एसएमजी सहितका हतियार देखाएर सुन पसल लुट्न खोज्ने ६ जना पक्राउ

 साउन १३, २०७८ बुधबार १९:२४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

माेरङ – मोरङको सुन्दरहरैचा नगरपालिका १० त्रिवेणी चोकमा खगेन्द्र थापाको शिव पञ्चायन ज्वेलर्समा हतियार देखाइ लुटपाट गर्न खोजेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सङ्खुवासभाका चन्द्रबहादुर राई, चिरञ्जीवी राई, भोजपुरका नगेन्द्र राई, सुनसरीका प्रमोद चौधरी, मोरङका मिशन राई र सन्तोष राइलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । असार ३१ गते ६ जना मोटरसाइकलमा आएर लुटपाट गर्न योजना बनाए पनि सफल हुन नसकेपछि जङ्गलतर्फ भागेका थिए ।

त्यसपछि उनीहरूले आफ्नाे साथमा लगेको हतियार नमुना सामुदायिक जङ्गलमा रूखको टोड्कोमा लुकाइ राखेको तथा साउन १ गते दिउँसो त्यही ज्वेलर्समा लुटपाट गर्ने उद्देश्यले हतियारसहित प्रमोद चौधरी लगायत तीन जना प्रवेश गरेको र अन्य तीन जना त्याे पसलको वरिपरि निगरानी गरी बसेको अनुसन्धानबाट खुल्न आएको छ ।

प्रहरीले नमुना सामुदायिक वनको रुखको टोड्कोभित्र लुकाइ राखेको अवस्थामा घटनामा प्रयोग भएकाे एक थान एसएमजी, एक थान म्याग्जिन, ६२ राउन्ड गाेली, एक थान अटोमेटिक पेस्तोल र त्यसकाे एक थान म्याग्जिन, दुई राउन्ड गोली, एक थान कटुवा पेस्तोल, थ्रीनट थ्री राइफलको चार राउन्ड गोली र दुई थान सञ्चार सेट प्रहरीले बरामद गरेको छ ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया