धादिङमा सामी परियोजना प्रभावकारी, कार्यक्रमलाई निरन्तरता दिने

 असार २५, २०७८ शुक्रबार १२:१३:४४ | रामकुमार थापा
unn.prixa.net

धादिङ – नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङ्गानाले सुरक्षित आप्रवासन परियोजना सामी कार्यक्रम धादिङमा प्रभावकारी भएको बताउनुभएको छ ।

बिहीबार वर्ष भरी भएका गतिविधिका बारेमा पत्रकारहरूसँग गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर ढुङ्गानाले पालिकाको आफ्नै परियोजना भएको भन्दै धादिङमा सामीमार्फत भइरहेका गतिविधिहरू प्रभावकारी भएको बताउनुभएको हो । 

साथै, उहाँले परियोजना सञ्चालनका लागि केन्द्रबाट रकम आए पनि नआए पनि सुरक्षित वैदेशिक रोजगारीका लागि आउँदा दिनहरूमा पनि यो कार्यक्रमलाई नगरपालिकाले निरन्तरता दिने बताउनुभयो ।

नगरपालिकाले सामी परियोजनाले सञ्चालन गरेको गतिविधिहरूको विषयमा जानकारी गराउने उद्देश्यले पत्रकारसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । 

धादिङका पाँच वटा क्षेत्रमा वैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउनको लागि परियोजना सञ्चालन भइरहेको छ ।

आप्रवासी श्रोत केन्द्रबाट वैदेशिक रोजगारको विषयमा जानकारी गराउने, वैदेशिक रोजगारको सिलसिलामा ठगीमा परेकाहरूलाई न्यायमा पैरवी र सहजीकरण गर्ने, वैदेशिक रोजगारीमा जाने तयारीमा रहेकालाई निःशुल्क सीपको तालिमका लागि समन्वय गर्ने काम भइरहेको छ ।

परियोजना अन्तर्गत वैदेशिक रोजगारबाट भित्रिएको रेमिट्यान्सको सही प्रयोगको लागि वित्तीय साक्षरता कक्षा सञ्चालन र वैदेशिक रोजगारको कारण उत्पन्न मानसिक समस्यालाई कम गराउनको लागि निःशुल्क मनोपरामर्श सेवा सञ्चालन भइरहेको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

रामकुमार थापा

थापा धादिङको नीलकण्ठ नगरपालिकाकाे वरिष्ठ मनोविमर्शकर्ता हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया