'विप्लव' को भेटवार्ता : वामपन्थी एकता कि सहमति कार्यान्वयनको खोजी ?

 साउन ५, २०७८ मंगलबार १६:२४:१३ | रासस
unn.prixa.net

काठमाण्डाै – खुला राजनीतिमा आएपछि पनि झन्डै पाँच महिनासम्म ‘गुमनाम’ बन्नुभएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले पछिल्ला केही दिनयता राजनीतिक भेटघाटलाई तीव्र पार्नुभएको छ । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग तीन बुँदे सम्झौता गरेर भूमिगत राजनीति परित्याग गर्नुभएका चन्दको ओली सत्ताबाट बाहिरिएसँगै भइरहेको राजनीतिक भेटवार्तालाई चासोका साथ हेरिएको छ । 

पछिल्ला एक हप्ताभित्र चन्दले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका नेता डा बाबुराम भट्टराई, आफ्ना राजनीतिक गुरु एवं नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा र प्रभु साह, एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । 

राजनीतिक भेटवार्ता मूलतः सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच गएकाे फागुन २० गते भएको तीन बुँदे सहमति कार्यान्वयनको अवस्था र वर्तमान राजनीतिक परिस्थितिका बारेमा केन्द्रित रहेको प्रस्ट देखिएको छ । विशेषतः प्रचण्डसँगको भेटमा चन्दले ओली नेतृत्वको सरकारसँग भएका सहमति शेरबहादुर देउवा नेतृत्वको सरकारले कुन ढङ्गले ग्रहण गर्छ भन्ने विषयमा कुराकानी गर्नुभएको बुझिएको छ ।

नेकपाका नेता धर्मेन्द्र बाँस्तोला मुख्यतः दुई बुँदामा केन्द्रित रहेर राजनीतिक भेटवार्ता भएको बताउनुहुन्छ । सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन र वर्तमान राजनीतिक जटिलताको निकासका बारेमा महासचिव चन्दले छलफल गरेको उहाँले बताउनुभयो । 

‘भेटवार्ताका क्रममा हामीले तीन बुँदे सहमति कार्यान्वयनमा भइरहेको ढिलाइका बारेमा जिज्ञासा राख्यौँ, सहमतिको कार्यान्वयन गरौँ भन्ने विषयलाई जोड दियौँ’, उहाँले भन्नुभयो, ‘विभिन्न पार्टीका नेतासँग भएका भेटमा वर्तमान राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भए ।’

नेकपाले सरकारसँग प्रगतिशील संयुक्त सरकार, जनमत सङ्ग्रह र वैज्ञानिक समाजवाद निर्माणका लागि बहस र छलफल चलाउने तीन बुँदे सहमति गरेको थियो । त्यही सहमतिका आधारमा सरकारले नेकपाको गतिविधिमाथि लगाइएको प्रतिबन्ध हटाएको थियो । सरकारसँग भएको सहमतिअनुसार पक्राउ परेका कार्यकर्ता रिहा नभएको भन्दै नेकपाले सहमतिको कार्यान्वयनमा आशङ्का व्यक्त गर्दै आएको छ । 

‘अझै पनि नेकपाका कार्यकर्ता विभिन्न मुद्दामा कारागारमा थुनामा छन् । अझै एक सय २० भन्दा बढी हाम्रा कार्यकर्ता कारागारमा छन्’, नेता बाँस्तोलाले भन्नुभयो, ‘कार्यकर्ता रिहाइमा भएको ढिलाइ विषयमा पनि भेटमा छलफल भएको हो ।’

मोहन वैद्यसँगै तत्कालीन नेकपा एकीकृत माओवादी फुटाएर अलग्गै पार्टीमा लाग्नुभएका चन्दको वैद्यसँगको सहकार्य पनि लामो समय जान सकेन । वैद्यको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न हुन नसक्ने भन्दै उहाँले छुट्टै पार्टी बनाएर अगाडि बढ्नुभयो । ओली नेतृत्वको सरकारले चन्द नेतृत्वको नेकपाको गतिविधि गैरराजनीतिक प्रकृतिको भएको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो । 

वामपन्थी विश्लेषक श्याम श्रेष्ठ चन्दको भेटवार्ताको शृङ्खलालाई दुई कोणबाट हेर्नुपर्ने बताउनुहुन्छ । सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन र कार्यकर्ता रिहाइसँगै वामपन्थी एकताको सम्भावनाका विषयमा चन्दले छलफल गरेको हुन सक्ने उहाँको ठम्याइ छ । 

‘विप्लव खुला राजनीतिमा आएपछि अब उहाँको बाटो के त ?’, उहाँले भन्नुभयो, ‘डा. भट्टराई, माधव नेपाल, प्रचण्डसँगको भेटवार्तामा के वामपन्थी मिल्न सक्छन् भन्ने विषयमा छलफल भएको हुन सक्छ ।’ वामपन्थी एकताका लागि दाहाल, नेपाल र चन्दबीच कुराकानी भए पनि त्यसले मूर्त रूपमा पाउन कठिन देखिएको उहाँको भनाइ छ । ‘वैचारिक र सैद्धान्तिक छलफल गहिरोसँग गरेर, मिलन विन्दु पहिल्याएर, काम कारबाहीमा एकरूपता ल्याएर गरेको एकता टिकेको देखिन्छ, सैद्धान्तिक विषय नटुङ्गिकन भएका एकता टुटेका छन्’, श्रेष्ठले भन्नुभयो ।   

वामहरूको एकता तत्काल सम्भव नभए पनि गठबन्धन लामो समयसम्म टिक्न सक्ने उहाँको बुझाइ छ । विश्लेषक श्रेष्ठ माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र चन्द नेतृत्वको नेकपाबीचको ‘एलायन्स’ सम्भव देख्नु हुन्छ । ‘चन्द सशस्त्र सङ्घर्षको बाटोमा हुनुहुन्थ्यो, सशस्त्र सङ्घर्ष त्यागेपछि उहाँको बाटो के त अब ? त्यसो भएकाले यी तीन पक्षबीच गठबन्धन हुन सक्छ’, उहाँले भन्नुभयो, ‘तर पार्टी एकता हुन सक्दैन ।’  

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया