'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
सल्यान – सल्यानको बागचौर नगरपालिका -४, सेतोगुराँसमा घर भत्किएर दलिन भाँचिदा एउटै परिवारका ५ जनाको ज्यान गएको छ ।
बागचौर नगरपालिका वडा नम्बर ४ सेतोगुराँसमा घरको भित्ता भत्किएर दलिन भाँचिदा घरमा सुतिरहेका एकै परिवारका ५ जनाको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा घरमुली ४० वर्षीय रामसिंह कामी, उनकी श्रीमती ३५ वर्षीया रामकली कामी, छोरीहरु ७ वर्षीया गंगा विक, ६ वर्षीया प्रमिला र छोरा ४ वर्षीय रुपलाल रहेका छन् ।
अर्की छोरी ९ वर्षीया काईंली छोरी सुनिता भने सामान्य घाइते भइन् । रामलालका ६ छोरी र एक छोरामध्ये जेठी छोरीको भने बिहे भैसकेको थियो ।
लगातारको वर्षाका कारण घरको भित्ता कमजोर भएर भत्किँदा घरको दलिनसमेत भाँच्चिएपछि घरको माथिल्लो तलामा सुतिरहेका उनीहरु तल्लो तलामा खसेका थिए ।
भत्किएको भित्ताले मुख र टाउको च्यापिँदा निसास्सिएर मृत्यु भएको हुन सक्ने घटनास्थल पुगेका सल्यानका प्रहरी प्रमुख डिएसपी विरेन्द्र बहादुर शाहीले बताउनुभयो ।
घटना भएको घर जंगलको छेउमा एकलास ठाउँमा रहेको र समयमै खबर थाहा हुन नसक्दा उद्धार हुन नसकेको स्थानीयको भनाइ छ । खबर पाउनेबित्तिकै राति नै प्रहरी घटनास्थल पुगेको थियो ।
‘हामी सबेरै सबै जना सुतिसकेका थियौँ । मेरो टाउको र चिउँडोमा चोट लागेपछि थाहा पाएँ हाम्रो घर भत्किएको रहेछ । भाइ चिच्याइरहेको थियो । दिदी मलाई बचाउनुस् भनेर बेस्सरी भाइ कराइरहेको थियो ।’
‘आमा बुवालाई बोलाएँ तर नबाेलेपछि मलाई बिहान भैसकेको जस्तो लागेकोे थियो । बुवा आमा सधैं झैं बिहानै उठेर घाँस दाउरा गर्न गैसक्नुभएको होला र नबोल्नुभएको होला जस्तो लाग्यो । म भाइ कराएको ठाँउतिर गएँ । भाइ च्याप्पिएको थियो । निकाल्न खोजेँ तर सकिनँ । जताजतै अँध्यारो थियो ।’
‘नजिकैबाट हँसिया र कुटोले माटो कोट्याएर भाइलाई निकाल्न प्रयास गरेँ तर सकिनँ । भाइ निकै चिच्याइरहेको थियो । कसैगरी नसकेपछि म १५ मिनेट लाग्ने हजुरबुवाको घर दौडेर गएँ अनि सबैलाई बोलाएर ल्याएँ । पछि हेर्दा त आमा बुवा र बहिनीहरु समेत पुरिएर मरिसकेका रहेछन् ।’
स्थानीय भिम बहादुर विकका अनुसार मृतक विकको परिवार दिनभर काम गरेर दुई छाक टार्ने परिवार हुन् । मंगलबार मात्रै रामकलीले पाँच छोरी, एक छोरा र श्रीमान श्रीमतीको लागि भनेर नयाँ लुगाकपडा र चप्पल किनेर ल्याएकी थिइन् ।
‘वर्षमा एकपटक फेरिने नयाँ लुगा लगाउने उनीहरुको धोको कहिल्यै पूरा भएन’ स्थानीय विकले भने, ‘नयाँ लुगा लगाएर स्कुल जाने सानी नानीहरुको सपना थियो होला । हिजो मात्रै बांगेलाकुरीबाट किनेर ल्याएकी थिइन् तर सपना पूरा हुन पाएन ।’
पुरिएर पाँचजनाको ज्यान गए पनि माइली छोरी १३ वर्षिया पुतला र सार्इंली छोरी १० वर्षिया कमला भने बाँच्न सफल भए । उनीहरु बेलुकी नै साथिको घरमा उतै सुत्न भनेर गएका कारण बाँच्न सफल भएका हुन् ।
माइली छोरी पुतलाले भनिन्, ‘हामी साथीको घरमा उतै सुत्न भनेर गएका थियौँ, राति एक्कासी घर भत्किएर भाइ च्याप्पिएको खबर सुनेपछि घरमा आएका हौँ ।’
उनका अनुसार घरको दलान पहिले पनि सामान्य हिँड्दा समेत हल्लिने गरेको थियो । ‘घर पुरानो छ भनेर बुवाले भन्नु त हुन्थ्यो तर हामीसँग पैसा थिएन, उनले रुँदै भनिन् ।’
घटनास्थल पुगेका वागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकी, प्रमुख जिल्ला अघिकारी कमल राज ढकाल, जिल्ला प्रहरी प्रमुख विरेन्द्र बहादुर शाहीले पीडित परिवारको लागि सहयोग हस्तान्तरण गरे ।
प्रजिअ ढकालले पीडित परिवारको लागि राहत र किरिया खर्च बापत् एक लाख सहयोग रकम मृतक रामलाल कामीका बुवा देवीलाल विकलाई हस्तान्तरण गर्नुभयाे । यस्तै बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले नगरपालिकाले पनि पीडित परिवारलाई राहत सहयोग गर्ने बताउनुभयाे ।
उहाँले पीडित परिवारमा बाँच्न सफल १३ वर्षीया कमला, १० वर्षीया पुतला र ९ वर्षीया सुनिताको पालनपोषण र शिक्षादीक्षाको लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने वचनवद्धता प्रकट गर्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।