दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – संसदीय समितिले स्थानीयवासी विस्थापित नहुने गरी नागढुङ्गा सुरुङ मार्ग निर्माण कार्य सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । सङ्घीय संसद्काे राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको टोलीले आइतवार राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको नागढुङ्गा सुरुङ मार्ग निर्माण कार्यको स्थलगत अवलोकन गरेपछि स्थानीयवासी विस्थापित नहुने गरी काम सम्पन्न गर्न सरकारलाई सचेत गराएको हो ।
संसदीय समितिको अनुगमन टोलीलाई आयोजनाका पदाधिकारीले आयोजनाको कार्य प्रगतिबारे जानकारी गराएका थिए । यो आयोजनालाई अघि बढाउने काम चुनौतीपूर्ण रहेको कुरा अनुगमनका क्रममा देखियो । यहाँ वरपरका वस्तीलाई पनि त्यत्तिकै जोखिम छ । यो पनि हामीले बचाउनुपर्ने हुन्छ र यसको समाधानका लागि सरकारसँग कुरा गर्छाैँ । आयोजनाको स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै समितिकी सभापति तारादेवी भट्टले भन्नुभयो, आयोजना अघि बढाउन देखिएका समस्या समाधान गर्न पहल गर्नेछौँ ।
समितिको गएकाे शुक्रवार बसेको बैठकले याे आयोजना समयमै सम्पन्न गर्न सरकारलाई निर्देशन दिँदै आयोजनाको प्रगतिबारे जानकारी लिन स्थलगत अनुगमनमा जाने निर्णय गरेको थियो । समितिको त्यही निर्णयअनुसार आफूहरू आयोजनाको स्थलगत जानकारी लिन गएकाे सभापति भट्टले बताउनुभयो ।
अनुगमन टोलीलाई आयोजनाका प्राविधिकले आयोजनाले भोगिरहेकाे समस्याबारे जानकारी गराएका थिए । आयोजनाका निर्देशक नरेशमान शाक्यले आयोजना तोकिएकै समयमै सम्पन्न गर्नका लागि जग्गाको मुआब्जा वितरण र कोभिड १९ खोपको आवश्यक व्यवस्था मिलाउने काम बाधक रहेको उल्लेख गर्दै ती समस्या तत्काल समाधानका लागि सरकारसँग पहल गरिदिन संसदीय समितिको अनुगमन टोलीलाई आग्रह गर्नुभएको थियो । उहाँले एक महिनाभित्र यी दुवै समस्या समाधान हुन सके आयोजनाको कामले गति लिने पनि स्पष्ट पार्नुभयो ।
आयोजनाले सुरुङ मार्ग निर्माणको काम १८ दशमलव ५ प्रतिशत सम्पन्न भएको जनाएको छ । चार वटा प्वाल बनाएर मुख्य सुरुङ मार्ग र आपत्कालीन सुरुङ मार्ग निर्माणको कामलाई अघि बढाइएको छ, आयोजनाकी इन्जिनियर कल्पना अधिकारीले भन्नुभयो, अहिलेसम्म आयोजनाको भौतिक प्रगति १८ दशमलव ५ रहेकाे छ । आउँदा दिनमा प्रत्येक महिना ४ प्रतिशतका दरले आफ्नो काममा प्रगति गर्दै लैजाने आयोजनाको योजना छ ।
जापान सरकारको ० दशमलव ०१ प्रतिशत ब्याज दरको आर्थिक ऋण सहायतामा सुरु गरिएको यो आयोजनाको काम सुरु भएको झन्डै १९ महिना पुगेको छ । साढे पाँच किलोमिटर लम्बाइ रहेको यो सुरुङ मार्गको मुख्य काम आउँदाे जेठभित्र सम्पन्न गर्ने योजनाका साथ काम भइरहेको आयोजनाका निर्देशक शाक्यले बताउनुभयो ।
समितिकी सभापति भट्टले पनि यो आयोजना अन्य देशका लागि नमुनायोग्य हुने गरी बन्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।