सरकारले संयमित भएर काम गर्नुपर्छ : डा. महत

 साउन ११, २०७८ सोमबार १४:१७:५० | रासस
unn.prixa.net

फाइल फाेटाे

गुल्मी – नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले ओली सरकारको ज्यादतीका कारण नेपाली कांग्रेसलाई अहिले अनपेक्षित रूपमा सरकार सञ्चालनको अवसर प्राप्त भएको बताउनुभएको छ । उहाँले नेपाली कांग्रेसको नेतृत्वको सही समयमा सही निर्णय गर्ने सुझबुझ र परिपक्वताले देशमा विधिको शासनलाई स्थापित गर्न मद्दत पुगेको धारणा राख्नुभयो ।  

नेपाली कांग्रेस गुल्मीले आज साेमवार वीपी स्मृति भवन तम्घासमा आयोजना गरेको पाटी कार्यकर्ता भेटघाट कार्यक्रममा नेता महतले लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन एवम् भ्रष्टाचारमुक्त र नागरिक केन्द्रित शासन स्थापित गर्न नसकेका कारण ओली सरकार बर्हिगमन हुनुपरेको बताउनुभयो । 

सहमहामन्त्री डा. महतले भन्नुभयो, धैर्यता, संयमता र सुझबुझपूर्ण तरिकाबाट जसरी सत्ता सञ्चालनको जिम्मेवारीमा हामी पुगेका छौँ, त्यहीअनुरुप संयमित रूपमा शासन सत्ता सञ्चालन गर्नुपर्छ, कहीँ–कतै पनि प्रश्न गर्ने ठाउँ दिनुहुँदैन । 

उहाँले देश सञ्चालन गर्नका लागि इमान, सीप र समर्पण चाहिने भन्दै त्यो कुरा नेपालका कम्युनिस्टहरूमा नदेखिएको आरोप पनि लगाउनुभयो । उहाँले नागरिकका चाहना र अपेक्षा बुझेर नै वर्तमान सरकारले काम गर्ने पनि बताउनुभयो । 

नेपाली कांग्रेस विधि र संविधानमा विश्वास गर्ने पार्टी भएका कारण नागरिकले यो सरकारप्रति ठूलो अपेक्षा गरेको भन्दै नेता महतले त्याे अपेक्षालाई पूरा गर्न पनि वर्तमान सरकारलाई कहीँ–कतै त्रुटि नगरि सजग भएर पाइला चाल्नसमेत आग्रह गर्नुभयो ।   

कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले यो अवस्थामा नेपाली कांग्रेसको काँधमा सरकार सञ्चालनको जिम्मेवारी आउनु भनेको अवसर र चुनौती दुवै उत्तिकै रहेको भन्दै यो अग्नि परीक्षामा खरो उत्रिनुपर्ने बताउनुभयो । 

कार्यक्रममा नेपाली कांग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले व्यक्तिभन्दा माथि उठेर देश र पार्टीका लागि लाग्न नेतृत्व पङ्क्तिलाई सुझाव दिनुभएको थियो । 

कार्यक्रममा पाटी नेता तथा कार्यकर्ताले पार्टीको आसन्न चुनाव, पेसागत समस्या, सरकार गठन प्रक्रिया र आउँदो चुनावलगायतका विषयमा आफ्ना धारणा राख्नुभएको थियो । 

नेता डा. महत आजै नेपाली कांग्रेस गुल्मी क्षेत्र नं १ का पार्टी सभापति एवम् गुल्मी दरबार गाउँपालिका अध्यक्ष अशोककुमार थापाको निधन भएको १२ औँ दिनको पुण्यतिथिमा आयोजित शोकसभामा पनि सहभागी हुनुभएको थियो । 

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया