कोरोनाका कारण मानसिक समस्या : यसरी पाउन सकिन्छ छुटकारा

 साउन ८, २०७८ शुक्रबार १८:५:३८ | रश्मिता तामाङ
unn.prixa.net

कोरोना महामारीले विश्वव्यापी रूपमै सबै उमेर समूहका व्यक्ति मानसिक रूपमा प्रभावित भएका छन् । त्यसमा पनि विद्यार्थी, शिक्षक, व्यवसायीलगायत कोरोना प्रभावित व्यक्तिका आफन्त र जो पहिलेदेखि नै शारीरिक, मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति, कोभिडका कारण जागिर गुमाउने व्यक्तिका आफन्तलाई बढी असर परेको छ ।

यो बेला मानसिकसँगै शारीरिक समस्या पनि भएको छ । निद्रा नलाग्ने, हातखुट्टा झमझम हुने, धेरैजसो समय कोरोनाकै बारेमा चिन्ता लिइरहने भइरहेकाे हुन्छ । कतै बाहिर गइहाल्यो, भीडभाडमा गयो भने पनि घाँटी चिलाएको जस्तो, टाउको दुखेजस्तो महसुस हुन्छ । यस्ताे महसुस गर्ने बित्तिकै मलाई त कोरोना भइहाल्यो कि भन्ने सोचाइ आउने, श्वास फेर्न गाह्रो भएको जस्तो हुने, घाँटीमा केही कुरा अड्केको जस्तो हुने गर्छ । त्योभन्दा बाहेक रिस उठ्ने, स–साना कुरामा ध्यान केन्द्रित गर्न नसक्ने, जोस/जाँगर हराउने समस्याले दैनिकीमा ठूलो प्रभाव पारेको देखिएको छ ।

कोरोना सङ्क्रमण नियन्त्रणका लागि पटक–पटक सरकारले लगाएको लकडाउन, निषेधाज्ञाका कारण  पहिले नै मानसिक समस्याको औषधि खाइरहेका थप समस्यामा परेका छन् । भनेको समयमा डाक्टरसँग भेट नहुने, औषधि सकिँदा जान समस्या हुने गरेको छ । तोकिएको समयमा जाँच गर्न नपाउँदा आफ्नो स्वास्थ्य अवस्था बिग्रने पो हो कि, मेरो अवस्था अझै जटिल हुने हो कि भन्ने लगायतका चिन्ता छ ।  

हिंसा प्रभावित महिला

अहिले हामीले सुनेका–देखेका जति पनि हिंसाका घटना छन्, तीमध्ये धेरै परिवार भित्रैबाट भएको हामीले देखेका छौँ । अहिले कोरोनाका कारण लकडाउन भयो, परिवारका सबै व्यक्ति एकै ठाउँमा भए । चाहेर पनि घरबाहिर निस्कन सक्ने अवस्था भएन । यस्तो बेला पीडक र पीडित एउटै छतमुनि बस्नुपर्दा हिंसा प्रभावित व्यक्तिले सामान्य अवस्थामा भन्दा यो बेला शारीरिक र मानसिक रूपमा बढी हिंसा सहनु परेको छ । जसका कारण डर, चिन्ता लाग्ने, स–साना कुरामा आत्तिने, कसै–कसैलाई डरको मात्रा बढेका कारण मुर्छा पर्ने लगायतका समस्या देखा पर्न सक्छन् । असुरक्षित महसुस भएका कारण नकारात्मक सोचाइ पनि आउने गर्छ । 

लकडाउनमा सामाजिक समस्या

लकडाउनको समयमा साथीभाइ, आफन्तको सहयोग पाउन नसक्दा पनि समस्या झन् बढ्याे । दुःख पर्दा आफन्त, साथीभाइको सहयोग पायो भने यो समस्यासँग जुध्न सक्ने हिम्मत जुट्छ । यो समयमा एकातिर  आफन्त गुमाउनुपरेको पीडा हुन्छ भने अर्कोतिर यस्ता बेला कसैले सहयोग नगर्दा झन् मानसिक समस्या उत्पन्न हुन्छ । भौतिक दुरी राख्ने तर भावनात्मक दुरी नराखेर सहयोग गर्न सकिन्छ । यो समस्या भोलि आफूलाई पनि पर्न सक्छ, यस्तो बेला विभेद नगरि सहयोग गर्नुपर्छ भन्ने भावना ल्याउनुपर्छ । 

यस्तो बेला कसैले सहयोग नगर्दा मनमा नकारात्मक कुरा आउन थाल्छ । मेरा लागि कोही रहेनछ, मलाई परेको बेला त कसैले सहयोग गरेन भने मैले किन सम्बन्ध बनाइराख्ने, म चाहिँ सामाजिक सम्बन्धबाट टाढै बस्छु भन्ने मानसिकतासँगै एक्लै बस्ने, सामाजिक क्रियाकलापमा भाग लिन मन नलगाउने लगायतका भावना उत्पन्न हुन्छ । उदासीनताको समस्या देखिन्छ । 

यस्तो समस्याबाट कसरी छुटकारा पाउने ?

माथि भनिएका विभिन्न कारणबाट सिर्जना भएका मानसिक समस्याबाट मुक्त हुन व्यक्ति आफैँले प्रयास गर्नुपर्छ । आफ्नो दैनिकीलाई निरन्तरता दिन सक्छु, हिजोसम्म राम्रोसँग गरिरहेको हो, अब पनि गर्छु भन्दै आफ्नो कार्यतालिका बनाउने गर्नुपर्छ । आज दिनभर यो–यो काम यति बजेभित्र सकाउँछु भनेर काम गर्नुपर्छ । यदि केही काम नै भएन भने पनि आफ्नो व्यक्तिगत सरसफाइ गर्ने लगायतका काम मात्रै गरियो भने पनि मनमा आउने नकारात्मक विचारबाट टाढा हुन सकिन्छ ।

योसँगै परिवार, आफन्त र साथीभाइको सहयोग पनि चाहिन्छ । टाढैबाट भए पनि समस्या के छ त भनेर सोधी मात्र दिने हो भने पनि राहत हुन्छ । काेही आत्तिरहेको छ भने उसका कुरा सुनिदिने गर्नुपर्छ । यसले उसकाे पीडामा मलम लगाउने काम गर्छ । तपाईँकाे गाउँघरमा कसैलाई कोरोना लागेको हुन सक्छ, त्याे बेला बजारबाट सामान ल्याउनुपर्ने होला अथवा अरू कुनै काम होला, यतिमा पनि हामीले सहयोग गर्ने हो भने धेरै ठूलो राहत हुन्छ । 

कोभिड त्यत्तिकै सर्दैन । कोही सङ्क्रमित व्यक्तिको सम्पर्कमा आयो र उसले खोक्दा हाच्छिउँ गर्दा उसको शरीरभित्र रहेको भाइरस हावाको माध्यमबाट श्वासप्रश्वासमार्फत शरीरभित्र गएपछि मात्रै सर्ने हो । भौतिक दुरी पनि कायम भएको छ, स्वास्थ्यका मापदण्ड अपनाइएको छ, मास्क लगाइएको छ भने यो सर्दैन ।  त्यसैले डर मान्नुपर्दैन । यति हुँदा हुँदै पनि नकारात्मक सोच आइरह्यो भने शङ्का मान्नु पर्दैन  । 

(मनोविद् रश्मिता तामाङसँग स्वस्थ मन स्वस्थ जीवनका लागि गरिएको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: बैशाख ८, २०८१

रश्मिता तामाङ

तामाङ मनाेविद् हुनुहुन्छ । 

2 Comments

  • सुकराम घिसिङ

    July 31, 2021, 10:14 p.m.

    यो मानव जिवनमा गुणस्तरीय जीवन यापनका लागि पहिलो त मानसिक रुपमा स्वस्थ्य हुनु जरुरी हुन्छ । यो गम्भीर रोग हो यो रोग लागे पछि उपचार विधि अलि जटिल नै हुन्छ जस्तो लाग्छ । यो मनमा लागेको रोग मानसिक उपचार भनेको आफ्नो मनलाई विभिन्न त्रासहरु बाट जोगाउनु र नि हो ! एकदमै जीवन उपयोगी छ ।

  •  0 Reply
  • Chandra Ad.

    July 23, 2021, 6:19 p.m.

    very important and useful information . Many people are suffering from mental issues.

  •  0 Reply

तपाईको प्रतिक्रिया