‘निषेधाज्ञाकाे समयमा चार्टर्ड उडानकाे भाडा बढी लिनेलाई कारबाही गर्नुपर्छ’

 साउन ५, २०७८ मंगलबार १९:४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गतकाे नागरिक उड्ड्यन, युरोपेली देश र इजरायल हेर्ने डेस्कले निषेधाज्ञाको समयमा चार्टर्ड उडानकाे भाडा बढी लिनेलाई कारबाही गर्नुपर्ने बताएको छ ।   

मङ्गलवार अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गकाे नागरिक उड्ड्यन, युरोपेली देश र इजरायल हेर्ने डेस्कले नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकसँग छलफल गर्दै निषेधाज्ञाको समयमा चार्टर्ड उडानमा आवश्यकताभन्दा बढी भाडा लिइ नागरिकलाई ठगिएको जनगुनासो आएकाले ठगीमा संलग्नको पहिचान गरी कारबाही गर्न अनुरोध गरिएको हो । 

छलफलबारे जानकारी दिँदै समिति सदस्य दिव्यमणि राजभण्डारीले नाजायज फाइदा उठाउनेलाई कारबाही गरिनुपर्ने भन्ने कुरा राखेको बताउनुभयो । उहाँले नेपालको एअरलाइन्सलाई युरोपमा अझै कालोसूचीमा राखिएको भन्दै कालोसूचीबाट हटाउनका निम्ति के–कसरी काम गर्दा सहयोग पुग्छ भन्ने विषयमा छलफल गरिएको पनि बताउनुभयो । 

समिति सदस्य राजभण्डारीले भन्नुभयो, ‘नाजायज फाइदा उठाएकालाई कारबाही होस् भन्ने हाम्रो भनाइ छ । यदि उहाँहरूले गल्ती गर्नुभएको छैन र कम्युनिकेशन ग्यापले गर्दा अप्ठ्यारो भएको हो भने उहाँहरूलाई इन्फरमेशन राम्रो जाओस् भन्ने धारणा राख्यौँ । नेपालको एअरलाइन्स युरोपले ब्ल्याकलिस्टिङ गरिरहेको छ । ब्ल्याकलिस्टिङबाट निकालेर पर्यटन, उद्योग र समग्र देशको विकासका निम्ति सहयोग पुर्‍याउन सकोस् भन्ने उद्देश्यले अगाडि बढाउनका निम्ति आजको मिटिङबाट प्रयास गर्‍याैँ ।’

उहाँले नेपाल वायु सेवा निगमसँग चिनियाँ जहाजको सञ्चालनमा देखिएको समस्याको सम्बन्धमा छलफल गरिएको पनि बताउनुभयो । साथै आन्दोलनरत कर्मचारीले किन आन्दोलन गरिरहनुपरेको छ भन्ने विषयमा पनि समिति सदस्यहरूले जानकारी लिएको उहाँले बताउनुभयो । 

छलफलका क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले चार्टर्ड उडानमा स्वाभाविक रूपमा भाडा बढी हुने भए पनि अनियमितता भने नभएको बताउनुभयो । एअरलाइन्सकाे पक्षबाट कुनै पनि अनियमितता नभएको उहाँको भनाइ छ ।

छलफलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपाल वायु सेवा निगमका प्रबन्ध निर्देशकसहित पाँच जना समिति सदस्यको उपस्थिति रहेको थियो ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया