन्त्री पाैडेलले भन्नुभयो, ‘नेपाललाई विदेशीले चिन्ने पहिलो दृश्य अध्यागमन हो । एअरपोर्ट हो । हामीले यो भिसा प्रणालीमा त एक प्रकारको सुधार गरेका छौँ र अरू थप सुधार गर्दै जान्छौँ । साथै समग्र अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने आवश्यकता छ । हामीले गर्नुपर्ने कामका बारेमा योजना निर्माण गर्दै जाऔँ ।’

मन्त्री पौडेलले अध्यागमन प्रणालीलाई प्रभावकारी बनाउनका र यसको प्रतिष्ठालाई माथि उठाउनका निम्ति प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशनसमेत दिनुभयो । 

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले क्यू.आर. कोडसहितको नेपाली कोडबाट विदेशी नागरिकले विश्वको जुनसुकै ठाउँबाट पनि भिसाकाे लागि आवेदन दिन सक्ने बताउनुभयो । उहाँले विदेशी नागरिकले विवरण नेपाली पोर्टमा राखिसकेपछि भिसामा चाहिने विवरण कन्भर्ट भएर भिसा स्टिकर छपाइ हुने र नयाँ भिसा स्टिकरमा प्रयोग भएको क्यू.आर. कोडले यात्रा गर्ने मानिसको गोप्य सूचना स्टोर गर्ने भएको हुनाले विश्वसनीय, भरपर्दो र अन्तर्राष्ट्रियस्तरमा तुलनायोग्य रहेको बताउनुभयो । 

महानिर्देशक भट्टराईले भन्नुभयो, ‘हामीले जारी गरेको नयाँ भिसा स्टिकर सानो छ र यसले नेपाली विशेषता बोकेको छ । एउटा पासपोर्टको पेजमा तीन पटकसम्म भिसा लगाउने भनेको तीन वटा भिसा स्टिकर टाँस्न सकिने साइजमा निर्धारण गरिएको हुनाले यो मितव्ययी पनि छ । विद्युतीय भिसा लागू गर्नका लागि तयारी पूरा गरेका छौँ । अध्यागमन विभागले प्रयोग गरेको नेपाली पोर्टल नामक सूचना प्रणालीलाई त्योअनुसार स्तरोन्नति गरिएको छ ।’

अध्यागमन विभागको यो सेवाबाट पर्यटकले नेपालमा सहज रूपमा भिसा प्राप्त गर्न सक्ने र पर्यटन क्षेत्रको समेत विकास हुने महानिर्देशक भट्टराईले बताउनुभयो ।  

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया