काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
कालीकाेट - कर्णाली नदीको छेउछाउमा रहेका कालीकोटका केही बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । कालीकाेटको नरहरिनाथ गाउँपालिका–१ को लालीघाट, शुभकालीका गाउँपालिका–१ जितेबजार, सान्नी त्रिवेणी गाउँपालिकाको शान्तिघाट बजार, महावै गाउँपालिकाको पादमघाट, तिलागुफा नगरपालिकाको नाग्म बजार, पचाल झरना गाउँपालिकाको भुराबगर वर्षायाममा बाढी पहिरोको उच्च जोखिममा रहेका छन् ।
कर्णाली राजमार्ग र कर्णाली करिडोर आसपासमा बनेका यी बस्ती राजमार्ग आएपछि बनेका नयाँ बस्ती हुन् । कर्णाली राजमार्ग र कर्णाली करिडोर बनेपछि बनेका बस्ती कर्णाली नदी किनारमा रहेकाले बाढी पहिरोको उच्च जोखिममा रहेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताउनुभयो । 'कर्णाली नदी किनारमा बनेका बजार विकासको गतिसँगै बनेका हुन्', उहाँले भन्नुभयो, 'जुन ठाउँमा नदीमा जोखिमका बस्ती छन् । यी पहिला थिएनन् । नयाँ बस्ती नदी किनारमा भएका कारणले उच्च जोखिममा रहेका छन् ।'
कर्णाली नदी र तिला नदीको किनार फेदमा रहेको जिते बजार र लालीघाट बजार बाढीको उच्च जोखिममा रहेकाले ती बस्ती अयन्त्र सार्न धेरै प्रयास गर्दा पनि उनीहरुले नमानेको अध्यक्ष विष्टले बताउनुभयो । '२०७३ सालमा बाढी पहिरोले लालीघाटमा आठ जनाको ज्यान गएको थियो', उहाँले भन्नुभयो, 'तर पनि उच्च जोखिममा रहेका नागरिक बस्ती सर्न मान्दैनन् ।'
कालीकोटमा उच्च जोखिममा रहेका यी ठाउँका बजारवासी वर्षौँदेखि बसिरहेका कर्णाली करिडोरमा यातायात सञ्चालन भएपछि नदीको छेउछाउमा अहिले कयौँ ठाउँमा बजार बनेको नरहरिनाथ–१ लालीघाटका स्थानीय व्यापारी नेत्र विष्टले बताउनुभयो । 'लालीघाट बजार र नदी किनारको दूरी पहिले २५ मिटर थियो तर नदीमा आइतवार रातिदेखि पानीको बहाव बढेर नदीको छालले बजार छोइसकेको छ । यही गतिमा नदीमा पानीको बहाव बढ्दै गएपछि कुन बेला बजार डुब्छ थाहा छैन', उहाँले भन्नुभयो, 'यी नदी किनारमा बनेका बस्ती नयाँ हुन् । नागरिकहरू रोजीरोटीका लागि पनि जोखिम मोलेर नै व्यापार व्यवसाय गरिरहेका छन् ।'
कालीकोटको पचाल झरना गाउँपालिकाको भुराबगर बजार पनि बाढी पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले बताउनुभयो । 'बस्तीका नागरिकलाई अन्यन्त्र जानका लागि कयौँ पटक भनिसक्याैँ तर, उहाँहरू मान्नु हुन्न', उहाँले भन्नुभयो, 'बजार नै बनाएर बसेको कारणले उहाँहरुले मान्नुभएको छैन् । भोलि ठूलो जोखिम निम्तिन सक्छ ।'
जिल्लामा बाढी पहिरोको उच्च जोखिममा रहेका बस्ती तथा बजारहरु अन्यन्त्र सार्न आग्रह गरिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो । 'जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले वैशाख महिनादेखि नै जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा रहन तथा बस्ती नै सार्न आग्रह गरेका छौँ', उहाँले भन्नुभयो, 'अटेरी गरेर बसेको ठाउँमा अहिले पनि जोखिमका विषयमा जानकारी दिएर सचेत गराइरहेको छौँ ।'
कालीकोटमा गएकाे वर्षमा बाढी पहिरोमा परि ५३ जनाले ज्यान गुमाउनुका साथै करोडौँको धनमाल नष्ट भएको थियो । एक हजार घरपरिवार विस्थापित भएका थिए । यस वर्ष वर्षायाम सुरु भएयता बाढी पहिरोमा परेर तीन जनाको ज्यान गइसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।