अगस्ट १ देखि पर्यटक भिसा वाहकले साउदी प्रवेश गर्न पाउने

 साउन १५, २०७८ शुक्रबार १२:५२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीले आइतबारदेखि पर्यटक भिसा वाहकलाई प्रवेश गर्न दिने भएको छ । साउदीको पर्यटन मन्त्रालयले त्यहाँको सरकारले मान्यता दिएका कोरोना विरुद्धको खोप लगाएका पर्यटकहरुलाई अगस्ट १ देखि प्रवेशको लागि अनुमति दिएकाे हो ।

साउदी सरकारले फाइजर, अस्ट्राजेनेका, मोडर्ना र जोनसन एण्ड जोनसनका खोपलाई मान्यता दिएको छ । यी खोप लगाएका पर्यटकले मात्र साउदी प्रवेश गर्न पाउने छन् । साथमा नेगेटिभ पीसीआर रिपोर्ट र खोप लगाएको प्रमाणपत्र हुनुपर्नेछ । यति भएमा त्यहाँको संस्थागत क्वरेण्टीनमा बस्नु नपर्ने त्यहाँको मन्त्रालयलाई उदृत गर्दै गल्फ न्युजले जनाएको छ । सार्वजनिक स्थानमा जाँदा खोप लगाएको प्रमाण अनिवार्य देखाउनुपर्ने छ ।

साउदीले पछिल्लो समय एसियाका भारत, पाकिस्तान, अफगानिस्तान, इण्डोनेसिया, भियतनाम, यूएई लगायतका देश तथा युराेपका केही देशबाट सिधै तथा ती देशमा ट्रान्जिट भएर साउदी प्रवेशमा रोक लगाएको छ । मन्त्रालयको सूचनामा भने प्रतिबन्ध लगाएका देशका पर्यटकलाई पनि प्रवेश गर्न दिने नदिने भन्ने खुलाइएको छैन ।

योसँगै लामो समयदेखि बन्द रहेको साउदीको पर्यटन क्षेत्र पुनः सामान्य रुपमा सञ्चालनमा आउने जनाइएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया