काठमाण्डाैमा १८ वर्ष माथिकालाई पनि जोन्सन एन्ड जोन्सन खोप

 साउन ६, २०७८ बुधबार १६:२३:३१ | रासस
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसविरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाण्डाैमा १८ वर्षमाथिका सबैलाई लगाइएको छ । 

खोप अभियानमा काठमाण्डाैमा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले १८ वर्षमाथिका सबैलाई खोप लगाइएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाका निर्देशक डा. तारानाथ पोखरेलले जानकारी दिनुभयो । 

अहिले खोप लगाउनका लागि काठमाण्डाैका ४४ वटा खोप केन्द्रमा भिड रहेको छ । उहाँले खोप भोलि बिहीवारसम्म खोप केन्द्रमा गएर लगाउन सकिने बताउनुभयो । उहाँले जोन्सन एन्ड जोन्सन खोपबारे नकारात्मक हल्ला भएपछि मानिसहरूले कम लगाएको हुन सक्ने भन्दै खोपले कुनै नकारात्मक प्रभाव नपार्ने बताउनुभयो । 

प्रधानमन्त्री शेरबहादुर देउवाले यही साउन ४ गते खोप अभियानको शुभारम्भ गर्नुभएको थियो । भोलिसम्म लगाइने खोप सुरुमा ५० देखि ५४ वर्ष उमेर समूहका सबैलाई भनिएको थियो । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार आठ सय ५० मात्रा जोन्सन एन्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत यही असार २८ गते अनुदानमा उपलब्ध गराएको थियो ।

जोन्सन एन्ड जोन्सन खोप पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मी, यसअघिको अभियानमा खोप लगाउन छुट भएकालाई लगाइँदैछ । 

नेपालमा अहिलेसम्म ३१ लाख ५० हजार नाै सय ५६ जनाले पहिलो मात्रा र ११ लाख ५८ हजार एक सय ३० जनाले दोस्रो मात्रा खोप लगाइसकेका छन् ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया