विदेश जानेहरुको लागि अब यी ४ अस्पतालहरुबाट गरिनेछ खोप कार्ड प्रमाणीकरण

 साउन ८, २०७८ शुक्रबार १८:१०:२९ | उज्यालो सहकर्मी

काठमाण्डौ – विदेश जानेहरुको लागि विभिन्न चार अस्पतालहरुबाट खोप कार्ड प्रमाणीकरण गरिने भएको छ । योभन्दा पहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुबाट मात्र प्रमाणीकरण हुँदै आएकोमा अब थप तीन अस्पतालबाट पनि प्रमाणीकरण हुने भएको हो । 

खोप लगाएको कार्ड प्रमाणीकरण गर्न आउनेहरुको चाप बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप प्रमाणीकरणको लागि चार अस्पताल तोकेको छ । अब टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित बानेश्वरको निजामति सिभिल अस्पताल, ललितपुरको पाटन अस्पताल र बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालबाट खोप कार्ड प्रमाणीकरण हुने जनाइएको छ । प्रमाणीकरण गर्न कुनै शुल्क लाग्ने छैन ।

योसँगै वैदेशिक रोजगारीमा जानेहरुलाई खोप कार्डको प्रमाणीकरण गर्न सहज हुने भएको छ । साथै खोप लगाएको कार्ड प्रमाणीकरण गर्नकै लागि बिहानैदेखि अस्पतालको लाइनमा लाग्नुपर्ने बाध्यता हट्ने छ । 


 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया