विपक्षी गठबन्धनका विद्यार्थी सङ्गठनकाे अन्तरक्रिया : ‘सर्वाेच्च अदालतले संविधानलाई पुनर्जीवन दिन्छ’

 असार २०, २०७८ आइतबार २०:२९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले संविधानलाई पुनर्जीवन दिने बताउनुभएको छ । आइतवार विपक्षी गठबन्धनका विद्यार्थी सङ्गठनले रत्न राज्यलक्ष्मी क्याम्पसमा आयोजना गरेको संसद् विघटन, अधिनायकवाद र विद्यार्थी आन्दोलन विषयक अन्तरक्रियामा बोल्दै कांग्रेस प्रवक्ता शर्माले सर्वोच्च अदालतले संविधानलाई पुनर्जीवन दिने कुराको अपेक्षा गर्नुपर्ने बताउनुभएको हो । 

उहाँले अदालतले फैसला गर्दा त्यसले समाजलाई पार्ने दूरगामी प्रभावलाई समेत केन्द्रमा राख्ने गरेको भन्दै संविधानको पुनर्जीवन दिने कर्तव्य न्यायाधीशहरूको हातमा रहेको बताउनुभयो । प्रवक्ता शर्माले काेराेना महामारीबाट नागरिकको जीवन रक्षा गर्ने जिम्मेवारी सरकारको रहेको पनि बताउनुभयो । नागरिकको जीवनलाई रक्षा नगर्ने हो भने त्यो लोकतन्त्र हुन नसक्ने प्रवक्ता शर्माले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘न्यायको फैसला गरिँदै गर्दा संविधानको चिसा अक्षरहरूलाई मात्रै होइन, त्यसले समाजलाई पार्ने दूरगामी प्रभावलाई पनि केन्द्रमा राखिन्छ । त्यो राख्ने कर्तव्य अहिले पनि सम्मानित संवैधानिक इजलासका सम्मानित इजलासका सम्मानित न्यायमूर्तिहरूको छ । त्यसैले हामीले अपेक्षा गर्ने भनेको यो बेलामा न्यायमूर्तिहरूबाट देशको संविधानको पुनर्जीवनको अपेक्षा गर्ने हो । संविधानको संरक्षकबाट संविधानको रक्षा, महामारीबाट जनताको रक्षा । महामारीबाट रक्षा अदालतले गर्दैन । राज्य, सरकारले नै गर्छ । तर सरकारले गरिरहँदै गर्दा त्यो सरकारले गर्छ, जुन सरकारको प्रधान विषय राजनीतिक मुद्दाभन्दा पर नागरिकको जीवनको रक्षा गर्ने हुन्छ । नागरिकको जीवनलाई रक्षामा नराखेर कसैले यदि अन्य सबै तमाम कुरालाई केन्द्रमा राख्यो भने त्यो लाेकतन्त्र हुँदैन ।’

प्रवक्ता शर्माले लोकतान्त्रिक संस्कृति विद्यार्थी आन्दोलनको साझा मुद्दा बन्नुपर्ने पनि बताउनुभयो । उहाँले विद्यार्थी आन्दोलनले समानता र सामाजिक रूपान्तरणको मुद्दामा केन्द्रित हुनुपर्ने आवश्यकता रहेको पनि औँल्याउनुभयो । 

नेकपा माओवादी केन्द्रका नेता हिमाल शर्माले प्रतिनिधि सभा विघटन गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली विदेशी शक्तिको मतियार बनेको आरोप लगाउनुभयो । नेपालको संविधान मन नपरेको शक्तिलाई संविधान च्यात्नुपर्ने र त्यसको गोटीका रूपमा प्रधानमन्त्री ओली प्रयोग भएको उहाँको जिकिर छ । उहाँले यस प्रकारको प्रवृत्तिसँगको लडाइँलाई अझै पेचिलो बनाउनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘संविधान पनि मन परेको थिएन । चुच्चे नक्सा पनि मन परेको थिएन त्यो शक्ति केन्द्रलाई । त्यो कारणले गर्दाखेरी पनि संविधानलाई पनि च्यात्नु छ, संसद् पनि विघटन गर्नुछ । यो शक्तिको गोटीमा केपी ओली आफ्नो नेतृत्व भएर आगाडि आउनुभएको छ, एउटा मतियारको रूपमा अगाडि आउनुभएको छ । त्यो प्रवृत्तिविरुद्धको लडाइँ हो भनेर हामीले बुझ्नु पर्दछ । कुनै व्यक्तिका विरुद्ध होइन यो । प्रवृत्तिको विरुद्ध हो । तपाईँहरूले यो लडाइँलाई अझ पेचिलो बनाउँदै लिएर जानु पर्दछ ।’

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले आउँदा दिनमा राष्ट्रपति र प्रधानमन्त्री बनाउँदा एक अर्काको शक्ति सन्तुलनको हिसाबले पनि विचार गरिनुपर्ने बताउनुभयो । अहिले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोले गर्दा संविधान च्यातिएको र लाखौँको सपनामा तुषारपात भएको भन्दै राज्यका निकायबीचको जस्तै राष्ट्रपति र प्रधानमन्त्रीमा पनि शक्ति पृथकीकरणको सिद्धान्तलाई विचार गरिनुपर्ने उहाँले बताउनुभयो । वर्तमान राष्ट्रपतिले गणतन्त्रको गरिमा र मर्यादालाई कायम राख्न नसकेको नेतृ झाँक्रीले टिप्पणी गर्नुभयो । 

नेतृ झाँक्रीले राजनीतिक दलहरूले विगतका सहमति र सम्झौता पालना नगर्ने गरेका भन्दै नेतृत्वमा इमानदारिता थिएन भन्ने कुराको साझा निष्कर्ष निकाल्नुपर्ने बताउनुभयो । आउँदा राजनीति छलछाम र दाउपेचमा नभइ हरेक कुरामा पारदर्शी र जवाफदेही हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया