चोरीकाे रिचार्ज कार्डबाट ६ जना पक्राउ

 साउन १९, २०७८ मंगलबार १५:१६:१४ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कका विभिन्न ठाउँमा चोरी गर्दै हिँड्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सन्धिखर्कका बजार क्षेत्रमा चोरीका घटना बढ्दै गएपछि प्रहरीले विशेष टोली गठन गरी अनुसन्धान सुरु गरेको थियो । 

अनुसन्धानका क्रममा चोरीमा हराएका सामग्रीसहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक (डीएसपी) अम्मर थापाले बताउनुभयो । पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका ११ का २६ वर्षीय किसन नेपाली, सामान बरामद भएको घरका १८ वर्षीय रोशन नेपालीसहित १७, १५, १३ र १२ वर्षका चार जना किशोर रहेका छन् । 

सन्धिखर्क नगरपालिका वडा नम्बर १ कौ बैंक रोडमा पसल गरी बस्ने बाबुराम नेपालीको पसलबाट दुई वटा ल्यापटप, २५ वटा मोबाइल र १५ सय रुपैयाँको रिचार्ज कार्ड चोरी भएपछि रिचार्ज कार्डमा प्रयोग भएको नम्बरबाट चोर पत्ता लागेको डीएसपी थापाले जानकारी दिनुभयो । 

उनीहरूको साथबाट दुई वटा ल्यापटप, २५ वटा मोबाइल, घडी तथा विभिन्न किराना सामानसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका ६ जनालाई चोरी मुद्दामा जिल्ला अदालत अर्घाखाँचीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी गणेश खनालले बताउनुभयो । 

उनीहरूले साउन महिनामा सन्धिखर्क ११ जोगिमारेका राजकुमार सुनारको सुनचाँदी पसलबाट २५ तोला चाँदी, एउटा ल्यापटप, बुद्धिबहादुर सेजवालको किराना पसलबाट विभिन्न किराना सामान, हिमबहादुर सेजवालको पसलबाट ५० थरीका किराना सामान चोरी गरेका थिए । 

त्यस्तै सन्धिखर्कको बैंक रोडमा रहेको बाबुराम नेपालीको पसलबाट दुई वटा ल्यापटप, २५ वटा मोबाइल सेट र १५ सयको रिचार्ज कार्ड चोरी गरेका थिए ।  

अन्तिम अपडेट: बैशाख १०, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया