संवैधानिक आयोगमा २० पदाधिकारीकाे नियुक्तिविरुद्ध सर्वोच्चमा पूरक रिट निवेदन दर्ता

 असार १६, २०७८ बुधबार १८:८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विभिन्न संवैधानिक आयोगमा २० पदाधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा पूरक रिट निवेदन दर्ता भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गएको असार १० गते नियुक्त गर्नुभएकाे संवैधानिक निकायमा पदाधिकारीको नियुक्ति बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पूरक रिट निवेदन दर्ता गर्नुभएको हो ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र विभिन्न संवैधानिक आयोगमा संवैधानिक परिषद्ले गरेको सिफारिसविरुद्धका मुद्दा विचाराधीन रहेको अवस्था नियुक्ति गरिएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पेस गरेको रिट निवेदनमा भनिएको छ ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध रिट दर्ता भए पनि सुनुवाइ नभएको, त्यसपछि संवैधानिक परिषद्ले अध्यादेशको व्यवस्था बमोजिम गरिएको सिफारिसविरुद्ध पनि रिट लिएकोमा विचाराधीन रहेको र यसैबीचमा नियुक्तिसमेत गरिएको भन्दै त्यसको खारेजीको माग गरेर पूरक रिट निवेदन दायर गरेको वरिष्ठ अधिवक्ता त्रिपाठीको भनाइ छ ।

यसअघि पनि वरिष्ठ अधिवक्ता त्रिपाठीले अध्यादेश र सिफारिसविरुद्ध रिट निवेदन दायर गर्नुभएको थियो । तर त्यस रिटमाथि अहिलेसम्म सुनुवाइ हुन सकेको थिएन । संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति पहिला संसदीय सुनुवाइ हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ तर प्रतिनिधि सभा विघटन गरिएकाले संसदीय सुनुवाइ हुन सकेको थिएन ।

यसअघि राष्ट्रपतिले गएको माघ २१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक आयोगमा पदाधिकारीका नियुक्त गर्नुभएको थियो । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको व्यवस्था बमोजिम बसेको संवैधानिक परिषद्को बैठकले गरेको सिफारिस संविधानको व्यवस्था प्रतिकूल भन्दै सभामुख अग्निप्रसाद सापकोटा, वरिष्ठ अधिवक्ता त्रिपाठी लगायतले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अहिलेसम्म सुनुवाइ गरेको छैन ।

रिट निवेदनमाथि सुनुवाइ नभएपछि आज वरिष्ठ अधिवक्ता त्रिपाठीले पूरक रिट निवेदन दर्ता गर्नुभएको हो । रिट निवेदनमा उहाँले रिटको अन्तिम टुङ्गो नलागेसम्म उनीहरूलाई आयोगको सदस्य तथा पदाधिकारीको हैसियतले कुनै काम नगराउनू भनि अन्तरिम आदेश दिनसमेत माग गर्नुभएको छ । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया