विपद्ले निम्त्याएको दुःख

 साउन ११, २०७८ सोमबार ८:१४:२५ | रासस
unn.prixa.net

काठमाण्डौ - बाढी र पहिराेले गएकाे वर्ष थिलथिलो बनाएको सिन्धुपाल्चोक जिल्ला यसपालि पनि मनसुनको सुरुआतमै नराम्ररी क्षति ब्यहाेर्न पुग्यो । 

सिन्धुपाल्चाेककाे हेलम्बु र मेलम्ची क्षेत्रमा नसोचेको बाढी आउँदा बजार नै तहसनहस भयो । हेलम्बु गाउँपालिका– १ नाकुत्तेभन्दा ५ सय मिटर माथिबाट पहिरो खसेर मेलम्ची नदी थुनिएर फुटेपछि ठूलो दुर्घटना हुन पुगेको थियो । 

विज्ञका अनुसार यसपालि अप्रत्यासितरुपमा लेदो र गेगरसहितको बाढी आउँदा अकल्पनीय क्षति भएको छ । विगतमा आएको जुरे पहिरो होस् या अन्य क्षेत्रका मनसुनजन्य घटना सिन्धुपाल्चोकका कतिपय बासिन्दाका लागि अकल्पनीय काल बनेर आएको छ ।

अर्को दोस्रो बढी क्षति हुने मनाङ हो । त्यहाँ मानवीय क्षति हुन पाएन, तर ५९ घर पूर्ण क्षति भएको छ। झण्डै ५४ किलोमिटर सडक बाढी र पहिरोले भत्काउँदा अहिलेसम्म सदरमुकाम चामे सडक सञ्जालबाट विच्छेद छ । सात वटा गाडी गुड्ने पुलसहित बेलिब्रिज, सरकारी भवन, स्कुलसमेत क्षति पुगेको छ । यहाँका चार जलविद्युत् आयोजनामध्ये दुई पूर्ण र दुईमा आंशिक क्षति छ ।

यसपालि देशमा सिन्धुपाल्चोक र मनाङलगायत ४८ जिल्लामा ठूलो जनधनको क्षति भएको छ । मानवीय क्षतिको विवरण आइसके पनि भौतिक क्षतिको अझै यकिन विवरण आइनसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेल बताउनुहुन्छ ।

सिन्धुपाल्चोकमा बाढीपहिराेमा परि पाँच जनाले ज्यान गुमाएका छन् । अझै २० बेपत्ता छन् भने छ जना घाइते भए । जिल्लामा ३३८ घर पूर्ण क्षति भएको छ । त्यस जिल्लामा सात पक्की पुल, १४ झोलुङ्गे पुल, १० वटा माछा फार्म र ३२ सरकारी भवन क्षतविक्षत भएकाे छ । 

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त अभिलेखअनुसार मानवीय क्षतिका हिसाबले सिन्धुपाल्चोकपछि गोरखा र डोटीमा चार/चार, पाँचथर, रोल्पा, रौतहट र दाङमा तीन/तीन, पाल्पा, तनहुँ र दार्चुलामा पाँच/पाँच जनाले ज्यान गुमाए । 

गएकाे जेठ २८ मा नेपाल भित्रिएको यसपालिको मनसुनबाट अहिलेसम्म ६५ जनाले ज्यान गुमाएका छन् । अन्य ३६ बेपत्ता र ६८ जना घाइते भएका छन् । कुल ५७६ घर पूर्ण र १५५ घरमा आंशिक क्षति पुगेको छ । विपद्बाट ३७ सरकारी कार्यालय, १३ स्कुल तथा सामुदायिक भवन, २५ जलविद्युत् आयोजना, २६ पक्की पुल र २६ झोलुङ्गे पुलमा क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भनाइ छ । 

प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्याल मनसुन भित्रिएपछिको अवधिमा सरकारले हेलिकप्टरबाट २७८ र स्थलमार्गबाट ४३२ गरी ७१० जनाको उद्धार गरेको बताउनुहुन्छ । जोखिम क्षेत्रका चार हजार ६०६ जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको उहाँले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची खोला किनारका १९६ घरमा स्थलगत र ड्रोनका माध्यमबाट स्थलगत निरीक्षण तथा अध्ययन गरी नोक्सानीको मूल्याङ्कन भइरहेको छ । देशभरिको क्षतिको विवरण अझै सङ्कलन जारी छ । 

यसपालिको मनसुनजन्य घटनाबाट क्षति ब्यहाेरेकाे सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरी सरकारले आवश्यक राहत, पुनःनिर्माण तथा पुनःस्थापनका कार्य अघि बढाएको छ । त्यसका लागि विश्व बैंकबाट थप २५ मिलियन डलर सहुलियतपूर्ण ऋण सहयोग प्राप्त हुने आश्वासन आइसकेको गृहमन्त्री बालकृष्ण खाँडले संसदीय समितिमा जानकारी गराइसक्नुभएको छ । मन्त्री खाँड भन्नुहुन्छ,'सरकारले मनाङको चामेलगायत सडक सञ्जाल नपुगेर अभावग्रस्त भएको क्षेत्रमा खाद्यान्न तथा औषधि हेलिकप्टरबाट ढुवानी गर्ने तयारी गरेको छ ।'

सरकारले मनसुनजन्य घटना तथा क्षति न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०७८ कार्यान्वयनमा ल्याएको छ । यस्तै विपद् जोखिम वित्तीय व्यवस्थापन रणनीति २०७८, प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि २०७२ (प्रथम संशोधन २०७८), आगलागीबाट क्षति भएका निजी आवास पुनःनिर्माणसम्बन्धी कार्यविधि २०७८, कार्यान्वयनमा रहेको र फिल्ड अनुसन्धान तथा पहिरो प्रभावित व्यवस्थापन प्राविधिक गाइडलाइन निर्माण गरेर विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीका कामलाई उच्च प्राथमिकता दिएको छ ।

सरकारले आउँदाे १० वर्षभित्रमा नेपाललाई विपद् उत्थानशील राष्ट्र बनाउने उद्देश्यका साथ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी १० वर्षे महाअभियान यसै वर्षबाट सुरु गरेको जनाइएको छ ।

अस्थायी आवास पुनःनिर्माण तीव्र

सरकारले विपद्बाट प्रभावितको पुनःस्थापनका लागि अस्थायी आवास पुनःनिर्माण कार्यक्रमलाई समेत तीव्ररुपमा अघि बढाएको छ । यस वर्ष मनसुनजन्य विपद्बाट क्षति भएका आठ जिल्लाका ५७३ घर परिवारलाई अस्थायी आवास निर्माणका लागि २ करोड ८६ लाख ५० हजार रुपैयाँ रकम असार मसान्तभित्र मै सम्बन्धित जिल्लामा पठाइएको प्राधिकरणको भनाइ छ । 

गएकाे वर्षको विपद्बाट क्षति पुगेका २२ जिल्लाका चार हजार ९३७ निजी घर पुनःनिर्माण तथा पुनःस्थापनका लागि सङ्घीय सरकारकोतर्फबाट ब्यहोर्नु पर्ने प्रथम किस्ताबापतको २९ करोड ९९ लाख २६ हजार रुपैयाँ सम्बन्धित क्षेत्रमा पठाइसकिएको छ ।

नेपालमा गएकाे जेठ २८ गते मनसुन प्रवेश गरी ३० गते देशैभरि फैलिएको थियो । यसपालि सरदरभन्दा बढी नै पानी पर्ने आकलन गरिएकाले पनि बाढी, पहिराेको जोखिम विगतकोभन्दा बढी नै छ । नेपालमा पहाडी जिल्ला पहिरो र तराईका जिल्ला बाढीबाट बढी प्रभावित छन् । 

हिमाली क्षेत्र हिउँ पहिरो र हिमपातबाट प्रभावित हुन्छ । नेपालमा भिरालो जमिन, कमजोर भौगोलिक अवस्था, यत्रतत्र सडक खन्ने काम, जोखिम क्षेत्रमा बसोबास, अव्यवस्थित सहरीकरण, डढेलो तथा अव्यवस्थित वन, प्लटिङ, प्राकृतिक सम्पदाको दोहन, जलवायु परिवर्तन, बहुप्रकोपको प्रभाव र चेतनाको अभावले मनसुनजन्य विपद्लाई बढावा दिइरहेको विज्ञले औँल्याएका छन् ।

खानी तथा भूगर्भ विभागका राजेन्द्र भण्डारी विश्वकै अग्लोदेखि निकै होचो भूभागसमेत नेपालमा रहेकाले पनि मनसुनजन्य विपद्बाट नेपाल उच्च जोखिममा रहेको बताउनुहुन्छ । विगतको तथ्याङ्क विश्लेषणका आधारमा प्राधिकरणले यसपालि मनसुनमा १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट राजेन्द्र शर्मा बाढीबाट १७ लाख र पहिराेबाट एक लाख २० हजार प्रभावित हुने अनुमान गरिएको सुनाउनुहुन्छ । गएकाे वर्ष १५ लाख प्रभावित हुने अनुमान गरिएको थियो ।

सरदर मात्रै पानी पर्ने अनुमान गरिएको गएकाे वर्ष मनसुनजन्य विपद्बाट झण्डै ४०० मानिसको ज्यान गएकाे थियाे । एक हजार १०० बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए ।

ग्राफ : रासस

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया